माथिल्लो तामाकोसी ढिलाइमा ठेकेदार जिम्मेवार

    1105

    निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । ४ महिनापछि आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । तर ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो ।

    आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकसम्बन्धी कामले गर्दा आयोजनाको समग्र प्रगति नै प्रभावित हुने देखिएको छ । आयोजनाको हालसम्म करिब ९४ प्रतिशत काम पूरा भए पनि हाइड्रोमेकानिकल कामको सुस्तताले अहिले आयोजनाको अन्तिम लक्ष्य भेट्न मुस्किल छ । यसले अहिले समग्र आयोजना व्यवस्थापनको टाउको दुःखाइको विषय बनेको छ ।

    आयोजनाको सिभिल, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइनको कामको लक्ष्यअनुसारकै प्रगति भए तापनि हाइड्रोमेकानिकलको कामले भने गति लिन सकेको छैन । हाइड्रोमेकानिकलको काममा आयोजना स्थलमा काम गर्ने कामदार पनि उपस्थितिका लागि मात्रै छन् ।

    हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले पाएको छ । कम्पनीले आयोजनाको काम २०७२ वैशाख (३० अप्रिल २०१५) भित्र पूरा गर्ने गरी २०६८ फागुन १६ (२८ फेब्रुअरी २०१२) मा सम्झौता गरेको थियो । तर सम्झौताको थप २ वर्ष बितिसक्दा समेत टेक्सम्याकोले साइडमा उल्लेख्य प्रगति गर्न सकेको छैन ।
    सम्झौताअनुसार टेक्सम्याकोले काम गरेको भए २०७२ को भूकम्पअघि नै काम पूरा गर्नुपर्ने हो । तर त्यो बेलासम्म उसले साइडमा सामानसमेत ढुवानी सुरु गर्न सकेन । त्यसपछि भूकम्प र नाकाबन्दीलाई निहँु बनाएर आयोजनाको अवधि बढाए पनि उसको काम अघि बढ्न सकेको छैन ।

    टेक्सम्याकोले सन्तोषजनक रूपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक भइसकेको छ । “९ महिनाअघि टेक्सम्याकोको उच्चस्तरीय टोलीलाई भारतबाट बोलाएर साइडमै छलफल गरायौं’ आयोजनाका प्रवक्ता डा. गणेश न्यापानेले भने, “हरेक कामको रिपोर्ट कम्पनीको उच्चस्तरबाटै मासिक रूपमा मागेका छौं, उनीहरूलाई हामीले नजिकबाट अनुगमन गरिरहेका छौं ।” कम्पनीको उच्चस्तरीय टोलीले आयोजनाको काम समयमै पूरा गराउने प्रतिबद्धता गरे तर काममा सोचेजति प्रगति हुन नसकेको उनले बताए । “तर आशा गरौं, समयमै काम होला,” उनले भने ।

    आयोजनाको हाइड्रोमेकानिकलअन्तर्गत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरू, स्टपलगहरू, पेनस्टक पाइपलगायतको डिजाइन, ढुवानी, जडान, परीक्षण  र कमिसनिङ पर्दछन् । गेटहरू र स्टपलगहरूको काम भइरहे पनि पेनस्टक पाइप ढुवानीको काम चलिरहेको छ । आयोजनामा १ हजार १ सय ३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्ने भए पनि हालसम्म आधा पाइप पनि ढुवानी हुन सकेको छैन । गेटहरू राख्ने काम पनि बाँकी नै छन् ।

    मेसिन उपकरण र पाइप ढुवानीकै लागि सुनकोसी नदीमा डाइभर्सनसमेत बनाइएको छ । यही डाइभर्सन भएर सबैभन्दा चुनौतीको रूप मानिएको लट ३ अन्तर्गतको विद्युत् गृहभित्र प्रयोग हुने एमएसओभी, जेनेरेटर, टर्वाइनजस्ता ठूला उपकरण ढुवानी भइसकेका छन् । तर लट २ कै पाइप ढुवानीमा सुस्तता देखिएको छ ।

    अघिल्लो वर्ष केही पाइप सिन्धुपाल्चोकको सुनकोसी विद्युत् केन्द्रसम्म ढुवानी भएको छ । त्यो पनि आयोजनास्थल पुराउने बाँकी नै छ । ढुवानी पनि जडान, परीक्षणको काम पनि बाँकी नै छ । अहिले तल्लो ठाडो सुरुङबाट पाइप जडानको काम सुरु भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

    आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङ, सर्ज ट्यांकको सुरुङमा स्टिल पेनस्टक पाइप राख्नु पर्नेछ । दुवै ठाडो सुरुङसहित मुख्य सुरुङ समेत खुलिसकेको छ । तर, टेक्सम्याकोले भने सिभिल ठेकेदार सिनो हाइड्रोले नै पाइप राख्ने ठाउँ नबनाएको उल्टै आरोप लगाएको छ । चिनियाँ कम्पनी सिनोका इन्जिनियर वालकृष्ण निरौलाले भने बाँध र सुरुङमा टेक्स्म्याकोले काम नगर्दा सिभिलले गर्ने बाँकी काम गर्न नपाएको बताए ।

    २ वटा पाइप जडान गर्न कम्तिमा ३ दिन लाग्छ । ५ मिटर र २.५ मिटरका पाइप छन् । जडान सुरु गरेको दिनदेखि लगातार तीब्र गतिमा काम गरे ६ महिनाभित्र काम सक्ने ठेकेदारले बताएको प्रवक्ता न्यौपानेले बताए । तर, उसको कामको सुस्तताले शंका लागेर लगातार ताकेता गरिराखेको उनले बताए । यही हिसावले पनि आयोजनाले पछिल्लो २०७३ भित्र पहिलो युनिट उत्पादन सुरु गरी मंसिरसम्म व्यावसायिक उत्पादन गर्ने लक्ष्यमा ठेस लाग्ने देखिन्छ ।

    २०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधन  गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । भूकम्प र नाकाबन्दी, डलरको मजबुती, बजार मूल्यलगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागतसमेत बढेर ४६ अर्बभन्दा बढ्ने भएको छ ।

    आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोँगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ ।

    दिलबहादुर केसी

    स्रोत:कारोबार