राष्ट्रपति कार्यालयमा सूर्यको उज्यालो

    2486

    काठमाडौँ, मङ्सिर ४ – राष्ट्रपति कार्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा विद्युतको अभाव हुन नदिन सौर्य विद्युत् प्रणाली जडान गरिएको छ।

    विद्युत् भार कटौतीबाट आक्रन्त मुलुकका प्रमुख निकायहरूमा विदुत ऊर्जाको अभाव हुन नदिने उद्देश्यका साथ सौर्य विद्युत प्रणाली जडान गरिएको वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ।

    केन्द्रले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा रु ८५ लाखको लगानीमा २४ किलोवाट क्षमताको सौर्य विद्युत् जडान गरेको हो। जडित क्षमताबाट पुस्तकालयका लागि आवश्यक पर्ने ऊर्जा उपलब्ध हुने भएको छ।

    यसैगरी, राष्ट्रपति कार्यालयमा समेत केन्द्रले सौर्य ऊर्जा प्रणाली जडान गरेको छ।

    कुल रु ५४ लाख लागतमा १४ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको केन्द्रका सोलार कार्यक्रम प्रमुख तथा सहायक निर्देशक रामप्रसाद धितालले जानकारी दिए।

    केन्द्रका सहायक निर्देशक धितालका अनुसार सौर्य ऊर्जा जडान गरिएपछि राष्ट्रपति कार्यालयको सुरक्षा कक्ष र बगैँचामा उज्यालो भएको छ भने केन्द्रीय पुस्तकालयमा समेत सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति हुनेछ।

    यसैगरी, केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि अध्ययन सम्पन्न गरिसकेको छ। केन्द्रका अनुसार प्रधानमन्त्री कार्यालयमा सौर्य ऊर्जा जडानका लागि रु एक करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ।

    सहायक निर्देशक धितालले सौर्य ऊर्जा जडानको लागि आवश्यक अध्ययन पूरा गरी प्रतिवेदन पेश गरिसकेकाले केही दिनमै काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ७७ किलोवाट क्षमता आवश्यकता पर्ने अध्ययनबाट पत्ता लागेको छ।

    बढ्दो विद्युत्भार कटौती र चरम ऊर्जा सङ्कट व्यहोरिरहेको मुलुकलाई केही भए पनि सौर्य ऊर्जाले राहत प्रदान गर्नका लागि सहयोगी हुने विश्वास लिइएको छ।

    सिंहदरबारभित्र एक मेगावाट सौर्य ऊर्जा प्रणालीबाट विद्युत् आपूर्ति गर्र्ने तयारी समेत केन्द्रले गरिरहेको छ। त्यसका लागि करिब रु २० करोड लाग्ने अनुमान गरिएको छ।

    सौर्य ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनका लागि विश्व बैंक, एसियाली विकास बैंक र कोरिया सरकारले आर्थिक सहयोग गर्ने बताएका छन्।

    सिंहदरबारभित्र खपत हुने बिजुली अन्यत्र वितरण गर्दा लोडसेडिङ कम हुने भएकाले सौर्य ऊर्जा प्रणालीबाट उत्पादित विद्युत् आपूर्ति गर्दा सो विद्युत् अन्यत्र प्रयोग गर्न सकिनेछ।

    यसैगरी केन्द्रले अन्य ऐतिहासिक स्थल, मन्दिर तथा सार्वजनिक स्थलहरूमा समेत सौर्य ऊर्जा जडान गर्ने तयारी गरेको छ।

    सार्वजनिक स्थलहरूमा प्रयोग हुने विद्युत् मात्रै बचत गर्न सकियो भने सो विद्युत् अन्य स्थानमा प्रयोग गर्दा मुलुकमा व्याप्त ऊर्जा सङ्कटमा केही मात्रामा भएपनि राहत हुने विश्वास केन्द्रले लिएको छ।

    प्रस्तुति: रासस