काबेली करिडोरमा अवरोधले ढिलाइ

    2237

    पुस १८, २०७३- नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन काबेली करिडोर १३२ केभी राष्ट्रिय प्रसारण लाइन विस्तार स्थानीय अवरोधले निर्माणमा ढिलाइ भएको छ ।

    प्रसारण लाइनमा पर्ने इलाम, पाँचथर, तेह्रथुमका बासिन्दाले जग्गाको मुआब्जा, पुनर्बास, रोजगारी, क्षतिपूर्तिलगायतको माग गर्दै अवरोध पुर्‍याएका हुन् ।

    पूर्वी पहाडी जिल्लामा उत्पादित जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्रसारणमा जडान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त आयोजना समयमा पूरा नहुँदा नवनिर्मित १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् खेर गइरहेको छ । झापाको दमकदेखि इलाम हुँदै पाँचथरको अमरपुरसम्म ९० किलोमिटर करिडोर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो । फिदिम नगरपालिका ४ थापाटारमा १३२ केभी क्षमताको विद्युत् सबस्टेसन निर्माण भए पनि इलामदेखि पाँचथर खण्डमा हाइटेन्सन टावर र तार टाँग्ने कार्य पूरा भएको छैन ।

    इलामको गोदकदेखि पाँचथरको अमरपुरसम्म १ सय २३ वटा हाइटेन्सन टावरमध्ये ३१ वटा मात्र निर्माण भएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । उनले २७ वटा टावर निर्माणाधीन र २५ वटा टावरको जग खाल्डो खन्ने कार्य भइरहेको बताए । इलामको सिद्धिथुम्का, पाँचथरको जोरसाल आसपासको क्षेत्रमा स्थानीयबासीको अवरोधले टावर निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख इन्जिनियर द्विवेदीले स्विकारे । लामको सिद्धिथुम्का, सोयाक, मंगलबारे, फाक्फोक, पाँचथरको पौवासार्ताप, इम्बुङ, नवमीडाँडा, फिदिमको जोरसाल, चोकमागु, शिवा, भारपा र सुभाङ गाविसको विभिन्न ठाउँमा स्थानीयको अवरोध कायमै छ ।

    विवादित क्षेत्रबाट रुट परिवर्तनका लागि सिफारिस गरे पनि विभागबाट स्वीकृत आइनसकेको द्विवेदीले जनाए । पाँचथरमा ८६ घरमध्ये ३७ घरपरिवारलाई जग्गाको मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन करिडोर आयोजना भारतीय कम्पनी जग्वर ओभरसिज र एस्तर जेभी प्रालि संयुक्त कम्पनीलाई ठेक्का दिएको छ । विद्युत् प्राधिकरण र जग्वर एन्ड एस्तर कम्पनीबीच सम्झौताअनुसार तीन वर्षमा पूरा गनुपर्ने पाँच वर्ष बितिसक्दा पनि पूरा भएको छैन । इलामको सिद्धिथुम्कालगायत विभिन्न ठाउँमा ६४ वटा, पाँचथरमा ७४ वटा र तेह्रथुममा १४ वटा टावर निर्माण गर्नुपर्नेछ ।

    झापादेखि पाँचथरसम्म २ सय ५८ वटा टावरमध्ये झापामा ११ वटा, इलाममा एक सय ५९ वटामध्ये इलामको गोदकसम्म ३४ किलोमिटर प्रसारण लाइनमा ९५ वटा हाइटेन्सन टावर र सबस्टेसन निर्माण गरी इलाममा उत्पादित ४७ मेगावाट जलविद्युत् समावेश गरिसकिएको आयोजनाका इन्जिनियर हेमराज वान्तावाले बताए ।

    स्रोत:कान्तिपुर