निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादन गर्न मन्त्री पुनको आग्रह

    1085

    बिमष्टेक तहमा विद्युत् निर्यात हुने आश्वासन

    काठमाडौं । एकपछि अर्को गर्दै छिमेकी देशहरूसँग ऊर्जा सहकार्यको सहमति भइरहेकाले ढुक्क भएर विद्युत् उत्पादन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई आग्रह गरेका छन् । शुक्रवार आयोजित नेपाल विद्युत् प्राधिकरण स्थापनाको ३३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यसो भनेका हुन् ।

    हालै चीन र त्यसपछि बङ्गलादेशसँग ऊर्जा सहकार्यका सम्बन्धमा नेपालले सहमति गरेको छ । सोही विषयको स्मरण गराउँदै अबका दिनमा उत्पादन हुने विद्युत्, प्राधिकरणले सबै किन्ने (टेक अर पे) वा आवश्यकताअनुसार किन्ने (टेक एण्ड पे) के गर्छ भन्ने सम्बन्धमा नअल्मलिन निजी क्षेत्रलाई उनले अनुरोध गरे । आसन्न बिमष्टेक बैठकमा समेत सहभागी देशहरूबीच ऊर्जा सहकार्यको सहमति हुने निश्चित भएकाले अब यहाँ उत्पादन गर्ने विद्युत्को बजार फराकिलो हुने मन्त्री पुनको धारणा छ ।

    उनले निजीक्षेत्रको दबाब र प्रभावमा प्रसारण लाइन र सबस्टेशन नबनाउने बताएका छन् । ‘आवश्यकताअनुसार रणनीति बनाएर प्रसारण लाइन निर्माण हुन्छन्,’ उनले भने, ‘अब कुनै निश्चित आयोजनाको विद्युत् प्रवाहका लागि सजिलो बनाउने गरी प्रसारण लाइन निर्माण गरिँदैन ।’

    राजनीतिक नेतृत्वको दबाब र प्रभावका कारण प्राधिकरण र सरकारी आयोजना निजीक्षेत्रले बनाएको आयोजनाभन्दा महङ्गो बन्दै गएको उनले बताए । साथै, प्राधिकरणलाई राजनीतिक प्रभावबाट मुक्त रही काम गर्ने वातावरण बनाइने उनको दाबी थियो ।

    प्राधिकरणको कार्यशैलीमा सुधार गर्नु आवश्यक रहेकोमा जोड दिँदै उनले चौमासिक समीक्षा गर्दै अगाडि बढ्ने बताए । कार्य परिणामका आधारमा प्राधिकरणका विभिन्न कार्यालयलाई इन्सेण्टिभ उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

    प्राधिकरणका स्थायी, अस्थायी, ज्यालादारी, म्यादी, करार सबैको प्रतिकर्मचारी रू. ३ हजार बराबरको शेयर रहने गरी मोदी जलविद्युत् (६० मेवा) अघि बढाउने पनि मन्त्री पुनले घोषणा गरे । त्यस्तै, ५६ लाख घरधूरीको शेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजनाहरू अघि बढाइने पनि उनले बताए । उक्त आयोजना वृद्धावस्थाको लागि राम्रो आयस्रोत बनाउने आप्mनो योजना रहेको मन्त्री पुनको भनाइ छ ।

    प्राधिकरणको आयमा वृद्धि
    अघिल्लो आवको तुलनामा प्राधिकरणको समग्र आयमा करीब १६ दशमलव ९८ प्रतिशत वृद्धि भएको र विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशतमा झार्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार विद्युत् विक्री तथा अन्य स्रोतबाट आव २०७४/७५ मा प्राधिकरणले रू. ६० अर्ब ४८ करोड आम्दानी गरेको छ । अघिल्लो आवमा प्राधिकरणको कुल आम्दानी रू. ५१ अर्ब ७० करोड थियो ।

    प्राधिकरणले गत आवमा रू. १ अर्ब १ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आव २०७३÷७४ मा पनि प्राधिकरणले रू. १ अर्ब ३० करोड नाफा कमाएको थियो । कुलेखानी तेस्रो (१४ मेवा) निकट भविष्यमै सम्पन्न गर्ने र ६० मेवाको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना २०७५को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

    आव २०७४/७५ मा थपिएका निजीक्षेत्रका १५ ओटासमेत गरी हालसम्म निजीक्षेत्रका ७५ ओटा आयोजनाबाट उत्पादित करीब ५ सय १३ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएका छन् । घिसिङका अनुसार प्राधिकरणको कुल ग्राहक सङ्ख्या अघिल्लो आवको तुलनामा २ लाख ९० हजारले बढेको छ । अघिल्लो आवमा ग्राहक सङ्ख्या ३२ लाख ६० हजार थियो ।

    कार्यक्रममा प्राधिकरणका प्रथम कार्यकारी निर्देशक हर्षमान श्रेष्ठ र गत आवमा उत्कृष्ट कार्य गर्ने १५ कर्मचारी तथा ९ कार्यालयलाई सम्मान गरिएको थियो ।

    ढल्केबर सबस्टेशन सञ्चालनमा
    धनुषामा निर्माण गरिएको ढल्केबर सबस्टेशन सञ्चालन (चार्ज)मा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सबस्टेशन बिहीबार राति चार्ज गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि उक्त सबस्टेशन महत्त्वपूर्ण मानिएको छ । सबस्टेशन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरू भएको छ । यसअघि ढल्केबर सबस्टेशन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत् आयात भइरहेको थियो । सबस्टेसन चार्ज भएपछि नेपाल र भारतबीच थप विद्युत् आयात/निर्यातका लागि पूर्वाधार तयार भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार विभागप्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

    स्रोत:अभियान