माथिल्लो तामाकोशीको प्राथमिक शेयर भदौ १४ गतेसम्म खुला

    1304

    श्रावण १६, २०७५ – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका बासिन्दाका लागि छुट्याएको १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर आइपिओ आज खुला गरेको छ । आयोजनाका अनुसार दोलखाबासीका लागि छुट्याइएको १० प्रतिशत शेयरका लागि स्थानीयले भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    आयोजनाले दोलखाका बासिन्दालाई अतिप्रभावित, प्रभावित र सामान्य गरी क, ख र ग वर्गमा विभाजित गरी सोहीअनुसार शेयर वितरण गर्ने निर्णय गरेको छ । आयोजना प्रभावित क्षेत्रको वर्गीकरणका आधारमा दोलखाबासीले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्म शेयर आवेदन दिन पाउनेछन् । तामाकोसीको शेयर दोलखाको स्थानीय तहमा भएका २१ वटा बैंकका शाखाहरुले संकलन गर्ने बताइएको छ । बैंक नभएको स्थानमा घुम्ती शिविरमार्फत पनि सेयर आवेदन गरिने पूर्ववत निर्णयलाई कायमै राखिएको छ । दोलखाको लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको आयोजना बढीमा एक बर्षभित्र पूरा हुने पछिल्लो अनुमान छ । स्वदेशी पुँजीमा ३५ अर्ब २९ करोड लगानीको अहिलेसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोसीले लगानीको सुनिश्चिता गर्ने क्रममा दोलखाबासीलाई १० प्रतिशत शेयर छुट्याएको थियो । दोलखाबासीपछि सो आयोजनाले सर्वसाधारण नेपालीबाट १५ प्रतिशत संकलन गर्ने जनाएको छ । यसअघि सञ्चयकर्ता, निजामती कर्मचारी र शिक्षकहरुबाट पनि शेयर संकलन गरिएको थियो ।

    स्रोत:कान्तिपुर