रसुवा र नुवाकोटमा ४४ जलविद्युत् आयोजनालाई अनुमति

    3062

    नुवाकोट, ११ मंसिर – विद्युत् उत्पादनको प्रचुर सम्भावना भएको रसुवा र नुवाकोटका क्षेत्रमा बिजुली निकाल्न ४४ जलविद्युत् आयोजनालाई अनुमति दिइएको छ । उत्पादन अनुमति दिएका मध्ये ३ आयोजनाले आफ्नो विद्युत् उत्पादन गरिसकेका छन् ।
    विद्युत विभागसँग उत्पादन अनुमति लिएको आयोजनामध्ये त्रिशूली ३ ए, मैलुङमा रहेको मैलुङखोला आयोजना, साञ्चेन माथिल्लो, लिखुखोला आयोजनाले सिभिल निर्माणकार्य अगाडि बढाएका छन्, जसमध्ये त्रिशूली ३ ए ले ६० मेघावाट, मैलुङखोलाले ६ मेघावाट र अपर साञ्जेनको ४२.५ मेघावाट उत्पादन अनुमति पाएका छन् ।
    त्यस्तै सर्वेक्षण अनुमति पाएकामध्ये केही ठूला आयोजनाले प्रारम्भिक सर्वेक्षण गरिसकेका छन् । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रवद्र्धकले २ सय १६ मेघावाटको माथिल्लो त्रिशूली १ को विद्युत्गृहका लागि हाकुमा भूमिगत संरचनाभित्र विद्युत्गृहको सर्वेक्षण गरिएको वातावरणविद् डम्बर अवस्थीले जानकारी दिए । त्यस्तै हाईड्रो चाइना कर्पोरेसन प्रवद्र्धक रहेको माथिल्लो त्रिशूली २, १ सय २ मेघावाट, परफेक्ट इनर्जीको प्रवद्र्धनमा ६५ मेघावाटको मध्यत्रिशूली गंगाको प्रारम्भिक सर्वेक्षण भइसकेका छन् । यी आयोजनाले रसुवाको हाकु, लहरेपौवा, ठुलोगाउँ, डाडागाउँ, राम्चे, नुवाकोटको मनकामनार तुप्चेलाई प्रभावित क्षेत्र बनाएका छन् ।
    रसुवा र नुवाकोटमा हालसम्म ५५.१ मेघावाट विद्युत् उत्पादन भइरहेको छ । रसुवाको चिलिमे जलविद्युत् कम्पनी, नुवाकोटका त्रिशूली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत् केन्द्रले आफ्नो उत्पादन गरिरहेका छन ।
    उत्पादन भएका जलविद्युत्मध्ये चिलिमे जलविद्युत् केन्द्रले २१ देखि २२ मेघावाटसम्म उत्पादन गरिरहेको छ भने त्रिशूलीमा रहेको त्रिशूली जलविद्युत् केन्द्रले २० मेघावाट र देवीघाटमा रहेको देवीघाट जलविद्युत् केन्द्रले १४ मेघावाट  विद्युत् उत्पान गरिरहेको छ । उत्पादित बिजुलीमध्ये नुवाकोटमा रहेका दुई जलविद्युत् गृहले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा आफ्नो उत्पादन गाउँसम्म पु¥याएको छ । बाँकी रहेको उत्पादीत विद्युत केन्द्रीय प्रसारणलाइनमा कनेक्सन गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुखले बताए ।
    चिलिमे जलविद्युत् केन्द्रको विद्युत् भने सीधै केन्द्रीय प्रसारणलाइनमा जोडिएकोे छ । स्याफ्रुमा रहेको चिलिमे जलविद्युत् केन्द्रले अहिले गाउँका विद्यालय र सार्वजनिक संस्थामा बाहेक रसुवाको गाउँमा आफ्नो उत्पादन दिएको छैन । निर्माण भएको ९ वर्ष बित्दासमेत चिलिमेले जनतामा सेवा नदिएको स्थानीयको गुनासो छ ।
    विद्युत् उत्पादन अनुमति पाएका आयोजनामध्ये कतिपय आयोजनाले स्थानीयको अवरोध र मुअब्जा वितरणमा ढिलाइका कारण सिभिल निर्माणमा समेत ढिलाइ गरिरहेका छन् ।
    हाल रसुवा र नुवाकोटमा सर्वेक्षण अनुमति पाएका आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ (२१६ मेघावाट) मध्यभोटेकोसी (१३० मेघावाट), माथिल्लो त्रिशूली–३ ए (६० मेघावाट), त्रिशूली–३ बी (३७ मेघावाट) छन् । त्यस्तै साञ्जेन ए (४२.५ मेघावाट) र साञ्जेन बी (५७.१ मेघावाट), रसुवागढी (१ सय १६ मेघावाट), त्रिशूली गंगा (६० मेघावाट)  रसुवा भोटेकोसी (५२.७८ मेघावाट) छन् ।

    प्रस्तुति: कारोवार