बाँध र विद्युत्गृह निर्माणको टुंगो छैन

    1277

    सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसक्दा बाँध र विद्युत्गृह निर्माणको टुंगो लागेको छैन। यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको छ। आयोजनामा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) ले रिक्सजोन पार गरेर अघि बढे पनि भेरीमा बाँध (ड्याम) र बबईमा विद्युत्गृह (पावरहाउस) निर्माणको कुनै सुरसार छैन।

    भेरी नदीको पानीलाई भेरीगंगा नगरपालिका–९ को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो। भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्रको १२ किलोमिटरमध्ये ७.१ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। अहिलेकै गतिमा आयोजना अघि बढे फागुनको दोस्रो साता सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि के गर्ने भन्नेमा आयोजनाका अधिकारी नै अन्योलमा छन्।

    २०६४ देखि प्रत्येक वर्ष सरदर एक अर्ब रुपैयाँ खर्च हुँदै आएको आयोजना २०७८ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुङ खन्ने काम लक्ष्य अगावै सम्पन्न हुन्छ। ‘२०२० मार्चभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य आयोजनाको थियो,’ बस्नेतले भने, ‘लक्ष्यभन्दा ९–१० महिना अगावै सुरुङ निर्माणको काम सम्पन्न हुन्छ।’ त्यसपछि के गर्ने भन्ने टुंगो लागेको छैन । सिँचाइ विभागले पहिलो चरणमा भेरीमा बाँध (ड्याम) र दोस्रो चरणमा बबईमा विद्युत्गृह (पावसहाउस) निर्माणको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

    आयोजनाले ड्याम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन विभागमा पेस गरेको छ। आजसम्म प्रतिवेदन स्वीकृत भएको छैन। प्रतिवेदन स्वीकृत भएपछि प्रिक्वालिफिकेसनमा जानुपर्छ। त्यसमा छानिएकाहरुबाट ग्लोबल टेन्डर गर्नुपर्छ। तत्कालै विभागले इस्टिमेट स्वीकृत गरे पनि आगामी आर्थिक वर्षबाट ड्याम निर्माणको काम सुरु हुन्छ।

    सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित आयोजनाबाट आएको इस्टिमेट विभागले अध्ययन गरिरहेको बताउँछन्। ‘टिबिएमले रिक्सजोन पार गरेपछि ड्याम र विद्युत्गृह निर्माणका लागि अध्ययन थालेका छौं,’ उनले भने, ‘आयोजनाले पेस गरेको इस्टिमेट अध्ययन गरेर चाँडै प्रक्रियामा जान्छौं।’ आयोजनाले विद्युत्गृहको इस्टिमेट पेस गरेको छैन । ड्याम निर्माण गर्दा डुबान हुने क्षेत्रका प्रभावित जनतालाई दिइने क्षतिपूर्तिबारे पनि कुनै निर्णय भएको छैन । आयोजनाको बाँध बनाउँदा ३० रोपनी जमिन अधिग्रहण गर्नुपर्ने देखिएको छ।

    महानिर्देशक पण्डित भने तोकिएकै समयमा आयोजना सम्पन्न हुने बताउँछन्। ‘मुख्य काम सुरुङ निर्माणको हो, ड्याम र विद्युत्गृह निर्माणमा कुनै समस्या छैन,’ उनले भने, ‘दुई वर्षभित्र ड्याम र विद्युत्गृह निर्माण सम्पन्न गर्ने गरेर काम गर्छौं ।’ ड्याम निर्माणस्थलमा पक्की पुल पनि निर्माण गर्नुपर्ने हुन्छ । पाँच मिटर चौडाइको १२३ मिटर लामो पुल पनि ड्यामसँगै निर्माण सम्पन्न गर्नुपर्छ।

    -नागरिक