जलविद्युत्मा १ अर्ब डलर लगानी गर्न बंगलादेश इच्छुक

    1095

    माघ २८, २०७३- नेपालको जलस्रोत क्षेत्रमा १ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्न बंगलादेश इच्छुक रहेको बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले बताएकी छन् ।

    ऊर्जा विकास परिषद् (ईडीसी) ले बिहीबार राजधानीमा गरेको लगानी छलफलमा उनले बंगलादेश ऊर्जाको भोको मुलुक भएकाले लगानी गर्न तयार रहेको बताएकी हुन् । ‘हामीले भुटानमा १ अर्ब डलर बराबरको लगानी गर्ने तयारी गरेका छौं,’ उनले भनिन्, ‘नेपालमा पनि अर्को १ अर्ब डलर बराबरको लगानी गर्न इच्छुक छौं ।’ भारतसँग हाल ‘स्वस्थ्य’ सम्बन्ध रहेको र त्यहाँबाट ऊर्जा आयात सुरु भइसकेकाले नेपालबाट बंगलादेशसम्म जलविद्युत् लान समस्या नहुने उनको दाबी छ । भारतले नेपालको बिजुली बंगालादेशसम्म लान ‘ट्रान्जिट’ को सुविधा दिनेमा आफू विश्वस्त रहेको साम्सले बताइन् । बंगलादेशले हाल भारतसहित नेपाल र भुटानसँगको सहकार्यमा ऊर्जा आयात गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको जानकारी दिइन् ।

    हाल बंगलादेशको विद्युत् जडित क्षमता १५ हजार मेगावाट रहे पनि ऊर्जा संकट व्यहोर्दै आएको छ । गत वर्ष साढे ७ प्रतिशतको आर्थिक वृद्धि गरेको बंगलादेशमा ऊर्जाको माग बढ्दो क्रममा रहेको उनले बताइन् । ‘हाम्रो वार्षिक ऊर्जा वृद्धिदर १२ प्रतिशत छ,’ उनले भनिन्, ‘सन् २०२१ सम्ममा माग २० हजार मेगावाट र २०३० सम्म ३४ हजार मेगावाट पुग्ने आकलन छ ।’ उनले छिमेकी मुलुकबाट तीन हजार मेगावाट विद्युत् आयातको लक्ष्य राखिएकाले त्यसका लागि पनि नेपालको जलस्रोतमा बंगलादेश लगानी गर्न इच्छुक भएको बताइन् । हाल भारतबाट ५ सय मेगावाट विद्युत् आयात गरिरहेको र निकट भविष्यमा १०० मेगावाट आयात गर्न लागिएकाले भारतका कारण नेपाल र भुटानसँग विद्युत् आयातमा समस्या नपर्ने उनको दाबी थियो । नेपाल र बंगलादेशबीच दुई वर्षअघि ऊर्जा व्यापारका विषयमा छाता सम्झौता भइसके पनि विस्तृत सम्झौता हुन बाँकी रहेको उनले बताइन् । हाल बंगलादेशले नेपालसँग ऊर्जा खरिद सम्झौता गर्न चाहेर आफ्नो तर्फबाट प्रस्ताव पठाइसकेको राजदूत साम्सले जानकारी दिइन् ।

    ‘हामीले हाम्रो तर्फबाट काम गरिसकेका छौं,’ उनले भनिन्, ‘नेपालका तर्फबाट आउने जवाफको प्रतीक्षामा छौं ।’ बंगलादेशी निजी कम्पनीहरू पनि नेपालको जलस्रोतमा लगानी गर्न इच्छुक रहेको उनले जाकारी दिइन् । ऊर्जा अभाव खेपिरहेको बंगलादेशले हावा, परमाणु, सोलारलगायत स्रोतबाट बिजुली निकाल्ने योजनाहरू अघि बढाइरहेको छ ।

    स्रोत:कान्तिपुर