सदरमुकामदेखि १५ किमि उत्तरपूर्वमा पर्ने नौमुलेमा भइरहको जलविद्युत्को कामले चहलपहल निक्कै बढेको छ । त्यहाँका लोहोरे र द्वारीखोलामा बेग्लाबेग्लै आयोजना बन्दै छन् । ४.२ मेगावाट क्षमताको लोहोरेखोला र ३.७५ मेगावाटको द्वारीखोला आयोजनाले रोजगारीको अवसर पनि बढाएको छ ।
द्वारीखोला हाइड्रोपावर कम्पनीले पावरहाउस निर्माणसँगै पाइपलाइन खन्ने, पोल गाड्ने, डयाम बनाउने काम एकसाथ गरिहरेको छ । द्वारीखोलाबाट २६ सय मिटर लामो नहर बनाई पाइपलाइनमार्फत् १ किमि तल झारेर विद्युत् उत्पादन गर्दै छ ।
उत्पादित बिजुलीलाई सदरमुकामस्थित सब स्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । पावर हाउसबाट सब स्टेसनसम्म विद्युत् पुर्याउन ३२ पोल जोडिने कम्पनीका सञ्चालक समिति सदस्य मोहनविक्रम कार्कीले बताए । सिभिल निर्माण, हाइड्रोमेकानिकल तथा इलोक्ट्रो मेकानिकलसम्बन्धी काम एकैसाथ भएका छन्,’ उनले भने, ‘कुनै अवरोध नभए ०७४ असारसम्म निर्माण गरिसक्छौं ।’
द्वारीखोलाभन्दा तल लोहोरेखोला आयोजना बन्दै छ । यस आयोजनाले पनि नहर खन्ने, मुआब्जा वितरण गर्ने, डयाम साइट निर्माणका काम धमाधम सञ्चालन गरिरहेको छ ।
यो आयोजनाले बालुवाटार–३ स्थित लोहोरेखोलामा पदमखोलाको पानी मिसाएर १४ मिटर लामो र ४.५ मिटर अग्लो डयाम बनाई ३५ सय मिटर तलको तोली–५ भुर्सुको खरखैरनीमा खसाल्नेछ ।
त्यस्तै, माथिल्लो द्वारीखोला र चिंगाड क्षेत्रबाट बगिरहेको पराजुलखोलामा पनि आयोजना निर्माणका लागि सर्भे गर्न थालिएको छ । विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) गर्ने तयारी अन्तिम चरणमा पुगेको ती आयोजनाका प्रवद्र्धकले बताएका छन् ।
यी ४ वटै आयोजना स्वदेशी लगानीमा बन्न लागेका हुन् । आयोजनाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक सुधारमा टेवा पुर्याउने विश्वास छ ।
उता, दैलेख, सुर्खेत र अछाम जिल्लाका १२ गाविसमा पर्ने गरी विदेशी लगानीमा बन्न लागेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पीडीए भइसकेको छ । पीडीएपश्चात् प्रवद्र्धक जीएमआर कम्पनीले अन्य साझेदारहरूको खोजी गरिरहेको छ ।
स्थानीय स्तरमा विशेष गरी पश्चिम दैलेखका ६ गाविसमा कम्पनीले सामाजिक पूर्वाधारका क्षेत्रमा काम गर्नुका साथै विभिन्न संरचनाका लागि आवश्यक सर्भेहरू गरिरहेको छ । बढी प्रभावित दैलेख जिल्ला हुने भएकाले दैलेखवासीले नै आयोजनाबाट बढ्ता लाभ पाउनुपर्ने स्थानीयको माग छ ।
नौमुले क्षेत्रमा खोलापिच्छे जलविद्युत् आयोजना बन्ने भएपछि स्थानीयवासी हर्षित छन् । नौमुले दैलेखका उत्तरपूर्वी भेगका ७ गाविसको केन्द्रबिन्दु मात्र नभई जुम्ला र जाजरकोटको व्यापारिक नाका पनि हो ।
दैलेखसँग सीमा जोडिएका ती जिल्लाका स्थानीय बासिन्दा नुन, चामल, तेल, लत्ताकपडा लगायत सामग्री नौमुलेबाटै लैजान्छन् भने आफ्ना घरेलु उत्पादन यहाँ ल्याएर बिक्री गर्छन् । स्थानीय लालबहादुर खड्काले जलविद्युत्का कामले गर्दा व्यापार व्यवसाय बढेको दाबी गरे ।
‘डोजर चलेका छन् । ट्रयाक्टर, ट्रकले सामान लोड अनलोड गरिरहेका छन् । स्थानीयले पनि केही न केही सीपअनुसारको रोजगारी पाएका छन्,’ खड्काले भने, ‘हाइड्रोपावरले गर्दा यहाँ चहलपहल ह्वात्तै बढाएको छ । मोटरबाटो विस्तार गरिदिएका छन् । विकास भनेकै यही छ ।’ नौमुलेजस्तो विकट क्षेत्रमा मोटरबाटो पुग्ला भन्ने आफूले कल्पनासम्म नगरेको बताए ।
पर्यटन तथा होटल व्यवसायी रूपक थापाले ठूला आयोजनाले गर्दा विकासको चौतर्फी मार्ग प्रशस्त हुने धारणा राखे । उनले भने, ‘जिल्लाका अधिकांश खोला, नदीहरूबाट विद्युत् आयोजना बनाउन सकिन्छ । दैलेख ‘हाइड्रो हब’ बन्दै छ । त्यसैले अब लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्नुपर्छ ।’
१ सय ४५ अर्ब लागतको माथिल्लो कर्णालीदेखि लघु जलविद्युत् आयोजना निर्माण भए जिल्ला मात्र नभई सिंगो मुलुक लोडसेडिङमुक्त हुने व्यवसायीको अपेक्षा छ ।
दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापाले जिल्लालाई ‘हाइड्रो हब’ बनाउन आफूहरूले बृहत् योजना बनाउने बताए । ‘लगानीकर्तालाई जेजस्तो पनि सहयोग गर्न तत्पर छौं । यहाँ लगानीको सुरक्षित वातावरण बनाउँछौं,’ उनले भने ।
–
, दैलेखस्रोत : कान्तिपुर