ब्रह्मायणीमा नौ जलविद्युत् आयोजना

    1514

    सिन्धुपाल्चोक :  हिमनदीमा पानीको बहाव हिउँदमा पनि कम नहुने भएकाले जलविद्युत् व्यवसायी ब्रम्हायणी नदीमा लगानी गर्न आकर्षित भएका छन् । राजधानीबाट नजिक र कम लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने भएकाले ब्रम्हायणी र सहायक खोलामा व्यवसायीको आकर्षण बढेको हो । ब्रम्हायणी करिडोरमा उत्पादन अनुमति पाएका सानाठूला नौ आयोजना निर्माणाधीन र निर्माण सुरु गर्ने चरणमा छन् ।

    जुगल गाउँपालिकाको गुम्बा र गोल्चे गाउँ छुनेगरी ब्रह्मायणी नदीमा जलविद्युत् व्यवसायी उमेश कसजू नेतृत्वको बलेफी हाइड्रोपावर लिमिटेडले ३६ मेगावाट क्षमताको अपर बलेफी-ए निर्माण गरिरहेको छ । गत कात्तिकबाट आयोजना निर्माण सुरु गरेको कम्पनीले साढेचार किलोमिटरमध्ये तीन किलोमिटर सुरुङ निर्माण सकिएको छ ।

    कसजूका अनुसार २०७६ माघभित्र उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । ‘कुनै अवरोध नभए निर्धारित मितिमै उत्पादन हुन्छ’, कसजुले भने । बलेफी हाइड्रोले यो आयोजनामा ६ अर्ब रुपैयाँ लगानी गरेको छ । कसजू नेतृत्वकै बलेफी हाइड्रोपावरले यहाँ ४६ मेगावाटको अर्को आयोजना पनि निर्माण गर्दै छ । गुम्बा र गोल्चेस्थित ब्रह्मायणी नदीमै बन्ने उक्त आयोजनाको नाम माथिल्लो (अपर) बलेफी दिइएको छ । छिट्टै निर्माण तयारी गरिएको उक्त आयोजना पीपीए चरणमा पुगेको उनले बताए ।

    छिमेकी गाउँ बराम्ची र हगाम गाउँ भएर बग्ने गेलुङ खोलाबाट निकालिने तीन मेगावाटको जलविद्युत् आयोजना निर्माणाधीन छ । गेलुङ खोला जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकिएको छ । यस वर्षभित्रै उत्पादनमा जाने आयोजनाले जनाएको छ ।

      ब्रम्हायणी करिडोरमा उत्पादन अनुमति पाएका सानाठूला नौ आयोजना निर्माणाधीन र निर्माण सुरु गर्ने चरणमा छन्

    ब्रह्मायणी हिमनदी हुनुका साथै झन्डै दर्जन खोलानाला हिउँदमा समेत नसुक्ने हुँदा लगानी गर्न व्यवसायी आकर्षित देखिएको व्यवसायी कसजू बताउँछन् । जिल्लाको बिकट गाउँ गुम्बा, गोल्चे, हगाम, पाङताङ, सेलाङ र बराम्ची भएर बग्ने ब्रम्हायणी र अन्य सहायक खोलानालामा साना-ठूला गरी तीन आयोजना निर्माणाधीन छन् भने अन्य आधा दर्जन आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को चरणमा छ ।

    निर्माणाधीन र निर्माण चरणमा रहेका आयोजनाको काम निर्धारित समयभित्रै हुने र बिचमा अवरोध नभए पाँच÷सात वर्षभित्रै झन्डै तीन सय मेगावाट जलविद्युत् उत्पादन हुने कसजूको अनुमान छ ।

    प्राविधिक हिसाबले जलविद्युत् उत्पादन गर्न यहाँका खोलानाला उपयुक्त देखिएका छन् । व्यवसायीको बढ्दो आकर्षणकै कारण यहाँ एउटै खोलालाई तल्लो, माथिल्लो, झन् माथिल्लो र मध्यजस्ता नाम दिएर उत्पादन अनुमति लिइएको छ । यहाँ झन्डै ५० मेगावाट क्षमताका तीन आयोजना निर्माणाधीन छन् । मुनलाइट हाइड्रोपावरले सेलाङमा १० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाइरहेको छ । एक वर्षदेखि निर्माण भइरहेको यो आयोजनाको २० प्रतिशत काम सम्पन्न भएको छ । यसका लगानीकर्ता आयोजनाको क्षमता बढाएर २२ मेगावाट पुर्‍याउने तयारीमा जुटेका छन् ।

    ब्रह्मायणी नदी करिडोरमै सिन्धुज्वाला हाइड्रोपावरले ४३ मेगावाटको नेशमखोला जलविद्युत् आयोजना बनाउने तयारी गर्दैछ । तल्लो चाकु जलविद्युत् आयोजनाका सञ्चालक आवद्ध नेशमखोला हाइड्रोपावरले ३० मेगावाटको तल्लो नेशमखोला बनाउने अनुमति पाएको छ । दुवै आयोजना पीपीए चरणमा प्रवेश गरेका छन् ।

    बीजी हाइड्रोपावर इन्भेस्टमेन्ट प्रालिले ४५ मेगावाटको बलेफी हाइड्रोपावर बनाउन अनुमति लिइसकेको छ । बह्मायणी करिडोरकै गुम्बा र गोल्चेमा बन्ने यो आयोजना विद्युत् विकास विभागसँग पीपीए गर्ने अन्तिम तयारीमा छ । बह्मायणी नदी उद्गमस्थल नजिकको तेम्बाथानमा निजी क्षेत्रकै लगानीमा मझौला र ठूला गरी थप दुई आयोजना बन्ने भएका छन् ।

    हिमाली गाउँ गुम्बाको अन्तिम बस्ती तेम्बाथानमा ब्रह्मायणी हाइड्रोपावर लिमिटेड ४० मेगावाटको बह्मायणी जलविद्युत् आयोजना बनाउन जुटेको छ । यही करिडोरमा प्रस्तावित ब्रह्मायणीभन्दा केही माथि इन्टिग्रेटेड हाइड्रोपावर फन्डले २० मेगावाट क्षमताको अपर बह्मायणी जलविद्युत् आयोजना बनाउँदै छ । दुवै आयोजना पीपीए तयारीमा रहेको लगानीकर्ता बताउँछन् ।

    स्रोत: अन्नपूर्ण पोस्ट