तनहुँ सेतीको काममा तीव्रता

    1167

    फाल्गुन ४, २०७३- जलाशययुक्त तनहुँ सेती जलविद्युत् आयोजनाले निर्माणको कामलाई तीव्रता दिएको छ । आयोजनाले प्रारम्भिक निर्माणको काम र पक्की सडकसँगै ड्याम र विद्युत्गृहको काम थालेको जनाएको छ ।

    १ सय ४० मेगावाट क्षमताको आयोजनाले तीनवटा प्याकेज बनाएर काम थालेको हो । मुख्य सुरुङ मार्ग र विद्युत्गृह निर्माणका लागि ठेक्का प्रक्रिया थालिसकेको उपनिर्देशक लोकप्रसाद नेपालले बताए । आयोजनाले ड्याम निर्माण, पावरहाउस र प्रसारण लाइन गरी तीनवटै कामलाई समान रुपमा अगाडि बढाइएको उनले जानकारी दिए ।

    ‘ग्लोबल टेन्डरको कामसमेत सुरु भएकाले ड्याम, सुरुङ र पावरहाउसको एकैसाथ काम सुरु हुन्छ,’ नेपालले भने, ‘मुख्य काम थालेको ५ वर्षमा विद्युत् उत्पादन गर्न सक्नेछौं ।’ आगामी सन् २०२२ सम्म सेतीको बिजुली बल्ने उनले बताए । तनहुँको काहुँ शिवपुर, भिमाद, छाङ, माझकोट, रिसिङ रानीपोखरी, कोटदरबार, जामुने, साभुङभगवती र व्यास नगरपालिकाको केही स्थानमा जलाशय रहन्छ ।

    ड्याम निर्माण क्षेत्रको काम सुरु भएको साइट इन्चार्ज विदुर अधिकारीले जनाएका छन् । प्रारम्भिक निर्माणको काम र पक्की सडक बनाइरहेको आयोजनाले विद्युत्गृह र डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण पनि थालेको हो । यहाँका विस्थापित ८६ घरलाई मुआब्जा वितरण गरिसकेको उनले बताए । आयोजना बनाउँदा दमौलीदेखि भिमादसम्म डुबान पर्छ । झापुटारको पानीलाइ १ हजार २ सय मिटर लामो सुरुङ मार्ग बनाई पहराभित्रै विद्युत्गृह निर्माण गर्ने योजना छ । १ सय १२ मिटर अग्लो बाँध र १ सय २० मिटरको हेडमार्फत विद्युत् उत्पादन हुनेछ ।

    आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को तयारी गरेको छ । आयोजनाबाट उत्पादित बिजुल ३९ किमि लामो र २ सय २० केभी प्रसारण लाइनमार्फत भरतपुर सबस्टेसनमा पुर्‍याइनेछ । नेपालमा अहिलेसम्म कुलेखानी जलविद्युत् आयोजना मात्र नेपालमा जलासशयुक्त आयोजना सञ्चालनमा छ । आयोजनाले प्रारम्भिक कामकै लागि सेती नदीमा रसुवा कन्स्ट्रक्सनमार्फत ८७ मिटर लामो पुल निर्माण गरिसकेको छ । प्रारम्भिक कामअन्तर्गत आयोजनाले १ सय ५० रोपनी जमिनको मुआब्जा पनि वितरण गरिसकेको हो ।

    ५० अर्ब ५ करोड रुपैयाँ लागतको आयोजनाका लागि जापानी सहयोग नियोग जाइकाको १८.४ अर्ब, एसियाली विकास बैंकको १५ अर्ब, युरोपियन इन्भेस्टमेन्ट बैकको ८.५ अर्ब र नेपाल सरकारको झन्डै १० अर्ब लगानी रहनेछ ।

    त्रिशुली–गल्छी जलविद्युत् निर्माण वैशाखबाट
    नुवाकोट (कास)– यहाँको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना निर्माण वैशाखदेखि सुरु हुने भएको छ । आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए), वित्तीय व्यवस्थापनको काम सकिएकाले जग्गा प्राप्तिपछि छिट्टै निर्माणमा लाग्ने जनाएको हो ।

    आयोजनाको निर्माण सिद्धकाली पावर लिमिटेडले अपि पावर लिमिटेड संलग्नतामा गर्न लागेको हो । ‘वैशाखबाट निर्माणमा जुट्छौं,’ सिद्धकालीका एक्जिक्युटिभ डारेक्टर पूजा दाहाल न्यौपानेले बताइन् । उनका अनुसार आयोजनाको विस्तृत अध्ययन भई गत जेठ १२ मा प्राधिकरणसँग पीपीए भइसकेको छ । विद्युत् उत्पादनका लागि जेनेरेसन लाइसन्स पाएको आयोजनाले जग्गा प्राप्तिका लागि पहल थालेको सिद्धकालीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । ‘हामी काम गर्न आएका छौं,’ अध्यक्ष न्यौपानेले प्रशासनिक निकाय र दलका प्रतिनिधिलाई लक्षित गर्दै भने, ‘काम गर्ने वातावरण बनाइदिनुस् ।’

    आयोजनाले नुवाकोटको रातोमाटे, बुधसिङ, तारुका, खडगभन्ज्याङ र जिलिङ र धादिङको कल्लेरी गाविस प्रभावित हुनेछ । जिल्लाको रातोमाटे ८ त्रिशूली नदीमा बाँध बनाई ८ किलोमिटर लामो सुरुङबाट धादिङको कल्लेरी गाविसको हाँडीखोलाटारमा बन्ने विद्युत् गृहमा पानी खसाली बिजुली उत्पादन गरिनेछ । उत्पादित बिजुली न्यु मस्र्याङदी–काठमाडौं २ सय २० केभी लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    आयोजनाको निर्माण लागत १४ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ । हिउँदका चार महिनामा उत्पादन हुने विद्युतको बिक्री मूल्य ८ रुपैयाँ ४० पैसा र वर्षातका आठ महिनामा ४ रुपैयाँ ८० पैसा तोकिएको छ ।

    स्रोत: कान्तिपुर