माछापुच्छ्रे र एनएमबी बैंकको ६ अर्ब लगानीमा ५४ मेगावाटको कलङ्गा जलविद्युत् आयोजना निर्माण हुने

    1643
    माछापुच्छे« बैंक र एनएमबी बैंकले ५४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
    बझाङ जिल्लाको कलङ्गा खोलामा निर्माण हुने ३८.४ र १५.३ मेगावाट क्षमताका कलङ्गा आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । माछापुच्छे«ले ३८.४ मेगावाट र एनएमबीले १५.३ मेगावाटको कलङ्गा आयोजनामा सहवित्तीयकरणअन्तर्गत नेतृत्व गरेर लगानी गर्दैछन् । सानिगाड हाइड्रोले ३८.४ मेगावाट र कलङ्गा हाइड्रोले १५.३ मेगावाटका आयोजना बनाउने तयारी छ । दुवै आयोजनाका प्रवद्र्धक तथा माछापुच्छे« र एनएमबीबीच सोमबार ऋण लगानी सम्झौता हुँदैछ ।
    ३८.४ मेगावाटको आयोजनामा माछापुच्छे« बैंकको अगुवाइमा अन्य बैंकको सहवित्तीयकरणमा साढे ४ अर्ब रुपैयाँ र १५.३ मेगावाटको आयोजनामा एनएमबीको अगुवाइमा २ अर्ब १० करोड रुपैयाँ ऋण लगानी हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत पुष्प चित्रकारले बताए । उनका अनुसार ठूलो आयोजना २०७७ साउन र सानो आयोजना २०७६ भदौमा सम्पन्न हुनेछ । ३८.४ मेगावाटको आयोजना बनाउन ६ अर्ब रुपैयाँ र सानो योजना बनाउन २ अर्ब ८० करोड रुपैयाँ लाग्नेछ ।
    नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको उनले जानकारी दिए । चित्रकारका अनुसार वर्षा सकिएपछि आयोजनाको सिभिल निर्माणको काम सुरु हुनेछ ।
    स्रोत : बाह्रखरी