०७४ मा लोडसेडिङ अन्त्य हुने उर्जामन्त्रीको दाबी

    1404

    उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वर्ष विद्युत् भार कटौती (लोडसेडिङ) आधारभूत रूपमा घट्ने र ०७४ देखि पूर्णरूपमा अन्त्य हुने बताएका छन् ।

    infogrphs-hydro

    लोडसेडिङ अन्त्यका लागि आवश्यक पूर्वाधार तयार भइरहेकाले आगामी वर्षदेखि ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव देखिने उनले बताए । “आगामी वर्ष ५ घण्टाहाराहारी लोडसेडिङ हुनेछ,” उनले भने, “अर्को वर्ष पूर्णरूपमा अन्त्य हुने गरी काम सुरु भइसकेको छ ।”

    माघ र फागुनमा पाँच घण्टा लोडसेडिङ हुने र वर्षातमा लोडसेडिङ हट्ने उनले बताए । शनिबार रिपोर्टर्स क्लबमा रायमाझीले केही वर्षपछि नेपाल ऊर्जा उत्पादन बढाएर लोडसेडिङ अन्त्यका अतिरिक्त निकासी गर्ने सामर्थ्यमा पुग्ने दाबी गरे ।

    सरकारले ऊर्जा संकट निवारण तथा १० वर्षे विद्युत् विकास अवधारणा कार्यान्वयनमा ल्याइसकेको जानकारी उनले दिए । “ऊर्जा समस्या समाधान गर्न केही वर्ष भारतमा निर्भर रहनुपर्ने अवस्था छ,” रायमाझीले भने, “त्यसपछि उत्पादन बढाएर निकासी गर्ने अवस्थामा पुग्नेछौं ।”

    उनका अनुसार भारतबाट विद्युत् आयात बढाउन ढल्केबर–मुज्जफपुर, कुसाह–कटैया र परावनीपुर–रक्सौलका प्रसारणलाइनको क्षमता बढाउने गरी काम सुरु हुँदै छ । नेपालमा जलविद्युत् उत्पादन भएको शताब्दी बितिसक्दा पनि विकास गर्न नसक्दा देश चरम ऊर्जा संकटमा फसेको रायमाझीको तर्क थियो ।

    छ्याङ्दी खोलाबाट विद्युत् उत्पादन    

     लमजुङको फलेनी गाविसमा सम्पन्न दुई मेगावाट क्षमताको छ्याङ्दी खोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरिएको छ । आयोजनाको उद्घाटन उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गरेका हुन् । आयोजना छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । आयोजनाले फागुन २३ देखि विद्युत् उत्पादन थालेको हो । आयोजना बनाउन ४० करोड रुपैयाँ खर्च भएको छ ।

    भारतबाट आयात गरेरमात्र सम्भव

    आगामी वर्ष सरकारले भारतबाट ५८० मेगावाट बिजुली आयात गर्ने योजना बनाएको छ । सीमा क्षेत्रका विभिन्न प्रसारणलाइनबाट ३०० मेगावाट बिजुली आयात भइरहेको छ । आगामी वर्ष प्रसारणलाइन संरचनाको क्षमता बढाएर थप २८० मेगावाट बिजुली आयात गर्ने तयारी ऊर्जा मन्त्रालयको छ । आगामी वर्ष जलविद्युत्लगायत अन्य वैकल्पिक ऊर्जाबाट गरी आन्तरिक स्रोतबाट १ हजार ६७ मेगावाट उत्पादन गर्ने र ५८० मेगावाट भारतबाट आयात गर्दा कुल आपूर्ति १ हजार ५६७ मेगावाट पुग्नेछ । यस्तै, माग १ हजार ४२३ मेगावाट पुग्ने अनुमान गरिएको छ ।

    वर्षात्को लोडसेडिङ पूर्ण अन्त्य भई हिउँदमा ६ घण्टासम्म हुने ऊर्जा मन्त्रालयको प्रक्षेपण छ । वर्षात्मा नहुने र सुख्खामा धेरै कम हुने भएपछि सरकारले आधारभूत रूपमा आगामी वर्ष लोडसेडिङ हट्ने दाबी गरेको हो । भदौसम्म भूकम्पबाट क्षतिग्रस्त ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायत अन्य आयोजनाको पुनर्निर्माण सम्पन्न हुनेछ ।

    यस्तै, ०७४ मा विद्युत्को माग बढेर १ हजार ५५० मेगावाट पुग्ने प्रक्षेपण ऊर्जाको छ । भारतबाट ९३० मेगावाटसम्म बिजुली आयात गरेर सुख्खायाममा हुने लोडसेडिङ पनि अन्त्य हुने अनुमान गरिएको छ । ०७४ मा बिजुलीको आपूर्ति बढेर १ हजार ८५० मेगावाट पुग्नेछ । भारतीय राजदूत रणजित रायले अल्पकालमा नेपालको लोडसेडिङ अन्त्य गर्न भारतले ९४० मेगावाटसम्म बिजुली उपलब्ध गराउने प्रस्ट पारिसकेका छन् ।

    विद्युत् माग र आपूर्ति अवस्था

    २०७२
    कुल माग : १३९१ मेगावाट
    आर्पूति भारतबाट समेत : ८०० मेगावाट
    भारतबाट आयात ३०० मेगावाट
    आन्तरिक उत्पादन ५०० मेगावाट
    लोडसेडिङ दैनिक : १४ घण्टा

    २०७३
    कुल माग : १,४२३ मेगावाट
    कुल आपूर्ति : १,५६७ मेगावाट
    भारतबाट आयात : ५८० मेगावाट
    आन्तरिक उत्पादन सौर्य तथा वायु ऊर्जासमेत गरी : १,०६७ मेगावाट
    लोडसेडिङ : बढीमा ६ घण्टा

    २०७४
    कुल माग : १,५५० मेगावाट
    आपूर्ति : १,८५० मेगावाट
    भारतबाट आयात : ९३० मेगावाट
    लोडसेडिङ : शून्य

    स्रोत : १० वर्षे जलविद्युत् विकास अवधारणापत्र

    स्रोत : कारोबार