जनभावना अनुसार चल्न विद्युत प्राधिकरणका कर्मचारीलाई मन्त्री पुनको निर्देशन

    1299

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।

    उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी समेत दिए । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सवलाई काठमाडाैंमा उद्घाटन गर्दै मन्त्री पुनले प्राधिकरणका कर्मचारीहरुले जनताको आवाज नसुनेको गुनासो आफूसँग आएको उल्लेख गर्दै त्यस्ता कर्मचारीलाई पदबाट हटाउन सकिने स्पष्ट पारे । उनले राम्रो काम गर्ने कर्मचारीलाई जनताले पनि सम्मान गर्ने गरेको पनि स्मरण गराए । मन्त्री पुनले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी कामलाई अघि बढाउन पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देश दिए । निजी क्षेत्रसँग प्रतिस्पर्धा नगरे प्राधिकरणको औंचित्य नहुने मन्त्री पुनको भनाई छ ।

    मन्त्री पुनले प्राधिकरणको नियमनका लागि विद्युत नियमन आयोग गठन गर्ने घोषणा समेत गरे । उनले आयोग गठन गर्नका लागि सरकारले त्यसको ऐन र नियमावली बनाउने कामलाई सम्पन्न गरिसकेको उल्लेख गरे ।

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव एवम् प्राधिकरणका अध्यक्ष अनुपकुमार उपाध्यायले नागरिकलाई गुणस्तरीय सेवा वृद्धिमा ध्यान दिन प्राधिकरणलाई सचेत गराए । उनले जनतालचाहेकै ठाउँमा विद्युत उपलब्ध गराउनका लागि आवश्यक योजना बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

    कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षीक प्रगति विवरण पेश गर्दै यसको सेवालाई भरपर्दो, गुणस्तरीय र सर्वसुलभ बनाउनु प्राधिकरणको मुख्य चुनौति रहेको बताए । उनले विद्युतको नियमित आपूर्ति र चुहावट नियन्त्रण नै एक वर्षको मुख्य अभियान भएको पनि जानकारी दिए । प्राधिकरणले यस वर्ष एक अर्ब एक करोड कुद मुनाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले नियमित विद्युत आपूर्ति र चुहावट नियन्त्रणका कारण प्राधिकरणले सो मुनाफा आर्जन गर्न सफल भएको पनि स्पष्ट पारे ।

    स्रोत:नयाँपत्रीका