ढल्केबर सबस्टेसन निर्माणमा ढिलाइ भए पनि दुई साताभित्र भारतबाट थप बिजुली आउने, मध्य हिउँदमा पनि लोडसेडिङ नहुने

    2042

    काठमाडौं । ढल्केबरमा २२० केभी क्षमताको सबस्टेसन बन्न ढिलाइ भए पनि भारतबाट थप बिजुली आयातमा समस्या नहुने भएको छ ।
    ढल्केबरको सबस्टेसन पूरा हुन केही महिना ढिलो हुने भएपछि नेपाल विद्युत् प्राधिकरणको अनुरोधमा भारतको मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर जडान गरेर थप ८० मेगावाट बिजुली आयात हुने भएको हो ।

    ढल्केबर–मुजफ्फरपुर, कुसाह–कटैया, परावनीपुर–रक्सौल र टनकपुरबाट थप बिजुली आयातपछि पुस र माघमा पनि लोडसेडिङ नहुने भएको छ । प्राधिकरणका अनुसार जनवरीपछि भारतबाट २२० मेगावाटसम्म थप बिजुली आयात हुने गरी संरचना तयारी भइरहेको छ ।
    मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मरर जडान गरेर १३२ केभीमा चार्ज गरी अन्तरदेशीय प्रसारणलाइनबाट १६० मेगावाट आयात हुने गरी काम अघि बढेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

    ढल्केबरमा २२० केभी क्षमताको सबस्टेसन निर्माणमा २ महिना ढिलाइ भए पनि फरक नपर्ने उनको भनाइ छ ।
    “मुजफ्फरपुरमा १ सय एमबीए क्षमताको ट्रान्सफर्मर जडानको काम भइरहेको छ,” उनले भने, “निर्धारित समयमा काम सकिएर जनवरी १ तारिखदेखि मुजफ्फरपुर–ढल्केबर ४ सय केभी प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० गरी कुल १६० मेगावाट बिजुली आयात हुनेछ । गत वर्ष नै ४ सय केभी क्षमताको प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरेर ८० मेगावाटसम्म आयात गरिएको छ ।” सोही लाइनबाट थप १ सय एमबीएको ट्रान्सफर्मर जडान गरेर १६० मेगावाट बिजुली आयात हुने उनले जानकारी दिए । ढल्केबरमा २२० केभी सबस्टेसन निर्माणको काममा ढिलाइ भए पनि अब फरक नपर्ने उनले बताए ।

    कटैया–कुसाहा १३२ केभी प्रसारणलाइनको क्षमता बढाउने काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारणलाइनबाट हाल १३० मेगावाटसम्म बिजुली आयात भइरहेकोमा थप ५० गरी १८० मेगावाट आयात हुनेछ । यो प्रसारणलाइनबाट पनि जनवरीदेखि ५० मेगावाट थप बिजुली आयात हुनेछ ।

    परवानीपुर–रक्सौल १३२ केभी नयाँ प्रसारणलाइनको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । हाल ३३ केभी प्रसारणलाइनबाट १० मेगावाट बिजुली आयात भइरहेकोमा १३२ केभी निर्माण गरेर थप ५० मेगावाट ल्याउने तयारी छ । यस्तै टनकपुरबाट ३० मेगावाट बिजुली आयात भइरहेको छ । थप ४० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना छ ।

    यी संरचना पूरा भएर थप २२० मेगावाटसम्म बिजुली आयात बढेपछि पुस र माघमा पनि लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ ।
    गत वर्ष ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । योसमेत गरी कुल भारतबाट ५६० मेगावाट बिजुली आउने देखिएको छ । हाल पिक आवरमा भारतबाट २७० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । त्यस्तै, विद्युत प्राधिकरणले कुलेखानी जलाशययुक्त आयोजनालाई पनि व्यवस्थापन गरेको जनाएको छ । हाल कुलेखानीको जलासशमा पानीको सातह १ हजार ५२३ मिटर छ ।

    स्रोत: बाह्रखरी