४० मेगावाट बिजुली थपियो

    2512

    लमजुङ भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युतले शुक्रबारदेखि पूर्ण क्षमतामा (५० मेगावाट) विद्युत् उत्पादन थालेको छ । यस्तै पाँचथर सदरमुकाम फिदिम नजिकै हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाबाट १५ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।

    पुस ९, २०७३- भुलभुलेस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले शुक्रबारदेखि पूर्ण क्षमतामा (५० मेगावाट) विद्युत् उत्पादन थालेको छ । राष्ट्रिय प्रसारण लाइनमा गत कात्तिक १९ देखि २५ मेगावाट आपूर्ति गरिरहेको आयोजनाले डेढ महिनापछि शुक्रबार थप २५ मेगावाट बढाएको हो । उत्पादित विद्युत् एक सातापछि नेपाल विद्युत् प्राधिकरणको ‘मिटरिङ युनिट’ मा जडान गरिने आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले बताए । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि आयोजनाको युनिट ‘२’ बाट पनि उत्पादन थालिएको हो ।

    यसअघि युनिट ‘१’ बाट २५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । ‘हामीले ५० मेगावाट विद्युत् उत्पादन सुरु गर्‍यौं । पूरै क्षमतामा विद्युत् उत्पादन गर्दा पानी नपुग्दो रहेछ,’ उनले भने, ‘अहिले दुवै टर्बाइनबाट मिलाएर ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।’ उनले एक सातासम्म विद्युत् प्राधिकरणलाई ‘फ्री विद्युत्’ दिने बताए ।

    उनका अनुसार प्राधिकरणको निर्देशनअनुसार विद्युत् उत्पादन थपघट भइरहन्छ । ‘प्राधिकरणले आफ्नो आवश्यकताअनुसार हामीलाई निर्देशन गर्छ । हामीले पानी हेरेर विद्युत् उत्पादन गर्ने हो,’ उनले भने । आयोजना स्रोतका अनुसार यसअघि नै विद्युत् उत्पादन गर्ने भनिए पनि प्राधिकरणले समय नदिएकाले उत्पादनमा ढिलाइ भएको हो ।

    माथिल्लो मर्स्याङ्दी ‘ए’ द्वारा उत्पादित विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र (७० मेगावाट) को ‘स्विच’ मा जडान गरिएको छ ।

    माथिल्लो मर्स्याङ्दी ‘ए’ ले प्राधिकरणको सुपरिभिजन र व्यवस्थापनमा आफैंले ३५ करोड लगानी गरी २० किमिको १ सय ३२ केभीएको ‘सिंगल सर्किट’ प्रसारण लाइन निर्माण गरेको थियो ।

    अहिले मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम हुँदै गएकाले माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट उत्पादित विद्युत् पनि तनहुँको आँबुखैरनीस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्र (६९ मेगावाट) मा ‘एड’ हुन सकेको प्राधिकरण स्रोतले बताएको छ ।

    मर्स्याङ्दीमा ‘स्विच एड’ हुन समस्या हुने भएपछि यसअघि लमजुङमा उत्पादित करिब १५ मेगावाट विद्युत्लाई १३२ केभीबाट झिकेर प्राधिकरणको उदिपुर सबस्टेसनबाट ३३ केभीमार्फत दमौलीतर्फ पठाइएको थियो । माथिल्लो मर्स्याङ्दी ‘ए’ आयाजनाले गत असोज १० देखि व्यावसायिक उत्पादन सुरु भएको घोषणा गरी काठमाडौं र आयोजनास्थलमा एक भव्य कार्यक्रमको आयोजना गरेर आयोजनाको उद्घाटन गरेको थियो ।

    चीनको पावर चाइना रिसोर्सेस लिमिटेड (सिनो हाइड्रो रिसोर्सेस) र चितवन को–ई समूह (सगरमाथा पावर कम्पनी) द्वारा १६ अर्ब रुपैयाँको लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना २०५२ मा अमेरिकी डलरमा प्रतियुनिट ५ दशमलव ९ सेन्टमा पीपीए भएको थियो । सन् २०१३ को जनवरीदेखि सुरु गरिएको उक्त आयोजनाको बाहुनडाँडा र भुलभुलेको सीमा क्षेत्र मर्स्याङ्दी र ङादी दोभानमा बाँध बनाइएको छ । ५ दशमलव ३ किमि सुरुङ निर्माण गरी भुलभूले ३ को मर्स्याङ्दी नदी किनारमा विद्युत् गृह निर्माण गरेर विद्युत् उत्पादन गरिएको छ ।

    हेवाखोलाबाट १५ मेगावाट

    सदरमुकाम फिदिम नजिकै निर्माणाधीन हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गरेको छ । चार वर्षअघि निर्माण थालिएको माथिल्लो हेवाखोलाबाट १५ मेगावाट क्षमताको विद्युत् उत्पादन भएको हो ।

    पाँचथरको भारपा र याङनाम गाविसको सिमाना हुँदै बग्ने हेवाखोलाबाट उत्पादित १५ मेगावाट विद्युत् परीक्षण प्रसारण सफल भएको उत्पादक पााचथर पावर कम्पनी (पीपीसी) ले जनाएको छ । कम्पनीले हेवाखोला विद्युत् गृहदेखि फिदिमस्थित थापाटारसम्म १३ किलोमिटर प्रसारण लाइन विस्तार गरी थापाटारमा निर्मित सबस्टेसन गृहमा विद्युत् जडान गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए ।

    पाँचथर पावर कम्पनीद्वारा उत्पादित विद्युत् काबेली करिडोर १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य रहे पनि काबेली करिडोर आयोजना निर्माण पूरा नभएकाले ३३ केभी प्रसारण लाइनबाट पााचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, धनकुटालगायत पूर्वी क्षेत्रमा उपभोक्तालाई वितरण गर्ने तयारी भइरहेको प्रबन्ध निर्देशक ढुंगानाले बताए ।

    आयोजनाले पाँचथरको थापाटार स्टेसनमा विद्युत् लाइन जडान गरे पनि सबस्टेसनको ट्रान्सफर्मर उपकरण रिचार्ज गर्न कठिन भएको बताए । उनले विद्युत् व्यापार विभागमा आयोजना पूरा भएको जानकारी गराइसकेको भए पनि चसो नदिएको गुनासो गरे ।

    तर, विद्युत् प्राधिकरण काबेली करिडोर आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले ट्रान्सफर्मर चार्ज नहुनुमा आफ्नो कमजोरी नभएको दाबी गरे ।

    उनले विद्युत् खरिद व्यापार विभाग, उत्पादक पाँचथर पावर कम्पनी, काबेली करिडोर आयोजनाबीच सम्झौताबमोजिम हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले थापाटार सबस्टेसन मर्मतसम्भार नगरेको र स्विचयार्डमा छुट्टै अर्थिङ नजोडेको आरोप लगाए । झापाको लखनपुरदेखि इलामको गोदक पााचथरको थापाटार हुादै अमरपुरसम्म ९० किलोमिटर काबेली करिडोर १ सय ३२ केभी केन्दीय प्रसारण लाइन समयमा पूरा नहुँदा माथिल्लो हेवाखोलाबाट उत्पादित विद्युत् खेर जाने अवस्थामा रहेको पाँचथरका भूपू सांसद वसन्तकुमार नेम्बाङले बताए ।

    उनले काबेली करिडोर आयोजना पूरा नभएपछि पाँचथरको थापाटार सबस्टेसनमा ३३ केभी लाइनबाट ११ केभीमा परिणत गरी विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जडान गर्न लागेको बताए । पाँचथर पावर कम्पनीद्वारा प्रवद्र्धित हेवाखोला जलविद्युत् आयोजना २ अर्ब ५० करोड रुपैयाामध्ये सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

    विद्युत् उत्पादनबाट प्रवद्र्धक कम्पनीलाई राम्रो मुनाफा आर्जन हुने भए पनि काबेली करिडोर आयोजना समयमा पूरा नभएसम्म वार्षिक १५ देखि २० करोड रुपैयाँ घाटा हुने बैंकहरूले जनाएका छन् । प्राधिकरणको ११ केभी प्रसारण लाइनबाट वितरण गर्दा १५ मेगावाट विद्युत्मध्ये ७ मेगावाट मात्र खपत हुने भएकाले त्यसबाट हुने घाटा नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नुपर्ने प्रवद्र्धक कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए ।

    सरकारको नीतिगत, प्रक्रियागत समस्या, भारतीय ठेकेदार कम्पनी जग्वर एन्ड एस्तर संयुक्त कम्पनी, प्राधिकरणका कर्मचारीको ढिलासुस्ीत र स्थानीय प्रशासनको समन्वय अभावका कारण स्थानीयवासीको अवरोधले निर्माणाधीन काबेली करिडोर आयोजनाको निर्माण कार्य पूरा हुन सकेको छैन । निर्माणाधीन काबेली करिडोर आयोजनासित स्थानीयवासीले जग्गाको मआब्जा, क्षतिपूर्ति, विस्थापितहरूको पुनर्वास, पुन:स्थापना कार्यक्रम प्रभावकारी कार्यान्वयन, रोजगारी, प्रसारण लाइनको रुट परिवर्तनलगायत विभिन्न माग गर्दै आएका छन् ।

    – कान्तिपुर