माथिल्लो तामाकोसीको ३७ प्रतिशत काम पूरा – प्रगतिमा कोष सन्तुष्ट

    1222

    दोलखा, १ कात्तिक – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हालसम्म ३७ प्रतिशत काम पूरा भएको जनाएको छ । प्रगतिप्रति कर्मचारी सञ्चयकोष सन्तुष्ट रहेको बताएको छ । आयोजनाका निमित्त प्रमुख विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको मुख्य लगानीकर्ता कर्मचारी सञ्चयकोषको अनुगमन टोली लाई अयोजनाबारे जानकारी गराउँदै आयोजनाको सिभिल निर्माणअन्र्तगत आवश्यक सबै किसिमका गरी साँढे १६ किलोमिटर सुरुङमध्ये ५ हजार ४ सय मिटर पूरा भएको बताए ।
    कोषको प्रशासक कृष्णप्रसाद आचार्यले आयोजनाको कामको गतिले गर्दा कोष सन्तुष्ट रहेको बताए । सञ्चय कोष आयोजनाको मुख्य लगानीकर्ता हो ।
    कोषको टोलीले आयोजनाको स्थलगत अनुगमण निरीक्षणपछि चरिकोटमा आयोजित पत्रकार भेटघाटसमेत गरेको थियो । “आयोजनाको अहिलेको कामको गति चित्तबुझ्दो छ,” उनले भने, “यही कामको गतिलाई अझै बढाए यो आयोजना तोकिएकै लागतमा समयमै बन्नेमा हामी आशावादी छौं ।” लगानीकर्ताका तर्फबाट अनुगमन गर्नु कर्तव्य भएकाले तीन–चार महिनामा नियमित स्थलगत अनुगमन गर्ने कार्ययोजना नै बनेको उनले बताए ।
    “आयोजनाको सफलता हाम्रो पनि सफलता हो,” उनले भने, “अपर तामाकोसी सफल भयो भने हाम्रो पनि संस्थागत रूपमा ठूलो सफलता हुनेछ ।” आयोजनामा कर्मचारी सञ्चय कोषको १० अर्ब ऋण लगानी र २४ अर्ब सेयर लगानी रहेको छ । कोषमा ५ लाख सञ्चयकर्ताहरूको पुँजी रहेको छ ।
    आयोजनाको काममा रकमको कुनै पनि अभाव नहुने उनले बताए । कोषबाट हालसम्म २ अर्ब ३० करोड निकासा भइसकेको छ भने अन्य लगानीकर्ताबाट समेत ५ अर्ब निकासा भएको छ । आयोजना ३५ अर्ब २९ करोड अनुमानित लागत रहेकोमा हालसम्म ९ अर्ब खर्च भएको छ ।
    आयोजनाको सिभिल निर्माणअन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, सुरुङ, सर्ज ट्यांक, पेन्स्टक, भूमिगत विद्युत्गृह, टेलरेस पर्छन् । बाँध निर्माणका लागि नदीको सतहमुनि ७ मिटर गहिरो र ४ मिटर दायाँ–बायाँ कंक्रिट गरेर नदीलाई फर्काएर बाँध निर्माण सुरु भएको छ । त्यस्तै डिस्यान्डरको निर्माण समेत सुरु भएको छ । दसैंपछि यसको कामलाई युद्धस्तरमा गर्ने श्रेष्ठले बताए । आयोजनाको काममा तीन महिना मात्र ढिला भएको बताउँदै कामको गति बढाएर कुनै अप्रिय घटना भएन भने तोकिएकै लागत र समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “सिभिल निर्माणतर्फ ४० प्रतिशत काम पूरा भएको छ,” उनले भने ।
    त्यस्तै मेकानिकलअन्र्तगत लट २ र लट ३ अन्तर्गत ठेक्का सम्झौता गरी डिजाइनिङको काम भइरहेका उनले बताए । त्यसैगरी ४७ मिटर लामो २ सय केभीको प्रसारण लाइनको बोलपत्रबाट छनोट भएका ३ अन्तर्राष्ट्रिय कम्पनीको मूल्यांकन भइरहेको छ । चालू आर्थिक वर्षभित्र आयोजनाको प्रगति ५० प्रतिशत पु¥याउने लक्ष्य रहेको समेत उनले बताए ।
    आयोजनाको ४ अडिटबाट सुरुङ निर्माणको काम भइरहेको छ । आयोजनाका साइड प्रतिनिधि विमल गुरुङले अहिले दैनिक औसत २० मिटर सुरुङ निर्माण कार्य भैरहेको बताए । पावर हाउस जाने सुरुङबाट भित्र ५ ठाउँबाट एकसाथ सुरुङको काम भइरहेको छ । पावर हाउस र ट्रान्सफर्मर क्यावनको कामसमेत खन्ने काम भइरहेको छ ।
    चालू आर्थिक वर्षको अन्तसम्म १० किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्य रहेको गुरुङले बताए । असोज महिनामा ६ सय ५६ मिटर सुरुङ निर्माण भएको छ । यो प्रगति अहिलेसम्मकै सबैभन्दा बढी हो । आयोजना सुरु हुनुअघि नै नेपाली कम्पनी हिमाल हाइड्रो कर्पोरेसनमार्फत ७ सय ६० मिटर सुरुङ निर्माण भएको थियो । यस वर्ष ६ किलोमिटर सुरुङ निर्माण गर्ने आयोजनाले राखेकोमा साँढे ३ किलोमिटर पूरा भएको जनाएको छ ।
    स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको देशकै अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसीको सिभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । आयोजनामा सञ्चय कोषका साथै नेपाल टेलिकमले ६ अर्ब, राष्ट्रिय बिमा संस्थानले २ अर्ब, नागरिक लगानी कोषको २ अर्ब र अपुग ११ अर्ब ८ करोड नेपाल सरकारले ऋण लगानी गर्ने भएको छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, १० प्रतिशत दोलखाली सर्वसाधारण, १५ प्रतिशत आमसर्वसाधारण, ६ प्रतिशत टेलिकम, नागरिक लगानी कोष र बिमा संस्थानको २÷२ प्रतिशत र बाँकी २४ प्रतिशत सञ्चयकर्ताहरूको सेयर रहनेछ । आयोजना सन् २०१५ को अन्तसम्म पूरा गर्ने लक्ष्य लिएको छ ।

    प्रस्तुति: कारोबार