चमेलिया निर्माणले गति लियो

    1197

    माघ २८, २०७३- सरकारीे लगानीमा बन्न लागेको सुदूरपश्चिमको चमेलिया जलविद्युत् आयोजनाको निर्माणकार्यले गति लिएको छ । राष्ट्रिय गौरवका आयोजनाको निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेपछि यस आयोजनाको कामले तीव्रता पाएको हो ।

    सुदूरपश्चिममा सरकारी लगानीको पहिलो र ठूलो उक्त आयोजनाको निर्माणमा पटक–पटक अवरोध भएपछि निर्माण लागतसँगै अवधि पनि बढेको छ । आयोजनाको सुरुङ निर्माणको काम दुई वर्षसम्म ठप्प रहेको थियो । पछिल्लो समय डिसेम्बर २०१७ सम्म सम्पन्न गर्ने गरी हिजोआज धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

    सुरुमा ८ सय ४३ मिटर खुम्चिएको सुरुङमध्ये ६ सय ११ मिटर काम सकिएपछि सन् २०१५ फेब्रुअरी १० देखि काम रोकिएको थियो । सुरुङ पुनर्निर्माण गर्दा लागत बढी लाग्ने भन्दै सिभिल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले थप बजेट माग गरेपछि निर्माण कार्य रोकिन गएको थियो । नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनीबीच सहमति भई बाँकी रहेको सुरुङ निर्माणको काम २८ सेप्टेम्बर २०१६ बाट सुरु भएको हो । २ सय ३२ मिटरमध्ये अब २८ मिटर मात्र निर्माण गर्न बाँकी रहेको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘अब आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम अगाडि बढिरहेको छ,’ दाहालले भने, ‘अबको केही दिनमै सुरुङको बाँकी काम पनि सम्पन्न हुनेछ ।’ सम्पूर्ण सिभिल निर्माणको काम सन् २०१७ सप्ेटेम्बरमा सम्पन्न गरिने र हाइड्रो मेकानिकलको काम डिसेम्बरमा सकिने उनले बताए ।

    त्यस्तै आयोजनाअन्तर्गतको प्रसारण लाइनको काम सम्पन्न भइसकेको छ । हालसम्म ४ सय १२ वटा टावर निर्माण र १३२ केभी प्रसारण लाइनको १ सय ३१ किलोमिटर ट्रान्सफर्मर विद्युत् प्रसारण लाइनको काम सम्पन्न भएको आयोजना प्रमुख दाहालले बताए । समग्रमा हेर्दा आयोजनाको ९७ प्रतिशत काम सकिएको उनको दाबी छ । यो आयोजना सन् २०११ मा निर्माण सम्पन्न गर्ने गरी २००७ बाट निर्माणको काम सुरु भएको थियो ।

    स्रोत:कान्तिपुर