नौ वर्षमा काबेली कोरिडोर

1636

फिदिम, साउन १९ गते । दुई सय मेगावाट क्षमताको १३२ केभी विद्युत् प्रसारण लाइन काबेली कोरिडोरको काम सकिएको छ । साउन १३ गते तेस्रो खण्डको ३१ देखि ३४ नम्बरका टावर बीचमा तार जोड्ने काम सकिएसँगै कोरिडोरले पूर्णता पाएको हो । अहिले यो खण्डमा शुक्रबारदेखि परीक्षण प्रसारण भई रहेको छ । दुई÷तीन दिनको परीक्षणपछि पूर्ण रूपमा सञ्चालनमा ल्याइने आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले बताउनभयो । तेस्रो खण्ड पाँचथर फिदिमको थापाटार सब–स्टेसनदेखि पाँचथरकै अमपुर सब–स्टेसन बीच रहेको छ । १३ किलोमिटर दूरीको तेस्रो खण्डमा ४० वटा टावर छन् । पहिलो खण्ड झापा लखनपुर–इलाम गोदक र दोस्रो गोदक–फिदिम थापाटार रहेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्न काबेली कोरिडोर बनाइएको हो । कोरिडोरको काम सक्न विभिन्न अवरोधका कारण दस वर्ष लाग्यो । धेरै उतार चढाव सामना गर्दै ढिलै भए पनि कोरिडोरले पूर्णता पाउँदा खुसी लागेको आयोजना प्रमुख द्विवेदीले बताउनुभयो । कोरिडोरको लखनपुर, गोदक, थापाटार र पाँचथरको अमरपुरमा गरी चारवटा सब–स्टेसन छन् । पहिलो र दोस्रो खण्ड भने यसअघि नै सञ्चालनमा आइसकेको छ । अब तेस्रो खण्डबाट तत्कालमा १५ मेगावाट विद्युत् जोडिने जनाइएको छ । पाँचथरको इवाखोला हाइड्रोको १० र ताप्लेजुङ फावाखोला हाइड्रोको ५ मेगावाट जोडिने अवस्था छ । यसअघि पाँचथरमा निर्माण सम्पन्न भएका माथिल्लो र तल्लो हेवा जलविद्युत् पनि जोडिसकेका छन् ।

अहिले माथिल्लोबाट १५ र तल्लोबाट २३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी इलामका १० वटा हाइड्रो पावरका विद्युत् पनि काबेली कोरिडोरमा जोडिएर केन्द्रमा गइरहेको छ । इलामको सिवानीको २९, अपरमाईको १८, सुपरमाईको ७.८ जोगमाईको ७.६ हिमाल दोलखाको चार मेगावाट जोडिएको हो ।

त्यसैगरी हिमाल दोलखा क्यास्केटको ८, पुवाखोलाको ६, अपर पुवाको ३, पुवा फस्ट फलको ६ र अपर पुवा नेविप्राको ६.२ मेगावाट पनि जोडिएका छन् । दुई÷तीन महिनापछि काबेली बीको २५ मेगावाट तेस्रो खण्डबाट जोडिने बताइएको छ । ३७.६ मेगावाटको निर्माणाधीन काबेली ए को विद्युत् पनि तेस्रो खण्डबाटै प्रशारण गरिने छ । तत्कालमा काबेली कोरिडोरबाट पाँचथरको ३८ र इलामको ९३.६ गरी जम्मा १३१.६ मेगावाट विद्युत् प्रवाह भइरहेको छ । ९० किलोमिटरको यस आयोजनाका १६१ टावर छन् ।

आयोजनाका चार सब–स्टेसन २०६२÷६३ वाट इन्डियन एबीबी कम्पनीले निर्माणको जिम्मा लिएर दुई वर्षअघि बनाइसकेको हो । प्रसारण लाइन निर्माणको जिम्मा भारतकै कम्पनी जगुवार ओभरसिज एन्ड एस्टर प्रालिले लिएको थियो । जगुवारले २०६७÷६८ मा तीन वर्षमा सक्ने गरी जिम्मा लिएको काम हाल मात्र सकेको हो ।

 

स्रोत:गोर्खापत्र