सिंगटी आयोजनाको बत्ती बल्यो, प्रसारणलाइन अनिश्चित

1298

दोलखा-२५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ । आयोजनाको सम्पूर्ण काम पूरा गरी एक सातादेखि परीक्षणको रूपमा विद्युत् उत्पादन थालेको हो दोलखाको सिंगटी खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युत्गृहमा पानी छाडेर परीक्षण थालिएको हो ।

आयोजनाको सबै संरचना तयार भइसकेकाले सबै निर्माण अवस्था के कस्तो छ भनेर परीक्षण गरेको हो । आयोजना प्रमुख मनोहरि सापकोटाका अनुसार आयोजनाको अन्तिममा विद्युत्गृहका उपकरण सबै तयार भइसकेकाले पानी हालेर परीक्षण थालिएको बताए । “आयोजनाको सबै संरचना तयार भइसकेका छन्,” उनले भने, “दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँदो २ बजेदेखि साँझ ८ बजेसम्म परीक्षणको काम हुन्छ ।” परीक्षणका क्रममा कुनै समस्या देखिए त्यसको मर्मत गरिने बताए । परीक्षणका क्रममा खासै समस्या देखिएको छैन । यसअघि आयोजनाको बाँध, सुरुङमार्ग र विद्युत्गृहको सुक्खा परीक्षण गरिएको थियो । विद्युत्गृहमा परीक्षणका क्रममा हुने समस्या समाधानका लागि चिनियाँ प्राविधिकसमेत सँगै बसेका छन् ।

एक वर्षअघि नै आयोजनाको बाँधको परीक्षण भइसकेको छ । गत असारमा डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी), सुरुङ, सर्ज ट्याङ, पेनस्टक पाइप र विद्युत्गृहमा जडित उपकरणको परीक्षण गरिएको उनले बताए । आयोजनाले पानी हालेर परीक्षण गर्दा विद्युत्गृहका उपकरणमा केही समस्या भएका कारण रोकिएको थियो । लामो समयको लकडाउन र चिनियाँ प्राविधिक आउन ढिला भएका कारण विद्युत् उत्पादनसमेत ढिला भएको हो ।
परीक्षण उत्पादन सफल भए तापनि प्रसारणलाइन नहुँदा उत्साह नभएको आयोजना प्रमुख सापकोटाले बताए । अरु आयोजना पूरा भएपछि खुशीयाली हुन्छ, तर हामीलाई आयोजना पूरा भएर पनि बेच्ने ठाउँ नहुँदा विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था भएकाले उत्साह नभएको बताए ।

विद्युत्गृहमा १२.२ मेगावाटका २ उत्पादन युनिट छन् । ४ अर्ब ६३ करोड रुपैयाँ लागतमा पूरा भएको आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी छ । प्रसारण लाइनको अभावमा आयोजनाले एक वर्ष ढिला गरी आयोजना पूरा गरेको हो ।

प्रसारण लाइनमा अझै ढिलाइ

आयोजना सम्पन्न भई उत्पादनको चरणमा पुगे पनि सिंगटी–लामोसाँघु प्रसारणलाइन पूरा नहुँदा विद्युत् खेर जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ११ वर्षअघि निर्माण थालेको प्रसारणलाइन पूरा नहुँदा सिंगटीको विद्युत् खेर जाने अवस्था आएको हो । सिंगटी–लामोसाँघु १३२ प्रसारणलाइन निर्माण दोलखा र सिन्धुपाल्चोकमा अझै ३ वटा टावर ठड्याउन बाँकी छ । प्रसारण लाइनको कुल १२४ टावरमध्ये ७ वटा टावरमा निर्माणमा लामो समय विवादले रोकिएको थियो ।

आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका महाप्रबन्धक रमेश अधिकारीका अनुसार प्रसारणलाइन निर्माणमा केही महिनादेखि आयोजनाकै प्राविधिकसमेत खटाएर सहयोग गरिरहेको बताए । “आयोजनाबाट विद्युत् उत्पादन भइसक्यो, प्रसारणलाइन नहुँदा मासिक करोडौं आम्दानी गुम्छ,” उनले भने, “केही छिटो हुनसक्छ कि भनेर प्राधिकरणको प्रसारणलाइन व्यवस्थापन र निर्माण व्यवसायीलाई प्राविधिक तथा सामाजिक व्यवस्थापनमा सहयोग गरिरहेका छौं ।”

प्राधिकरणले आयोजनाले उत्पादन सुरु गर्ने अवधिसम्म प्रसारणलाइन तयार नगरे कुल आम्दानीको ४५ प्रतिशतसम्म क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ । तर सम्झौता जे भए तापनि विभिन्न बहानामा प्रवद्र्धकहरूलाई प्रोत्साहन गर्ने प्राधिकरणले नगरेको आयोजना प्रवद्र्धकहरूको भनाइ छ । प्रसारणलाइन समस्याले सिंगटीसँगै ११ मेगावाटको तल्लो खारे र ५ मेगावाटको घट्टे खोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन गरेर पनि प्रसारण गर्न पाएका छैनन् । निर्माण पूरा भई सञ्चालनमा रहेको १० मेगावाटको सिप्रिङ खोला पूर्ण क्षमतामा चल्न सकेको छैन ।
सरकारले १० वर्षअघि फास्ट ट्रयाकमा निर्माण गर्नका लागि सरकारी बास्केटबाट प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिएको सुपर सिक्स आयोजनामध्येको सबैभन्दा पहिला पूरा भएको आयोजना हो । प्रसारणलाइन नहुँदा विद्युत् खेर जाने भएकाले पनि

विद्युत्गृहको परीक्षण केही समयपछि गर्ने आयोजना व्यवस्थापनको योजना छ ।
आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर वितरण गरिसकेको कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गरिसकेको छ । आयोजनाले लक्ष्यअनुसार प्राधिकरणलाई विद्युत् बिक्री गर्न सके अर्को वर्षबाटै सेयरधनीलाई लाभांश बाँड्न सक्ने कम्पनी सचिवसमेत रहेका अधिकारीले बताए । तर प्रसारण लाइनमा विद्युत् जोड्न नसक्दा प्रशासनिक खर्च र बैंक व्याजले लागत बढ्ने तर आम्दानी गुम्ने अवस्था छ ।

स्रोत : कारोबार