चिलिमे अगाडि बढ्यो, तामाकोसी जहाँकाे त्यहीँ

    2415

    गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ ।

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ ।

    यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि अगाडि बढेको प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

    लामाबगरको काब्रेभीरमा सुरुङ निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ भने बाँध निर्माण कार्य अघि बढेको छ । उक्त स्थानमा करिब ४०० मिटर सडकखण्ड भूकम्पका कारण क्षति भएको थियो ।

    नयाँ ट्र्याक खोलेर बाटो बनाउनुभन्दा सुरुङ नै उत्तम हुने निष्कर्षका साथ ११ करोड रूपैयाँ थप लगानी गरेर काम सुरु गर्न लागिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

    पूर्व निर्धारित कार्यतालिकाअनुसार आगामी साउनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना भूकम्पका कारण करिब डेढ वर्ष पर धकेलिएको छ । यस्तै आयोजनाको गोगरदेखि किर्नेसम्मको २२० केभी प्रसारण लाइनको काम अगाडि बढेको छ भने सडक मर्मत तथा बाँध, विद्युत् गृहको काम पनि सुरु भएको छ ।

    रसुवामा आयोजनास्थल रहेको साञ्जेन, माथिल्लो सान्जेनको काम पनि अगाडि बढेको सान्जेन जलविद्युत् कम्पनीका आयोजना प्रमुख गिरीराज अधिकारी बताउँछन् ।

    सहज रुपमा इन्धन पाउन थालेपछि निर्माण कार्य अघि बढाइएको हो । भूकम्प र नाकाबन्दीका कारण समस्यामा फसेको माथिल्लो सान्जेनको सुरुङ बर्खा अगावै सम्पन्न गर्ने लक्ष्य छ ।

    कुल दुई हजार १०० मिटरमध्ये हालसम्म एक हजार १३० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । “डेड महिनाभित्रै सुरुङ सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ” आयोजना प्रमुख अधिकारीले भने ।

    माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट र सान्जेनको ४२.५ मेगावाट रहेको छ । विसं २०७४ भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका ती दुवै आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएका छन् ।

    माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ ।

    दुवै आयोजनाको लागत रु सात अर्ब २४ करोड रहेको छ । सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी एक हजार ४०० मिटर लामो सुरुङ तथा ४८० मिटर लामो पेनस्टक पाइपबाट १८.८ मेगावाट विद्युत् निकाल्ने योजना रहेको छ ।

    सोही विद्युत् गृहबाट निस्केको पानी र सिम्बुको खोलाको पानीलाई मिसाई तीन हजार ६०० मिटर लामो सुरुङ तथा एक हजार १२० मिटर पेनस्टक पाइपको सहायताले ४२.५ मेगावाट विद्युत सान्जनेको नाममा निकालिनेछ ।

    हाल आयोजनाको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ । कुल पाँच हजार २०० मिटर लामो सुरुङमध्ये हालसम्म ७६० मात्रै सम्पन्न भएको छ ।

    यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको रसुवागढीको कामलाई गति दिने तयारी गरिएको छ ।

    एक सय ११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत्को सीमामा निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।

    रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँधबाँधी चार हजार २०० मिटर लामो हेडेरस सुरुङ एवम् ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण गरिएको थियो ।