उद्योगलाई बिजुली २४ सै घण्टा, मूल्य दोब्बर

    1220

    ” 24 hr electricity supply to industrial enterprises at double price”

    १३ कात्तिक, काठमाडौं ।

    NEA_Board_all नेपाल विद्युत प्राधिकरणले उद्योगका लागि चौबिसै घन्टा गुणस्तरको विद्युत आपूर्ति गर्ने विशेष योजना कार्यान्वयनतर्फ अघि बढाएको छ । अरुसँग सेयरिङ्ग नगरी तोकिएको गुणस्तरको विद्युत निरन्तर उपलब्ध गराउने ‘डेडिकेटेड फिडर’ को व्यवस्था लागू गर्ने प्रक्रियामा प्राधिकरण अघि बढेको हो ।

    ६० मेगावाट विद्युत डेडिकेटेड फिडरको लागि व्यवस्था गर्ने र त्यसको मूल्य सामान्य विद्युतको तुलनामा करिब दोब्बर हुने विश्लेषणा प्राधिकरणका अधिकारीले गरेका छन् । ऊर्जा संकटले समस्यामा परेका उद्योगका लागि उक्त निर्णयले राहत प्रदान गर्नेछ ।

    ‘प्रस्तावित डेडिकेटेड फिडरमार्फत २४ सै घण्टा उपलब्ध गराउनका लागि प्राधिकरणले अहिले लगभग ६० मेगावाट विद्युत व्यवस्थापन गर्न सक्ने भएकाले त्यसको मूल्य बजारको माग र आपूर्तिका आधारमा तय हुनेछ’, प्राधिकरण आर्थिक विश्लेषण शाखाका निर्देशक जयेन्द्र श्रेण्ठले बताउनु भयो ।

    ‘तर त्यसरी तय हुने मूल्य अहिलेको मूल्यको दोब्बर भन्दा बढी हुने छैन र उद्योगीहरुले प्रस्ताव गरेको मूल्यहरुको औसतका आधारमा बजार मूल्य तय हुनेछ,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसैले उद्योगहरुको तत्परता -माग) र उपलब्ध आपूर्तिले नै विद्युतको मूल्य तय हुने होे ।’

    यो विषयमा टुङगो लगाउनुपर्ने प्राविधिक विषय धेरै भए पनि २/३ महिनामा सबै काम सिध्याएर विद्युत वितरण शुरु गर्ने गरी तयारी गरेको श्रेष्ठको भनाइ थियो ।

    प्राधिकरणले डेडिकेटेड लाइन लिन इच्छुक उद्योगबाट आसय पत्र आह्वान गर्दै हालै सार्वजनिक सूचना प्रकाशन गरेको छ । यस सम्बन्धमा नेपाल उद्योग परिसंघले मंगलबार नेपाल विद्युत प्राधिकरणका अधिकारीसँग छलफल गरेको छ ।

    परिसंघ उपाध्यक्ष हरिभक्त शर्माले तत्काल ऊर्जा संकटले चरम समस्यामा परेका कारण उद्योगीहरुले बिनाविश्लेषण महँगो शुल्क प्रस्ताव हाल्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसले भविष्यमा अर्को समस्या ल्याउन सक्नेतर्फ सचेत पार्नुभयो ।

    ‘अहिले ऊर्जा संकटका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भएको अवस्थामा उद्योगीहरुले उच्च मूल्य तिरेर भए पनि लिने मनसाय व्यक्त गर्न सक्छन्,’ शर्माले भन्नुभयो, ‘तर त्यसैले गर्दा पछि गएर उद्योग नै बन्द गर्नु पर्ने अवस्था नआओस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ ।’

    प्राधिकरणका उपकार्यकारी निर्देशक शेर सिंह भाटले विद्युत अभावकै कारण औद्योगिकरणमा प्रतिकूल प्रभाव पर्न नदिन र सम्भव भएसम्म ऊर्जाका अन्य वैकल्पिक स्रोतहरुको समेत उपयोग गर्दै विद्युत संकट व्यवस्थापन गर्न प्राधिकरणले डेडिकेटेड फिडरको अवधारणा अघि सारेको बताउनुभयो ।

    ‘यो अवधारणा अघि सार्नुपहिले प्राधिकरणले गहन अध्ययन, विश्लेषण र व्यापक छलफल गरेको छ’, भाटले भन्नुभयो, ‘यसमा उद्योगहरुको पनि रचनात्मक सहयोग आवश्यक छ ।’

    Source : Online Khabar