माथिल्लो त्रिशूली ‘थ्री ए’ सम्पन्न

1219

श्रावण १७, २०७६

काठमाडौँ — माथिल्लो त्रिशूली ‘थ्री ए’ को दोस्रो युनिटको परीक्षण उत्पादन सुरु भएको छ । योसँगै ६० मेगावाट जडित क्षमताको निर्माण पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए ।

आयोजनाको पहिलो युनिटबाट जेठ २ गते उत्पादन सुरु भइसकेको छ । दोस्रो युनिट पूरा भएसँगै बुधबारदेखि परीक्षण उत्पादन सुरु भएको आयोजना प्रमुख जोशीले जानकारी दिए ।

उनका अनुसार ७२ घण्टे परीक्षण उत्पादनका क्रममा आयोजनाको टनेल, टर्बाइनजस्ता पूर्वाधार र उपकरणहरूको परीक्षण गरिनेछ । एक महिनाभित्र आयोजनाको परीक्षण प्रक्रिया भई नियमित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने उनले जानकारी दिए । ‘विद्युत् उत्पादन अहिले नै सुरु भइसकेको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ,’ उनले भने, ‘परीक्षणका क्रममा उत्पादन बन्द हुने र खुल्ने भइरहन्छ । एक महिनाभित्र नियमित उत्पादन सुरु हुन्छ ।’

आयोजनाको विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ सबस्टेसनमा जोडिएको छ । आयोजनाको विद्युत्गृह नुवाकोटको सिम्लेमा छ । दोस्रो युनिट असार दोस्रो साता सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारको ढिलाइका कारण पर धकेलिएको हो ।

काठमाडौंबाट नजिक र सुक्खायाममा समेत ऊर्जा उत्पादन हुने भएकाले ऊर्जा अभाव पूर्तिको लागि यो आयोजनालाई महत्त्वपूर्ण मानिन्छ ।

आयोजना सञ्चालनमा आएसँगै जलाशययुक्त कुलेखानी आयोजनामा दबाब कम पर्ने नेपाल विद्युत् प्राधिकरणको विश्वास छ । यो आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गरिएको हो । आयोजनाले सुक्खायाममा समेत ४५ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ । आयोजना सञ्चालनमा आएसँगै सुक्खायाममा भारतबाट आयात हुने विद्युतको परिणाम घट्नेछ ।

यही आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिएको हो । यही पूर्वाधार प्रयोग गरी त्रिशूली नदी बेसिनमा निर्माण हुने अन्य आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विद्युत्गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । त्यसपछि भूकम्पका कारण आयोजनाको पहुँच मार्गमा क्षति पुगेपछि निर्माण तालिका प्रभावित भएको हो । आयोजना ९० मेगावाटमा स्तरोन्नति गर्ने विषयमा पनि समय खेर गएको थियो ।

प्रसारण लाइनको ठेक्का चाइना वाटर एन्ड इनर्जी (सीडब्लूई) ले पाएको थियो । प्रसारण लाइन निर्माणका लागि २ करोड २६ लाख अमेरिकी डलरमा चिनियाँ कम्पनीसँग २०६७ चैत १३ गते सम्झौता भएको थियो । प्रसारण लाइनको लम्बाइ ४८ किलोमिटर छ ।

आयोजनाबाट वार्षिक ४६०.४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । कुल विद्युत्मध्ये ४६ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुने भएकाले यसलाई ऊर्जा सन्तुलनका लागि महत्त्वपूर्ण आयोजना मानिएको छ । आयोजनाबाट आठ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ ।

आयोजनाबाट उत्पादन हुने विद्युतको लागत साढे दुई रुपैयाँ हुने प्रारम्भिक अनुमान थियो । माथिल्लो त्रिशूली ‘थ्री ए’ बाट विद्युत् उत्पादन भएर निस्किएको पानी उपयोग गरी माथिल्लो त्रिशूली ‘थ्री बी’ ३७ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

आयोजनाका लागि चीनको एक्जिम बैंकले ११ करोड ५७ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिएको छ । वार्षिक १ दशमलव ७५ प्रतिशत ब्याजदरमा उपलब्ध ऋणको म्याद २५ वर्षको छ । ऋण लिएको ५ वर्षपछि भुक्तानी सुरु गर्ने गरी आयोजनाका लागि ऋण लिइएको हो ।

स्रोत:कान्तिपुर