जलविद्युतमा २० अर्ब चिनियाँ लगानी थपिँदै

    1659

    06112016085040hydro-1000x0

    कार्तिक २१, २०७३- १ सय २ मेगावाट क्षमताको माथिल्लो त्रिशूली २ जलविद्युत् आयोजनामा चीनको हाइड्रो चाइना कर्पोरेसनले लगानी गर्ने भएको छ । शतप्रतिशत लगानी रहने गरी चीनको उक्त कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । ‘२० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्ने गरी कर्पोरेसनले प्रस्ताव पेस गरेको हो,’ उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भने, ‘औद्योगिक प्रवद्र्धन बोर्डको बैठक राख्ने तयारी भइरहेको छ । बोर्ड बैठकमा उक्त कम्पनीको एफडीआई स्वीकृतिका लागि एजेन्डा पेस हुनेछ ।’ विद्युत् विकास विभागबाट सर्वेक्षण लाइसेन्स लिई उक्त कम्पनीले वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसमेत पेस गरिसकेको छ ।

    विद्युत् विकास विभागमै विद्युत् उत्पादनका लागि अनुमति माग गरी प्रक्रिया अघि बढिसकेको जनाएको छ । विद्युत् व्यापार सम्झौता (पीपीए) का लागि समेत आवश्यक प्रक्रियाहरू अगाडि बढेपछि कर्पोरेसनले एफडीआई स्वीकृतिको माग गरेको हो । उद्योग विभागका अनुसार उक्त जलविद्युत् रसुवाको गुल्जुङ र गोल्टाङ गाविसमा निर्माण हुनेछ । जलविद्युत् आयोजनाका लागि स्थिर पुँजी २० अर्ब २१ करोड ५० लाख रुपैयाँ रहने प्रस्ताव छ । चालु पुँजी ६ करोड ५० लाख रुपैयाँ रहनेछ । हाइड्रो चाइना कर्पोरेसन चीनको एक ठूलो जलविद्युत् कम्पनीमा पर्छ । यो कम्पनीले हालसम्म बनाइसकेको र बनाउन लागेको सहित १६ गिगावाट विद्युत् उत्पादनको योजना छ । कर्पोरेसनका १० वटा सहायक कम्पनी छन् । १० हजार २ सय जनाले रोजगारीको अवसर पाएका छन् । यसमध्ये ५ हजार ७ सय जना त प्राविधिक मात्रै छन् । चीनबाहेक अन्य मुलुकमा समेत यो कम्पनीले जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको छ । जलविद्युतमै नेपालमा पनि लगानी विस्तार गर्ने तयारी हो ।

    उक्त प्रस्तावअनुसारको एफडीआई उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृति गर्नेछ । उद्योगमन्त्रीमा नवीन्द्रराज जोशी आइसकेपछि बोर्ड बैठक बसेको छैन । केही एजेन्डाहरू तय भइसकेकाले बोर्ड बैठक चाँडै नै राखी उक्त जलविद्युत् कम्पनीको एफडीआई स्वीकृति गर्ने तयारी छ । दुई अर्ब रुपैयाँभन्दा कम लगानीको एफडीआई विभागले नै गर्न सक्नेछ । त्यसभन्दा माथि १० अर्ब रुपैयाँभन्दा कम लगानीको एफडीआई मात्रै उद्योगमन्त्रीले अध्यक्षता गर्ने बोर्डले स्वीकृति दिने हो । १० अर्ब रुपैयाँभन्दा बढी लगानी वा ५ सय मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाको एफडीआई भने प्रधानमन्त्रीले अध्यक्षता गर्ने लगानी बोर्डले स्वीकृति दिने गरेको छ ।

    हाइड्रो चाइना कर्पोरेसनले पेस गरेको एफडीआई रकम ठूलोमध्येमा पर्छ ।

    गत वर्ष चीनको थ्री गर्जेजअन्तर्गतको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक (सीडब्लूई) ले पश्चिम सेती जलविद्युत् आयोजनाका लागि लगानी बोर्डबाट एफडीआई स्वीकृत गराइसकेको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीमा १ खर्ब ४८ अर्ब रुपैयाँको एफडीआई प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्डबाट स्वीकृति पाएको हो ।

    तर यो आयोजनामा गरिने लगानीबारे विद्युत् प्राधिकरण, लगानी बोर्ड र आयोजना प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजका प्रतिनिधिहरूबीच समझदारी हुन सकेको छैन । करिब २२ वर्षअघिबाट निर्माणको बहस भएको यो आयोजना विभिन्न विवादले अघि बढ्न सकेको छैन । चिनियाँ सरकारको लगानी रहेको थ्री गर्जेजले २२ हजार ५ सय मेगावाटको विश्वकै ठूलो आयोजना बनाइसकेको छ । ३० हजार मेगावाट आयोजना उसले बनाइसकेको छ । सन् २०२० सम्ममा गर्जेजले बनाएका आयोजनाबाट ८० हजार मेगावाट बिजुली उत्पादन हुनेछ । जलविद्युतमा थ्री गर्जेजपछि हाइड्रो चाइनाले ठूलो लगानी गर्न लागेको हो । यसबाहेक चीनकै ठूलो सिमेन्ट उत्पादनक होङसीले लगानीको स्वीकृति बोर्डबाट लिइसकेको छ । ३६ अर्ब रुपैयाँ लगानी गर्न अनुमति पाएको हो । होङ्सीले नेपालको शिवम सिमेन्टसँग मिलेर लगानी गर्ने गरी अनुमति पाएको हो । दैनिक १२ हजार टन उत्पादन गर्ने लक्ष्य छ । एक हजार जनालाई रोजगारी दिने प्रतिबद्धता छ ।

    सन २०१६ भित्रमै सिमेन्ट उत्पादन गर्ने तयारी हो । उल्लेखित लगानी स्वीकृतिपूर्व एक प्रतिष्ठानमा १९ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ लगानी आएको थिएन । विदेशी लगानीकर्तालाई नेपालमा लगानी खुला गरेसँगै उल्लिखित लगानी आउनुपूर्व करिब ४० अर्ब रुपैयाँको मात्रै प्रतिबद्धता आएको छ । चाइना हाइड्रोले पेस गरेको लगानीसमेत जोड्ने हो भने करिब साढे दुई खर्ब रुपैयाँ एफडीआई प्रतिबद्धता हुनेछ ।

    कान्तिपुर