जलविद्युत्मा सक्षम बन्दै नेपाली परामर्शदाता

    1427

    विदेशी कम्पनीभन्दा चौब्बर कम लागतमा डीपीआर


    २०६९ मंसिरमा १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित डिजाइनका लागि सम्झौता भएकोमा दुई वर्षअघि मात्र पूरा भयो । ३० महिनाभित्र डीपीआर पूरा गर्नेगरी परामर्शदाता कम्पनी ट्र्याकबेल कम्पनी फ्रान्सले ठेक्का पाएको थियो । २०६९ मंसिरमा १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सहित डिजाइनका लागि सम्झौता भएकोमा दुई वर्षअघि मात्र पूरा भयो । ३० महिनाभित्र डीपीआर पूरा गर्नेगरी परामर्शदाता कम्पनी ट्र्याकबेल कम्पनी फ्रान्सले ठेक्का पाएको थियो । आयोजना अघि बढाउनका लागि त्यतिबेला गठन भएको बूढीगण्डकी जलविद्युत् विकास समितिका तत्कालीन कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद देवकोटाका अनुसार आयोजना डीपीआरका लागि करिब १ अर्ब रुपैयाँ खर्च भएको थियो । ऊर्जा मन्त्रालयले तत्कालीन नलगाढ विकास समितिमार्फत र हाल उत्पादन कम्पनीमार्फत अघि बढाउन लागिएको ४१० मेगावाटको नलगाढ जलाशययुक्त आयोजनाको हाल डीपीआरको कार्य भइरहेको छ ।
    मे २०१६ मा सुरुमा २० महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएपनि मे २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोे डीपीआरका लागि मात्र १ अर्ब ११ करोड खर्च लाग्ने अनुमान गरिएको नलगाढका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारी बताउँछन् । विदेशी परामर्शदाता कम्पनी स्मेक अन्तर्राष्ट्रिय प्राइभेट कम्पनी लगायतको ज्वाइन्ट भेन्चरमा आयोजनाको डीपीआर भइरहेको आयोजनाले जनाएको छ । बूढीगण्डकी र नलगाढमात्र होइन, अधिकांश ठूला जलविद्युत् आयोजनाहरूको डीपीआर गर्नका लागि विदेशी परामर्शदाता कम्पनीकै भर पर्नुपर्ने अवस्था थियो । तर, नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनीको रूपमा इन्जिनियरिङ परामर्शदाता कम्पनी स्थापना गरेपछि यो अवस्थाको अन्त्य भएको छ । स्थापना भएको छोटो अवधिमै कम्पनीले १ हजार ८ सय ७१ मेगावाट चार ठूला आयोजनाहरूको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन प्रतिवेदन अघि बढाएको छ । “चार जलविद्युत् आयोजनाहरूको सम्भाव्यता र विस्तृत अध्ययनको काम अघि बढाइसकेका छौं,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य भन्छन्, “केही आयोजनाहरू अघि बढाउनका लागि प्रक्रिया अघि बढाएका छौं ।” उनको भनाइमा ठूला आयोजनाहरूको विस्तृत अध्ययनका लागि विदेशी परामर्शदाता कम्पनीको भर पर्नुपर्ने र यसका लागि धेरै खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
    कम्पनीका अनुसार चार आयोजनाहरूको सम्भाव्यता र विस्तृत अध्ययनको लागि डेढ अर्बबराबर बजेट छ, जुन विदेशी परामर्शदाता कम्पनीभन्दा चार गुणा कम हो । कम्पनीले ४ सय २६ मेगावाटको फूकोट कर्णाली, ६ सय ८८ मेगावाटको बेतन कर्णाली, ४ सय ५० मेगावाटको किमाथांका अरुण र ३ सय ७ मेगावाटको जगदुल्ला आयोजनाको सम्भाव्यता र विस्तृत डिजाइनको कार्य गरिररहेको छ । १ हजार ८ सय ७१ मेगावाट बराबरका आयोजनासँगै कम्पनीले अपर तामाकोशी लिमिटेड कम्पनीले अघि बढाउन लागेको रोल्वालिङ परियोजनाको विस्तृत अध्ययन पनि अघि बढाउन लागेको छ । कम्पनीका अनुसार अक्टोबर २०१७ मा जिम्मा पाएको कम्पनीले १८ महिनाभित्र, डिसेम्बर २०१७ मा वेतन कर्णालीको जिम्मा पाएकोमा १८ महिना तथा डिसेम्बर २०१७ मा ठेक्का पाएको किमाथांका अरुणको २२ महिनाभित्र र सोही मितिमा जिम्मा पाएको जगदुल्ला जलाशययुक्त आयोजनाको २२ महिनाभित्र सम्भाव्यता तथा विस्तृत अध्ययन पूरा गर्ने लक्ष्य छ ।
    परामर्शदाता कम्पनीले ठूला आयोजनाहरूको विस्तृत अध्ययन गर्न नसकिने आरोप भने जलविद्युत् विज्ञहरूले लगाउँदै आएका छन् । तर, प्रमुख कार्यकारी अधिकृत शाक्य पहिला परामर्शदाता कम्पनीदेखि विज्ञसम्म विदेशी रहने गरेकोमा कम्पनीले विदेशी परामर्शदाता र विज्ञहरूसँग राय लिएर भरपर्दो र विश्वासिलो अध्ययन अघि बढाएको बताउँछन् । “डिजाइनको रायसल्लाहका लागि चीनको पावर चाइना गुयाङ तथा अष्ट्रेलियन इन्जिनियर सोलाडिरिटी फर नेपालसँग सम्झौता गरेर त्यहाँका विज्ञसँग राय सुझाव लिएर अघि बढेका छौं,” उनले भने, “आवश्यकताको आधारमा विदेशी विज्ञहरू बोलाएर पनि काम अघि बढाइरहेका छौं ।”विदेशी कम्पनी र लाखौं खर्चनुपर्ने विदेशी विज्ञको कारणले नेपालमा डीपीआर महँगो परेको र यसको कारणले जलविद्युत् आयोजनाको लागतसमेत महँगो बन्दै गइरहेको बेला स्वदेशी परामर्शदाता कम्पनी ठूला आयोजनाको अध्ययनमा सक्रिय हुनुलाई जलविद्युत् क्षेत्रमा सकारात्मक रूपमा लिइएको छ ।

    -कारोबार