अपी पावरकाे साधारणसभा पुस ३० मा, २ अर्ब २६ करोड हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गर्ने

    1983

    काठमाडौं । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    अपीले २ सय प्रतिशत हकप्रद सेयर निष्कासनका लागि पुस ३० गते बस्ने १४ औं वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा लैजाने भएको छ । साधारणसभाबाट प्रस्ताव पारित भएपछि हकप्रद निष्कासन गर्ने अपीको योजना छ । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडमा र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ ।

    गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गर्नेछ ।

    कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । उसको प्रस्तावको बोर्डले अध्ययन गरिरहेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ ।

    यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।

    चालु आर्थिक वर्षको ३ महिनामा अपिको खुदनाफा घटेको छ । गत असोजसम्म कम्पनीले १ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ ।
    गत आवको सोही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनमा कम्पनीको खुदनाफा ५ लाख रुपैयाँ घटेको छ ।

    बिजुली बेचेर हुने आम्दानीमा गिरावट आएपछि नाफा घटेको अपीले जनाएको छ । चालु आवको ३ महिनामा अपीले ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा अपीको आम्दानी ४ करोड ६१ लाख रुपैयाँ थियो ।

    नाफामा कमी आएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आई ६ रुपैयाँ ३२ पैसामा सीमिति भएको छ । कम्पीको संचित कोषमा १० करोड ५२ लाख रुपैयाँ छ ।

    -विकासन्युज