कुलेखानी तेस्रोको ठेकेदारले काम थाल्यो

    1218

    फाल्गुन ४, २०७३- मकवानपुरको भैंसेस्थित सानुटारमा बन्ने कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको रोकिएको काम सुरु भएको छ । ठेक्का सम्झौताअनुसार काम नगरेर सम्पर्कविहीन जेजियाङ जिल्लुन चिनियाँ कम्पनीले आइतबारदेखि काम थालेको हो ।

    – सम्पर्कविहीन चिनियाँ कम्पनी आइतबारदेखि काममा – आयोजनाले साउनदेखि उत्पादन थाल्ने

    आयोजनाका अनुसार ठेक्का सम्झौताअनुसार काम नगरेर सम्पर्कविहीन चिनियाँ कम्पनीको प्राविधिक टोलीले आइतबारदेखि निर्माण कार्यमा जुटेको छ । चिनियाँ कम्पनीका थप प्राविधिक आएर विद्युत्‌गृहको काममा तीव्रता दिने आयोजना प्रमुख शुभासकुमार मिश्रले बताए । ‘यही गतिमा काम भए आगामी साउन महिनामा विद्युत् उत्पादन हुनेछ,’ उनले भने, ‘सिभिलतर्फको निर्माण कार्य करिब ९७ प्रतिशत सम्पन्न भइसकेको छ ।’ इलेक्ट्रोमेकानिकलको काम भने अझै धेरै बाँकी रहेको उनले बताए ।

    कुलेखानी ३ को इलेक्ट्रोमेकानिकल, हाइड्रो र प्रसारण लाइनको ठेक्का जेजियाङ जिल्लुन चिनियाँ कम्पनीले लिएको हो । पछिल्लो समयमा आगामी चैत महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने समयावधि तोकिएको थियो । ‘इलेक्ट्रो एन्ड हाइड्रोमेकानिकलको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना सम्पन्न हुन नसकेको हो,’ आयोजना प्रमुख सुभासकुमार मिश्रले भने, ‘सरकारले दबाब दिएपछि ठेकेदार कम्पनीको चीनवाट उच्चस्तरीय टोली आएर अध्ययन गरेपश्तचात् कामलाई तीव्रता दिन प्राविधिक टोली पठाएको हो ।’

    ‘विद्यतगृहमा जडान गर्ने सामानहरू आइसकेको र प्रसारण लाइनको टावर पनि निर्माण भइसकेकाले कामले अब गति लिन्छ,’ आयोजना प्रमुख मिश्रले भने ।

    साउनसम्म म्याद थप गर्न आयोजनाले प्राधिकरणसमक्ष अनुरोध गरेको छ । स्वदेशी लगानीमा बन्न लागेको यो आयोजनाको २०६४ चैतदेखि काम सुरु भएको हो ।

    स्रोत: कान्तिपुर