माथिल्लो तामाकोशीले जगाएको आशा

    1674

    माथिल्लो तामाकोशी आयोजना निर्माणपूर्व दुईवटा अध्ययनहरू भएका थिए। वि.सं. २०४१ मा जापान सरकारबाट शुरु गरिएको कोशी नदी जलस्रोत विकास गुरु आयोजनामा टिए–६ नाम दिई ११३ मेगावाट क्षताको आयोजना यसको नजिक पहिचान भएको देखिन्छ। २०५५ मा अस्ट्रेलियन नागरिक डा. किश्चियन उल्हरले रोल्वालिङ क्षेत्रको भौगर्भिक अध्ययनका सिलसिलामा रोल्वालिङ जलविद्युत् आयोजनाको नामवाट पूर्वसम्भाव्यता अध्ययन गरी जडित क्षमता १२० मेगावाट हुने र लागत प्रतिकिलोवाट ११०० अमेरिकी डलर हुने बताएका थिए। त्यसपछिको एउटा अध्ययनले २५० मेगावाट र अर्को अध्ययनले ३०९ मेगावाट क्षमताको आयोजना निर्माण हुन सक्ने देखाएको पाइन्छ। नेपाल विद्युत प्राधिकरणले २०५६ सालदेखि गहन अध्ययन थालको थियो। र, अहिले माथिल्लो तामाकोशीको क्षमता ४५६ मेगावाट तय भएको छ। आयोजना निर्माणार्थ २०६३ फागुन २५ मा अपर तामाकोशी हाइड्रो पावर लिमिटेड (युटीकेएचपीएल) स्थपना भएको छ।

    निर्माणको अन्तिम चरणमा पुगेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी अहिलेसम्मकै सर्वाधिक ठूलो आयोजना हो। नेपाल विद्युत् प्राधिकरण, सञ्चयकोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बिमा संस्थानजस्ता सार्वजनिक संस्थाहरूको ५१ प्रतिशतभन्दा अधिक लगानी रहेको छ। यस आयोजनामा स्थानीयवासी र सर्वसाधारणको समेत लगानी रहेको छ। दोलखाको लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी सम्भाव्यता अध्ययन नेपाल विद्युत् प्राधिकरणले २०५७⁄ ६० को अवधिमा गरेको थियो। २०६०⁄ ६२ को अवधिमा नर्वे सरकारको सहयोगमा विस्तृत डिजाइन र बोलपत्र तयार भएको थियो। आयोजना निर्माणार्थ २०६३ फागुन २५ मा अपर तामाकोशी हाइड्रो पावर लिमिटेड स्थापना भएको थियो। ०६७⁄ ६८ मा निर्माण शुरुवात भएको आयोजना ०७२⁄ ७३ मा पूरा गर्ने लक्ष्य रहेकोमा निर्धारित समयभन्दा दुई वर्ष विलम्ब भइसकेको छ।

    नेपाल विद्युत् प्राधिकरण, सञ्चयकोष, नेपाल टेलिकमलगायतका सार्वजनिक संस्थानहरूको लगानी ५१ प्रतिशतभन्दा अधिक लगानी रहेको सार्वजनिक निजी साझेदारी मोडलको आयोजना हो यो। आयोजना मूलतः नेपाली श्रम र प्रविधिमा निर्मित भइरहेको छ। सिभिल कार्य चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको भए तापनि नेपाली ठेकेदार हिमाल हाइड्रो पनि आयोजना निर्माणमा संलग्न छ। तामाकोशीमा लगानी पूँजीको बनावट ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर रहेको छ।

    आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, कर्मचारी सञ्चयकोषको २० प्रतिशत, दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानीकोष र राष्ट्रिय बिमा संस्थानको २⁄ २ प्रतिशत, दोलखावासी १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, ऋणप्रवाह गर्ने संस्थाहरूको ३ प्रतिशत, अपर तामाकोशी र प्राधिकरणका कर्मचारीहरूको ६ प्रतिशत स्वपूँजी रहेको छ भने सञ्चयकोषको १२ अर्ब, दूरसञ्चार कम्पनी लिमिटेडको ६ अर्ब, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको २⁄ २ अर्ब, नेपाल सरकारको ११ अर्ब ८ करोड लगानी रहेको छ।

    तामाकोशी समयमै सम्पन्न हुन्छ भन्ने विश्वास थियो। २०६७ भाद्र २७ मा शुरु भएको आयोजना २०७२ चैत्रमा पूरा गर्ने लक्ष्य तय भएको थियो। तर उक्त आशा, भरोशा र विश्वास पूरा भएन। २०७२ वैशाख १२ र २९ को महाभूकम्पले आयोजनालाई अझ विलम्ब गराइदियो। तथापि राष्ट्रिय गौरवका २१ वटा आयोजनामध्ये सबैभन्दा पहिले निर्माण सम्पन्न हुने आयोजना हो माथिल्लो तामाकोशी। स्मरण रहोस्, राष्ट्रिय गौरवका २१ वटा आयोजनाहरूमध्ये कतिपय आयोजनाहरूको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन। कतिपयको मोडालिटी चयनमै अलमल छ। कतिपयको वित्तीय व्यवस्थाको अत्तोपत्तो छैन। जबकि माथिल्लो तामाकोशी सञ्चालनको सम्मुखमा छ।

    तामाकोशी अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना हो। अहिलेसम्मकै ठूलो मानिने १ सय ४४ मेगावाट क्षमतको कालीगण्डकी परियोजनाभन्दा ३.१६ गुना ठूलो आयोजना हो। गतवर्षको फागुनसम्ममा जलविद्युत् परियोजनाबाट ९०७.६ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट गरी जडित क्षमता ९६१ मेगावाट पुगेको छ। यस हिसाबले तामाकाशी आयोजना निर्माण हुनु भनेको वर्तमान क्षमतामा ५०.२४ प्रतिशत थप हुनु हो। २०८० सम्ममा चालू ६ वटा आयोजनाहरूबाट ७४० मेगाबाट थप हुने बताइको छ। जसमा तामाकोशीको एकल हिस्सा ६१.६२ प्रतिशत छ।

    आयोजना निर्माण हुनु र किफायती लागतको आयोजना निर्माण हुनु फरक–फरक कुरा हुन्। जब किफायती मूल्यमा जलविद्युत् आयोजना निर्माण हुन सक्छ तब आयोजना अर्थपूर्ण हुन सक्छ। भौगर्भिक बनावट, जग्गा अधिग्रहण, पहुँच मार्ग र पुलपुलेसा निर्माणको अवस्थाले लागतको निर्धारण गर्दछ। यस हिसाबले माथिल्लो तामाकोशी अब्बल दर्जाको आयोजना हो। मुआब्जा र पुनर्वासको खासै समस्या झेल्नु नपरेको अवस्था छ। प्रारम्भिक अध्ययनले आयोजनाको ब्याजबाहेक प्रतिकिलोवाट १ हजार अमेरिकी डलरमा निर्माण हुने देखाएको छ। जबकि अन्य आयोजनाको न्यूनतम लागत प्रतिकिलोवाट २५ सय अमेरिकी डलरभन्दा अधिक रहेन गरेको छ। चमेलियाको लागत अहिले प्रतिमेगावाट ५० करोड रुपियाँभन्दा नाघिसकेको छ। माथिल्लो तामाकोशी आयोजना दुई–अढाइ वर्ष विलम्ब भइसकेको सन्दर्भमा लागत ५० अर्बभन्दा अधिक हुँदैन भन्ने विज्ञहरूको ठम्याइ छ। लागत वृद्धि हुँदा पनि प्रतिमेगावाट १० करोड ९६ लाखभन्दा अधिक हुँदैन।

    माथिल्लो तामाकोशी सुख्खा समयमा पनि दैनिक ४ घन्टा विद्युत् उत्पादन गर्न सकिने आयोजना हो। लामाबगरमा हजारौं वर्ष पहिले निर्मित प्राकृतिक बाँध माथिल्लो तामाकोशीको लागि प्राकृतिक वरदान साबित भएको छ। जहाँ छोटो सुरुङ मार्गबाट अग्लो वाटर हेड (८२२ मिटर ग्रेस हेड) प्राप्त भएको छ। यही छोटो सुरुङ मार्गबाट पानी खसाली ४५६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ। ड्यामको उचाइ २२ मिटर, लम्बाइ ६० मिटर रहेको छ भने २.५ किमि लामो तालमा १२ लाख घनमिटर पानी जम्मा गर्न सकिन्छ। जुन दैनिक पिकिङ जलाशयको लागि उपयुक्त हो। नदीको बहाव उतारचढाव खासै नरहेको अवस्था छ। अर्थात् हिउँदको मासिक बहाव राम्रो रहेको छ। बर्खामा नदीको बालुवा सेडिमेन्ट तुलनात्मकरूपमा न्यून रहेको छ। अधिकांश संरचना भूमिगत रहेकाले बस्ती र कृषियोग्य भूमिमा प्रभाव न्यून छ।

    सामान्यता आयोजना निर्माण हुँदा स्थानीयवासीले केही न केही त्याग गर्नुपर्छ। पुस्तौंदेखि बसोबास गर्दै आएको थातथलो गुमाउनुपर्छ। तर माथिल्लो तामाकोशी त्यसको अपवाद हो। आयोजना निर्माण हुँदा सिंगटी, लामाबगर र आसपासमा आर्थिक गतिविधि मौलाएका छन्। दोलखाको सदरमुकाम चरिकोटदेखि लामाबगर ६८ किमि सडक र थुप्रै पुलपुलेसाहरू निर्माण भएका छन्। प्रभावित क्षेत्रमा प्रवद्र्धकबाट शिक्षा, स्वास्थ्य, खानेपानी आयोजनालगायत आयआर्जनमूलक परियोजनाहरू विकास गरिएका छन्। प्रभावित क्षेत्रका प्रत्येक घरधुरीले शेयरको हिस्सा प्राप्त गर्ने भएका छन्।

    माथिल्लो तामाकोशीमा ०७३⁄ ७४ मा १ अर्ब विनियोजन भएको थियो। बजेट वक्तव्यमा माथिल्लो तामाकोशी आयोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख भएकोमा हेडबक्स र कन्सटिङको कार्य ८६.५ प्रतिशत, मुख्य सुरुङ खन्ने कार्य ८५.८ प्रतिशत, ट्रान्सफरमर क्याभर्न कनक्रेट कार्य ९४.३ प्रतिशत पूरा भएको थियो। चालू आ.व.मा ५० करोड विनियोजन भएको छ। वार्षिक विकास कार्यक्रमअन्तर्गत (रातो किताब) सिभिल निर्माण कार्य, प्रसारण लाइन निर्माण गरिने उल्लेख छ। त्यस्तै चौधौं योजनाकालमा (७३⁄ ७४–७५⁄ ७६) माथिल्लो तामाकोशी पूरा हुने उल्लेख छ।

    २०७१ चैत्रसम्ममा ७९ प्रतिशत कार्य पूरा भएको थियो। २०७२ वैशाख १२ र २९ को महाभूकम्पका कारण आयोजनामा अवरोध पैदा भए तापनि ०७३⁄ ७४ सम्ममा ८७ प्रतिशत कार्य पूरा भएको छ। हालसम्म विद्युत् गृह, मुख्य टनेल र बाँध निर्माण भइसकेको छ। टर्बाइन, प्रसारण लाइन, सिभिल, हाइड्रो मेट्रोलोजी मेकानिकल, इलोक्ट्रोनिक्स, सब स्टेसनको कार्य छुट्टाछुट्टै अघि बढिरहेको छ। ३ सिफ्टमा कार्य हुँदा हालसम्ममा ९० प्रतिशत कार्य पूरा भएको छ। उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न खिम्ती सबस्टेसनसम्म २२० केभीए प्रसारण लाइनको कार्य भइरहेको छ। २०७५ असारसम्ममा पहिलो युनिटबाट विद्युत् उत्पादन हुने र २०७५ पुसदेखि पूरै युनिटबाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। माथिल्लो तामकोशी अधिकतम स्वदेशी सीप र श्रम उपयोग भएको आयोजना मात्र होइन, पूर्णतया स्वदेशी वित्तीय साधन उपयोग भएको आयोजना पनि हो। यो आयोजना निर्माण सम्पन्न भएपछि नेपालको लोडसेडिङ मात्र अन्त्य हुनेछैन कि भारतबाट विद्युत् आयात गर्ने कुरा पनि इतिहास बन्नेछ।

    ढुनबहादुर बुढाथोकी