रुख काट्न दिँदैनन्, चट्याङ रोक्न सक्दिनँ, म के गरुँ ?

1917

काठमाण्डौ – देशभर लकडाउन छ । यो समयमा धेरैजसो नागरिक घरभित्रै बस्नुभएको छ  । सरकारको आदेश पालना गर्नु नागरिकको कर्तव्य पनि हो । यतिबेला कयौँ नागरिकले घरबाटै कार्यालयको काम गरिरहनुभएको छ । घर पनि इन्डक्सन चुल्होको प्रयोग गर्नुभएको छ । विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ ।

तर चैत बैशाखको यो समयमा हावाहुरी, पानी र चट्याङ परिरहेको छ । यसले हाम्रो विद्युत वितरण प्रणालीमा चुनौती थपेको छ । ट्रान्समिसन लाइन र ट्रान्सफर्मरलगायतमा हावाहुरी र चट्याङले क्षति पुर्याइरहेको छ । त्यसले गर्दा केही दिनदेखि केही ठाउँमा बिजुली अनियमित भइरहेको छ ।

बिजुली नहुँदा नागरिक कति समस्यामा पर्छन् भन्ने कुरा विद्युत प्राधिकरणले राम्रोसँग बुझेको छ । तर हामीले हरसम्भव प्रयास गर्दा पनि चट्याङको कारण र हावाहुरीको कारण बिजुली अनियमित हुने क्रमलाई पुरै रोक्न सकेका छैनौँ । मुख्य समस्या अहिले प्रसारण लाइनमा देखिएको छ । प्रसारण लाइनमा समस्या हुँदा पुरै ‘सिस्टम’ नै ‘कोल्याप्स’ हुनेसम्मका घटना भएका छन् ।

रुख काट्न दिँदैनन् 

अहिले बिजुली गएको अवस्थालाई विभिन्न ढङ्गले विश्लेषण भएको सुन्छु ।  हाम्रो चाहना एक सेकेन्ड पनि बिजुली नजाओस् भन्ने नै हो । बिजुली जाँदा उपभोक्तालाई समस्या पर्ने मात्र होइन, हामीलाई पनि क्षति हुन्छ, घाटा हुन्छ । तर पनि बिजुली जाँदै नजाने पूर्ण ग्यारेन्टी गर्न सकेका छैनौँ । हाम्रा पनि केही समस्या छन् ।

हाम्रा धेरैजसो ठूला प्रसारण लाइन तराई क्षेत्रबाट तानिएको छ । त्यसमध्ये अधिकांश जङ्गल क्षेत्रमा छन् । ठूलो दौडधुप र मिहिनेतले हामीले रुख कटानको अनुमति लिएर प्रसारण लाइन बनाउँछौँ । प्रसारण लाइन भएको क्षेत्र वरपरका रुखका हाँगा बढेर लाइन छुन आइपुग्छन् । ती हाँगा काट्न पनि अनुमति चाहिन्छ । प्रसारण लाइन क्षेत्रका साना पोथ्रा बढेर ठुला हुन्छन् र तारसम्मै पुग्छन् । ती रुख काट्न पनि समस्या !

केही दिनअघि हेटौँडा–पथलैया प्रसारण लाइनमा रुख बढेर तार छुने समस्या देखिएपछि हाम्रा एक जना स्टाफ रुख काट्न जानुभयो । तर उहाँलाई त्यहाँको जिल्ला वन प्रमुखले समातेर मुद्दा हाल्न ठिक पर्नुभएको रहेछ । पछि हामीले छलफल गरेर उहाँलाई मुद्दा हाल्न दिएनौँ । एउटा रुख काट्न कत्रो समस्या हुन्छ । त्यो सर्वसाधारणलाई थाहा छैन ।

हावाहुरी र चट्याङले  प्रसारण लाइन वरपर भएका रुख ढाल्ने, नुगाउने गरिरहेको छ । यसले गर्दा सर्ट भएर पनि धेरै ठाउँमा बिजुली गएको छ । तराईतिर निकै शक्तिशाली हुरी चलिरहेको छ । त्यसले हाम्रा कतिपय पोल ढालिदिन्छ । त्यो पनि हामीले तत्कालै बनाउने कोसिस गरिरहेकै हुन्छौँ । कहिलेकाहीँ चट्याङले ठाउँ ठाउँमा संरचनामा असर परेको हुन्छ । तर पनि हामीले छिटै मर्मत गरिरहेका छौँ ।

कर्मचारी चौबिसै घण्टा ड्युटीमा 

धेरै नागरिक परिवारसँगै बसिरहनुभएको छ । कोरोनाको डरले घरबाहिर निस्किनुभएको छैन । तर हाम्रा कर्मचारी चौबिसै घण्टा नागरिकको सेवामा छन् । ठूला ठूला प्रसारण लाइनमा समस्या आउँदा पनि १ घण्टाभित्रै बिजुली फेरि सञ्चालनमा ल्याउनु चानचुने कुरा होइन । रातको १२ बजे पनि हाम्रा साथीहरु फिल्डमा जान्छन् । सीमित स्रोत र साधन भएको हाम्रो देशमा ‘सिस्टम’ नै ‘कोल्याप्स’ हुँदा पनि १ घन्टाभित्रै देशैभरि बिजुली पुर्याउन सकेका छौँ । कमसेकम हाम्रा ती कर्मचारीको दुःख हेरिदिनुहोस् । तपाईंलाई जतिसक्दो छिटो बिजुली दिन रातदिन घामपानी नभनी खटिरहनुभएको छ । उहाँहरुलाई आमउपभोक्ता र ग्राहकले हौसला दिनुपर्छ ।

बिजुलीको माग घट्यो  

लकडाउनको कारण घरायसी बिजुलीको माग केही बढेपनि औद्योगिक क्षेत्रको बिजुलीको माग घटेको छ । बिजुलीको माग अहिले ३५ प्रतिशतसम्म घटेको छ । माग घट्दा प्राधिकरणको आम्दानीमा कमी आउँछ । यसले हामीलाई चिन्तित बनाएको छ । हामीले जतिसक्यो धेरै माग बढोस् भन्ने चाहेका छौँ । तर कोरोना महामारी र लकडाउनको कारण बिजुलीको माग घटेको छ ।

माग घटेकैले केही हाम्रा आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न पाएका छैनन् । पानी खेर गइरहेको छ । पानी खेर जानु भनेको बिजुली खेर जानु हो । प्राधिकरणको पैसा खेर गएको पानीमा बग्नु हो । रातको समयमा माग ५ सय मेगावाटभन्दा पनि तल पुग्छ । धेरै आयोजनाले क्षमताभन्दा कम मात्रै बिजुली निकाल्न बाध्य हुन्छन् ।

अब लोडसेडिङ भयो । तालिका निकाले बरु सजिलो हुन्थ्यो भन्नेसम्मका प्रतिक्रिया आएको मैले थाहा पाएको छु । तर हामीलाई अहिले बिजुलीको कमी छैन । कहिलेकाहीँ बिजुली जाने प्राविधिक समस्याजस्ता कुरालाई धैर्य पनि गरिदिनुपर्छ । म फेरि पनि भन्छु, हामीले लोडसेडिङ गर्नुपर्ने अवस्थामा छैनौँ । विगतमा हामीले दैनिक १८ घन्टासम्म लोडसेडिङ भोगेर आएका हौँ । अहिले हावाहुरी र चट्याङको कारण केहीबेर बिजुली जाँदा प्राधिकरणको बारेमा नकारात्मक धारणा नबनाउन म आमउपभोक्तासँग आग्रह गर्दछु ।

(कार्यकारी निर्देशक घिसिङसँग अर्जुन पोख्रेलले गर्नुभएको कुराकानीमा आधारित)

स्रोत : उज्यालो ओन्लिए