तल्लो मोदीको सुरुङ निर्माण तीव्र

    2855

    पर्वत, ११ मंसिर – २० मेघावाट क्षमताको निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत् आयोजनाले  सुरुङ निर्माण तीव्र रूपमा अघि बढाएको छ ।
    निजी क्षेत्रको मनाङ टे«ड लिङ्कले निर्माण सुरु गरेको आयोजनाले दसैंतिहार सकिएलगत्तै सुरुङ निर्माणकार्य तीव्र पारेको हो । आयोजनाले दुर्लुङ गाबिस वडा नं. ९ मा भदौदेखि सुरुङ प्रवेश मार्ग (अडिट १) को निर्माण गरिरहेको छ ।
    आयोजनाले सो प्रवेशमार्गको ८० मिटरभन्दा बढी निर्माण गरिसकेको जनाएको छ । पर्वतको बाजुङ गाबिस– २ भ्याप्लेस्थित प्रबेश मार्ग(अडिट नं २) को निर्माणकार्य पनि मंसिरको अन्तिम साताबाट सुरु हुने आयोजना प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । “बैंकिङ प्रक्रिया चलिरहेको छ,” उनले भने, “यो काम सकिएपछि दुईवटै सुरुङको निर्माणकार्य तीव्र हुन्छ ।” आयोजनाको ४.५ किलोमिटर लामो सुरुङ ४.६५ मिटर चौडाइ र त्यति नै उचाइको छ ।  सुरुङ चार खण्डमा  बाँडेर निर्माण थालिने आयोजनाले जनाएको छ ।
    पर्वतको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसमा निर्माण हुने सो आयोजनाको निर्माण कार्य २०७२ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना करिब ३ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकलगायत अन्य ११ वटा बैंकले ऋण लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । बैंकहरूसँग सम्झौताको तयारी भइरहेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।
    यसबाहेक नेपालका चार घरानाका उद्योगीहरूले पनि आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा केएल दुगड ग्रुपका कुमुद दुगड, मुरारका ग्रुपका पशुपति मुरारका, नन्दकिशोर मुन्डारा र हाइड्रो सोलुसनका ज्ञानेन्द्राल प्रधानले लगानी गरेका छन् । मुलुकका ठूला औद्योगिक तथा व्यापारिक घरानाले लगानी गरेको यो आयोजना पहिलो भएको कार्यकारी निर्देशक ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । कृषि, सिमेन्ट, छडलगायतका ठूला उद्योगमा सफल व्यवसायी पनि जलविद्युत् आयोजनामा आकर्षित भएकाले यसले जलविद्युत्को विकासमा टेवा पुग्ने उनको भनाइ छ । आयोजनाले २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ । कुनै अवरोध नभए तोकिएकै समयमा सम्पन्न गर्न सकिने आयोजनाको भनाइ छ ।

    प्रस्तुति: कारोवार