नौ जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउँदै प्राधिकरण

    1405

    नेपाल विद्युत् प्राधिकरणले नौ जलाशय र नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरूको अध्ययन अघि बढाएको छ ।

    प्राधिकरणमार्फत ४ र सहायक कम्पनीमार्फत दुई जलविद्युत् आयोजनाको निर्माण कार्यअघि बढाएको प्राधिकरणले ती आयोजनाको समेत अध्ययन अघि बढाएको हो ।

    ८७ मेगावाटको तामाकोसी भी, १८ मेगावाटको क्यासेटसहित ६० मेगावाटको अपर मोदी ए, ८५ मेगावाटको माथिल्लो भेरी र ३३५ मेगावाटको माथिल्लो अरुणसँगै ७६२ मेगावाटको तमोर, ३ सय मेगावाटको उत्तरगंगा, १४० मेगावाटको चैनपुर सेती, १८० मेगावाटको आँधीखोला र ३ सय मेगावाटको दुधकोसी जलाशययुक्त आयोजनाको अध्ययन अघि बढाएइको छ ।

    विद्युत् प्राधिकरण इन्जिनियरिङ निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्माले नौ जलविद्युत् आयोजनाको अध्ययन कार्यअघि बढाइएको जानकारी दिए । “विभिन्न नौ जलाशय र आरओआर आयोजनाहरूको अध्ययन कार्य विभिन्न चरणमा पुगेका छन्,” उनले भने ।

    प्राधिकरण तामाकोसी भी को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ भने तमोर जलाशययुक्त आयोजना कसरी अघि बढाउने भन्नेमा अन्योल छ ।

    प्राधिकरणले विद्युत् विभागसँग ७६२ मेगावाट अघि बढाउनका लागि भन्दै निवेदन दिएकोमा ३७.६ मेगावाटको काबेली र २१.६ मेगावाटको तल्लो हेवा डुब्ने भन्दै ३ सय मेगावाटको मात्र अनुमतिपत्र दिएको छ ।

    प्राधिकरणले गरेको अध्ययनले ३ सय मेगावाटमा बनाउन उपयुक्त नहुने प्रतिवेदन दिइसकेको छ । प्राधिकरणकै अधिकारीहरू ३ सय मेगावाटमा बनाउँदा ४ सय मेगावाटभन्दा बढी बिजुली खेर जाने तथा ३ सय मेगावाटमा बनाउनु प्राविधिक रूपमा समेत असम्भव भएकाले यसलाई ७६२ मेगावाटमै बनाउनु पर्ने बताइरहेका छन् । ७६२ मेगाावाटमै प्राधिकरणले अध्ययन गरिरहेको छ ।

    उत्तरगंगा, आँधीखोला, चैनपुर सेती, माथिल्लो भेरी, अपरमोदीलगायतका आयोजनाहरूको सम्भाव्यता अध्ययन प्राधिकरण आफैंले अघि बढाउन लागेको छ ।

    प्राधिकरणका अनुसार अपरअरुणको अध्ययनको काम विश्व बैंकको सहायतामा अघि बढाउन लागिएको छ । आयोजनाका लागि परामर्शदाता छनोटको कार्य अन्तिम चरणमा पुगेको छ । 

    दुधकोसी आयोजनाको डीपीआरका लागि जापानको न्यूजेकसँग आबद्ध इटलीको ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएलाई ३० महिनाभित्र अध्ययन पूरा गर्ने गरी परामर्शदाताको रूपमा नियुक्त गरी काम अघि बढाइसकेको छ ।

    प्राधिकरणले हाल १४ मेगावाटको कुलेखानी तेस्रो जलाशय तथा ३० मेगावाटको चमेलिया, ६० मेगावाटको त्रिशूली ३ ए र ३२ मेगावाटको राहुघाटको निर्माण कार्यअघि बढाएको छ भने सहायक कम्पनीमार्फत माथिल्लो तामाकोसी र तनहुँ जलविद्युत् आयोजनाको काम अघि बढेको छ ।

    प्राधिकरणको सहायक कम्पनी चिलिमेले समेत सहायक कम्पनीमार्फत रसुवागढी, भोटेकोसी, र साञ्जेन जलविद्युत् आयोजना अघि बढाएको छ ।

    प्राधिकरणले चार जलविद्युत् आयोजना अघि बढाएकोमा सबै आयोजनाको निर्माणमा ढिलाइ भइरहेको छ भने अन्य आयोजना निर्माण सुरु गर्न सकेको छैन । प्राधिकरणका अधिकारीहरू सानाभन्दा मझ्यौला र ठूला आयोजना निर्माणमा प्राधिकरणले हात हाल्नुपर्ने बताउँछन् ।

    अध्ययन अगाडि बढाउन लागिएका आयोजनाहरु

    आयोजनाको नाम                        क्षमता (मेगावाट)
    तामाकोसी भी                                    ८७
    अपरमोदी ए                                      ६०
    माथिल्लो भेरी                                    ८५
    माथिल्लो अरुण                                 ३३५
    तमोर                                                ७६२
    उत्तरगंगा                                           ३००
    आँधीखोला                                        १८०
    दुधकोसी                                          ३००
    चैनपुर सेती                                       १४०
    स्रोत : नेपाल विद्युत् प्राधिकरण

    स्रोत : कारोबार