तामकोसी पाँचौँको डीपीआर सात महिनाभित्र

    1238

    तामकोसी पाँचौँको डीपीआर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सात महिनाभित्र तयार हुने भएको छ । परामर्शदाता जर्मनी कम्पनी ल्याह्मेरले प्रतिवेदन तर्जुमाका लागि अध्ययन गरिरहेको छ ।
    तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधानका अनुसार परामर्शदाता ल्याह्मेरले केही समयमै आयोजनास्थल बिगु गाउँपालिका–४ सुरीटारमा परीक्षण सुरुङ निर्माण गर्नेछ । १७० मिटर लामो सुरुङ चट्टानको परीक्षणका लागि खन्न लागिएको छ ।
    परामर्शदाता कम्पनीले सुरुङ निर्माणका लागि चाहिने विष्फोटक पदार्थ ल्याउन जिल्ला सुरक्षा समिति र नेपाली सेनासँग अनुमति लिने काम गरिरहेको छ । डीपीआर तयारीपछि आयोजनाको लागत र क्षमताबारे पूर्ण विवरण आउने उहाँले बताउनुभयो ।
    आयोजनाका लागि आवश्यक जग्गाका निमित्त सार्वजनिक सूचना प्रकाशित गरेर जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण समेत भइसकेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाको अध्यक्षतामा बसेको बैठकले प्रतिरोपनी न्यूनतम तीन लाख ७४ हजारदेखि अधिकतम सात लाख ४८ हजार मूल्य निर्धारण भएको उहाँले जानकारी दिनुभयो ।
    आयोजनाका लागि बिगु गाउँपालिका–४ साविक लादुक ९ को सुरीटारमा रहेको जग्गा अधिग्रहण गर्न लागिएको छ । जग्गाको मूल्य निर्धारण समितिले सिँगटी–भोर्ले–तामाकोसी सडकले छोएको सडकको २५ मिटर पछाडिसम्मको मूल्य प्रतिरोपनी सात लाख ४८ हजार निर्धारण गरेको छ ।
    आयोजनाका लागि ५८ जनाको ५५ रोपनी जग्गा आवश्यक पर्छ । तामाकोसी पाँचौँको सुरीटारमा विद्युत् गृहलगायतका संरचना तयार गर्ने प्रस्ताव छ । आयोजनाको विद्युत् गृह भूमिगत हुनेछ । ल्याह्मेर ४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समेत परामर्शदाता हो । डेढ वर्षमा पूरा गर्ने गरी ल्याह्मेर र विद्युत् प्राधिकरणबीच सम्झौता भइसकेको छ ।
    आयोजनाको प्रारम्भिक अध्ययन अनुसार ८७ मेगावाट क्षमताको बन्ने भए पनि अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने देखिएको छ । तामाकोसी पाँचौँ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेट आयोजना हो ।
    नेपाल विद्युत् प्राधिकरणले गरेको प्रारम्भिक अध्ययन अनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुनः प्रयोग गरी ८.२ किलोमिटर सुरुङबाट लादुकको सुरीटारमा भूमिगत विद्युत् गृह बनाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ग्रस हेड ६० मिटर छ । यसबाट वार्षिक ४६०.५ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
    बाटोको पहुँच, कम वातावरणीय प्रभाव, हेडवक्र्स निर्माण गर्न नपर्ने कारणले पनि आयोजना आकर्षक भएकाले सरकारले पनि चार वर्षदेखि प्राथमिकतामा राखेको आयोजना छ । आयोजनाबाट उत्पादित विद्युत् माथिल्लो तामाकोसीले निर्माण गर्ने गोँगर–खिम्तीको २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको छ ।
    कम्पनी मोडेलमा निर्माण हुन लागेको तामाकोसी पाँचौँमा माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीलाई पनि सेयर दिने भएको छ । तामाकोसी पाँचौँका प्रमुख कार्यकारी अधिकृत प्रधानले भन्नुभयो, यो आयोजना अपर तामाकोसीकै क्यासकेट भएको र सडक प्रसारण लाइनमा उसको लगानी धेरै भएकाले सेयर लगानी गर्न दिनै पर्छ, छलफल जारी छ । आयोजनाको प्रबन्ध पत्रअनुसार नेपाल विद्युत् प्राधिकरणको ५५ प्रतिशत, आयोजना प्रभावितको १० र सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीको समेत लगानी रहने बताइएको छ ।
    आयोजनाको माथिल्लो तामाकोसीको टेलरेसमा लिङ्क जोड्ने संरचनाको काम जारी छ । माथिल्लो तामाकोसीको काम पूरा भएर विद्युत् उत्पादन हुन थालेपछि त्यसका लागि आयोजना नै बन्द गर्नुपर्ने भएकाले पहिला नै बाहिर निस्कने पानीलाई बन्द गरे सुरुङमा हाल्नका लागि लिङ्क बनाउन लागिएको हो ।
    आयोजनाका लागि ४० मिटर लामो सुरुङ र गेट निर्माणका लागि आयोजनाले २० करोड खर्च गर्दैछ । पछि माथिल्लो तामाकोसी चलेपछि बन्द गर्दा चार अर्ब लाग्ने भएकाले सस्तोमै अहिले नै माथिल्लो तामाकोसीकै ठेकेदारमार्फत काम भइरहेको छ ।

     

    -गोरखापत्