मध्यमर्स्याङ्दी सञ्चालनमा

    1143

    लमजुङ । एक सातादेखि बन्द रहेको लमजुङको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मर्मत सकिएपछि बिहीवारदेखि आयोजना सञ्चालनमा आएको हो । आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गरिएको छ ।

    मर्मतका लागि बन्द गरिएका २ युनिटमध्ये एउटाको मर्मत सकिएकाले बिहीवारदेखि बिजुली उत्पादन थालिएको आयोजनाका प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार सञ्चालन गरिएको युनिटबाट अधिकतम ३५ मेगावाट बिजुली उत्पादन गर्न सकिनेछ ।

    ३५ मेगावाट क्षमताको अर्को युनिटको पनि मर्मत भइरहेको र आउँदो बुधवारसम्म काम सकिने आयोजनाले बताएको छ । मर्मतको काम जतिसक्दो चाँडो सक्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलमै पुगेर निर्देशन दिएका थिए ।

    मर्मतको क्रममा झण्डै १८ लाख रुपैयाँबराबरको बालुवा पनि सङ्कलन भएको आयोजनाले बताएको छ । पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति रोक्न ‘प्रोटेक्सन वाल’ लगाइएको गौतमले जानकारी दिए । केन्द्रले मर्मतको काम बिहीवार राति ११ बजेसम्ममा सक्ने गरी भार प्रेषण केन्द्र (एलडीसी)बाट सट डाउन पाएको हो ।

    स्रोत:अभियान