हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको आईपीओ ल्याउदै, चैतसम्म निष्कासन हुने

    1471

    काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कुल २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख र आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको छ ।

    आउदो चैतसम्म आईपीओ निष्कासन भइसक्ने हिमालय ऊर्जाका प्रवन्धक प्रकाश दुलालले बताए । कम्पनीको वार्षिक साधारणसभा अगावै आईपीओ निष्कासन गर्न लागेको उनले जानकारी दिए ।

    आईपीओको काम सुरु गर्न साधारणसभा चैतमा गर्ने मिति तय भएको दुलालले बताए ।कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् ।

    कम्पनीको गत वर्षको १६ औ साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रवन्धक नियुत्त गरेको छ ।

    सरकारी जग्गाको लिजमा लिने काम सकिएपछि आईपीओ निष्कासनको काम अघि बढ्ने उनको भनाई छ । कम्पनीले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने उनले जानकारी दिए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।

    – विकासन्युज