मातातीर्थ–भक्तपुर प्रसारण लाइन बन्ने निश्चित

1569

चैत्र ४, २०७६

काठमाडौँ: सबस्टेसन निर्माणका कारण अलपत्र चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन बन्ने निश्चित भएको छ ।

ललितपुरको खोकना र चापागाउँवासीको अवरोधका कारण भक्तपुरसम्म विद्युत् लैजाने उक्त प्रसारण लाइन करिब २० वर्षदेखि अलपत्र थियो ।

ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पु¥याउने योजना अघि सारेको थियो तर सबस्टेसन निर्माणका लागि जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेसन बन्ने निश्चित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा दुई मन्त्रालयका मन्त्रीस्तरमा भएको छलफलमा उक्त सहमति भएको हो ।

आइतबार भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सबस्टेसनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको ऊर्जा मन्त्रालयले जनाएको छ । बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुक्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको स्थानमा सबस्टेसन निर्माणका लागि जग्गा प्राप्त हुने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ । कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोलीले चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ । ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सबस्टेसन निर्माण स्थलमै गएर जमिनबारे अन्तिम टुङ्गो लगाउने सहमति भएको छ ।

चोभारमा सबस्टेसन नबनाउँदा नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसनमा त्रिशूली र मस्र्याङ्दी करिडोरबाट आउने बिजुली काठमाडौँ ल्याउन असम्भव प्रायः रहेको जनाइएको छ ।

स्रोत:गोर्खापत्र