आयोजनाहरूको विद्युत् उत्पादन बढ्यो

    1244

    • – ‘हिउँ र पानी परेका कारण नदीमा पानीको बहाव बढ्यो’
    • – ८० प्रतिशतसम्म उत्पादन घटेकामा साँझबिहान पूर्ण क्षमता

    वैशाख १९, २०७४- नदीमा पानीको बहाव बढेसँगै राष्ट्रिय प्रसारणमा जडित आयोजनाहरूका विद्युत् उत्पादन बढ्न थालेको छ । हिउँदमा ८० प्रतिशतसम्म उत्पादन घटेका विद्युत् आयोजनाहरूबाट हाल साँझ–बिहान पूर्ण क्षमतामा उत्पादनमा हुन थालेको छ ।

    ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन माघ–फागुनमा औसतमा २८ मेगावाटसम्म झरेको थियो । आयोजनाले कम्तीमा २० मेगावाट उत्पादन गरेको थियो । हाल बढेर औसत ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको मध्यमस्र्याङदी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार साँझबिहानको समय पूर्ण क्षमता (७० मेगावाट) विद्युत् उत्पादन हुँदै आएको छ । ‘हिउँ र पानी परेका कारण नदीमा पानीको बहाव बढ्यो । विद्युत् उत्पादन पनि बढदै गयो,’ उनले भने ।

    यसै आर्थिक वर्षदेखि विद्युत् उत्पादन थालेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजना पनि साँझबिहान कहिलेकाहीँ पूर्ण क्षमतामा उत्पादन हुन थालेको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीका अनुसार हिउँदको समय २५ मेगावाटसम्म उत्पादन झरेकामा हाल बढेर ४० मेगावाट पुगेको छ । ‘२/३ सातादेखि विद्युत् उत्पादन बढ्दै गएको छ,’ उनले भने ।

    नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार जिल्लामा सानाठूला ७ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् । यसको कुल क्षमता १३५.५८ मेगावाट छ । प्राधिकरणका इन्जिनियर सचेन्द्रकुमार कर्णका अनुसार हाल ८८.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । हिउँदको समय ६५ मेगावाटसम्म विद्युत् उत्पादन झरेको थियो । हिमनदी भएकाले मस्र्याङ्दीको पानी प्रयोग हुने आयोजनामा उत्पादन बढेको छ । खहरे खोलाको पानी प्रयोग भएका साना आयोजनाको उत्पादन धेरै बढेको छैन ।

    कुल १५.५८ मेगावाटका साना आयोजनाबाट हाल ६.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ‘यसपटक हिउँदयाममा ५ मेगावाटसम्म झर्‍यो,’ उनले भने, ‘गत वर्ष ४ मेगावाटसम्म झरेको थियो ।’ जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको खुदी, ४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङी र १८३ किलोवाटको स्याँगे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् ।

    स्रोत: कान्तिपुर