‘टेक अर पे’ प्रावधानले प्राधिकरणलाई वित्तीय जोखिम

    1341

    काठमाडौँ — टेक अर पे प्रावधानसहित विद्युत् खरिद सम्झौता गर्ने सीमा बढाइएपछि विद्युत् प्राधिकरणले ८४ अर्ब रुपैयाँ बराबरको थप विद्युत खरिद गर्नुपर्ने भएको छ ।

    नदी प्रवाही विद्युत् आयोजनाबाट मात्रै थप ८४ अर्ब रुपैयाँ बराबरको विद्युत् खरिद गर्नुपर्ने भएको हो ।गत मंगलबार प्राधिकरण सञ्चालक समितिले टेक अर पे प्रावधानसहित नदी प्रवाह जलविद्युत् आयोजनाबाट विद्युत् खरिद गर्दा टेक अर पे प्रावधान राखिने सीमालाई ३ हजार मेगावाट बाट ५२ सय मेगावाट पुर्‍याएको छ ।

    प्राधिकरण स्रोतका अनुसार सीमा बढाउँदा वार्षिक करिब ८४ अर्बको थप विद्युत् खरिद गर्नुपर्ने भएको हो । यो विद्युत्मध्ये ४० प्रतिशत खेर जाने अवस्था आए ३३ अर्ब रुपैयाँ वित्तीय जोखिम हुने प्राधिकरणको आँकलन छ ।

    टेक अर पेमा खरिद गरिएको थप २ हजार २ सय ५० मेगावाट विद्युत् खरिद गरेर २५ प्रतिशत विद्युत्् खेर गए वा खपत नहुने अवस्था आए २१ अर्ब क्षति व्यहोर्नुपर्ने प्राधिकरणको आकलन छ । अर्ध जलाशययुक्त आयोजनाबाट टेक अर पे प्रावधानसहितको पीपीए गर्ने सीमालाई ४ हजार ५ सय पुर्‍याउँदा थप ९४ अर्बको विद्युत् खरिद गर्नैपर्ने बाध्यता हुने प्राधिकरणको आकलन छ ।

    खरिद गरिएको अर्ध जलाशययुक्त आयोजनाको ४० प्रतिशत विद्युत् खपत नभए वा खेर गए प्राधिकरणलाई ३८ अर्ब वित्तीय जोखिम हुनेछ । २५ प्रतिशत विद्युत् खेर गए वा खपत नभए २४ अर्ब भार पर्ने प्राधिकरणको अनुमान छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत् आयोजनासँग टेक अर पे (लेउ या तिर) प्रावधानसहित विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

    निर्णयअनुसार प्राधिकरणले अब नदी प्रवाहमा आधारित विद्युत् आयोजनाबाट ५ हजार २ सय ५० मेगावाट नपुगुन्जेलसम्म टेक अर पे प्रावधानसहित पीपीए गर्नेछ । यसअघि यो सीमा ३ हजार मेगावाट तोकिएको थियो ।

    नयाँ सरकार गठन भएसँगै ऊर्जा मन्त्रालयले वैशाख २५ गते जारी गरेको श्वेतपत्रका आधारमा प्राधिकरणको सञ्चालक समिति बैठकले टेक अर पे पीपीएका लागि नयाँ सीमा तोकेको हो । श्वेतपत्रमा सरकारले १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । १५ हजार मेगावाटमध्ये ३५ प्रतिशत क्षमतासम्मका विद्युत् खरिदका लागि टेक अर पे प्रावधान राख्ने श्वेतपत्रमा उल्लेखगरिएको छ ।

    विद्युत् खरिद सम्झौतामा टेक अर पे प्रावधान रहँदा प्राधिकरणले कुनै ऊर्जा उत्पादकसँग विद्युत् किने पनि नकिने पनि तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरेपछि टेक अर पे प्रावधानसहितको पीपीए गर्ने सीमा बढाउन पटकपटक निर्देशन दिएको थियो ।

    हालसम्म प्राधिकरणले करिब ४ हजार ६ सय मेगावाट नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनासँग पीपीए गरिसकेको छ । तीमध्ये साढे ३३ सय मेगावाट क्षमताका आयोजनासँग टेक अर पे पीपीए गरेको प्राधिकरणको तथ्यांक छ । बाँकी साढे १२ सय मेगावाट क्षमताका आयोजनासँग टेक एन्ड पे पीपीए गरिएको हो ।

    टेक एन्ड पे पीपीए गरिएका यी आयोजनासँगको सम्झौतालाई पनि टेक अर पेमा रूपान्तरण गर्ने निर्णय प्राधिकरणले गरेको छ । टेक एन्ड पे पीपीएमा विद्युत् खरिद गरेको अवस्थामा मात्रै पैसा तिर्ने सुविधा हुन्छ । यो पीपीएअनुसार प्राधिकरणले कुनै कारण विद्युत् उत्पादकसँग विद्युत् खरिद नगरे जरिवाना तिर्नु पर्दैन ।

    प्राधिकरणले टेक एन्ड पे पीपीए गर्दा विद्युत् आयोजना निर्माणको लागि बैंकले लगानी नगर्ने भन्दै निजी ऊर्जा उत्पादकहरूले सरकारलाई टेक अर पे पीपीएको दायरा बढाउन आग्रह गर्दै आएका थिए ।

    प्राधिकरणले मंगलबार टेक अर पे पीपीएको सीमा बढाएसँगै यसले निजी ऊर्जा उत्पादकहरूलाई केही राहत दिएको निजी ऊर्जा उत्पादकहरूको संस्था (इपान) का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् ।

    यसअघि प्राधिकरणले २०७२ मा ऊर्जा मन्त्रालयले तयार पारेको श्वेतपत्रको आधारमा टेक अर पे पीपीए गर्ने सीमा ३ हजार मेगावाट तोकेको थियो । १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित तयार पारिएको उक्त श्वेतपत्रअनुसार ३ हजार मेगावाटसम्म विद्युत् टेक अर पेमा खरिद गर्ने निर्णय भएको थियो ।

    नयाँ श्वेतपत्रअनुसार टेक अर पे प्रावधानसहितको पीपीए सीमा बढाउनुपर्ने दबाब बढेपछि प्राधिकरणले वित्तीय जोखिम बढ्ने भन्दै आन्तरिक अध्ययन तयार पारेको थियो । प्रसारण लाइन नबने, खपतभन्दा बढी विद्युत् किन्न परे वित्तीय जोखिम हुने भन्दै प्राधिकरणले यस्तो आकलन तयार पारेको हो ।

    प्राधिकरण सञ्चालक समितिको बैठकले टेक अर पेको सीमा बढाउँदा प्राधिकरणलाई वित्तीय जोखिम हुने अवस्था आए सरकारसँग त्यो रकम शोधभर्नाको रकम माग गर्ने निर्णयसमेत गरेको छ । प्राधिकरणले यसअघि अर्ध जलाशययुक्त आयोजनाको पनि २ हजार मेगावाटसम्म टेक अर पेमा पीपीए गर्ने सीमा तोकेको थियो ।

    यो सीमालाई मंगलबारको निर्णयले ४ हजार ५ सय मेगावाट पुर्‍याइएको छ । प्राधिकरणले हालसम्म अर्ध जलाशययुक्त आयोजनाबाट १ हजार १ सय ६२ मेगावाट विद्युत् खरिदका लागि टेक अर पेमा पीपीए गरेको छ ।
    विजय तिमल्सिना
    स्रोत:कान्तिपुर