विद्युत् थपिँदा उद्योगीलाई राहत

    1755

    कार्तिक २४, २०७४-हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले अब विद्युत्को समस्या भोग्न नपर्ने भएको छ । उद्योगहरूले तीन सिफ्ट उत्पादन गर्न सक्ने भएका छन् । विगतमा विद्युत् आपूर्तिको समस्याले गर्दा उद्योग मुस्किलले २ सिफ्ट सञ्चालन हुँदै आएका थिए ।

    गत आइतबारदेखि ५ मेगावाट विद्युत् थप भएपछि औद्योगिक क्षेत्रका उद्योगहरूले राहत महसुस गरेका छन् । विद्युत्को अभावमा सञ्चालन हुन नसकेका नयाँ उद्योगहरू पनि सञ्चालनमा आउने उद्योगीहरूले जनाएका छन् । औद्योगिक क्षेत्रका पुराना उद्योगहरू विद्युत्को अभावमा क्षमताअनुसार सञ्चालनमा आएका थिएनन् भने नयाँ उद्योगहरू विद्युत्को अभावले सुचारु नै हुन सकेका थिएनन् । ‘औद्योगिक क्षेत्रमा ५ मेगावाट विद्युत् थप भएकाले उद्योगीहरूलाई थप राहत भएको छ,’ उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले भने, ‘विद्युत्को समस्याले गर्दा पुराना उद्योगहरू क्षमताका साथ चल्न सकेका थिएनन् भने नयाँ उद्योगहरूले उत्पादन नै सुरु गर्न सकेका थिएनन् ।’

    हेटौंडा औद्योगिक क्षेत्रमा विद्युत् थप गर्नका लागि सरकारले हेटौंडा उपमहानगरपालिका ८ कमानेस्थित विद्युतको सबस्टेसनबाट विद्युत् आपूर्ति गर्न गत आवमा रकम विनियोजित गरेको थियो । विद्युत् प्राधिकरणले विगत वर्षदेखि कमानेको छुट्टै फिडरबाट ५ मेगावाट विद्युत् आपूर्ति गर्ने कार्य सुरु गरेको थियो । प्राधिकरणको सुस्तगतिका कारण औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति गर्न एक वर्ष लागेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । ‘५ मेगावाट विद्युत् थप भएपछि अहिले हेटौंडा औद्योगिक क्षेत्रले १० मेगावाट विद्युत् उद्योगहरूलाई वितरण गर्न सक्छ,’ व्यवस्थापन लिमिटेडका इन्जिनियर निमेष अधिकारीले बताए । ‘आवश्यक पर्दा थप २ मेगावाट अर्थात् १२ मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सकिन्छ,’ उनले भने ।

     औद्योगिक क्षेत्रभित्र प्राधिकरणले दैनिक २ घण्टा मात्र लोडसेडिङ गर्ने गरेको छ । त्यसलाई पनि हटाउने तयारीमा प्राधिकरण लागिरहेको छ । हेटौंडा कपडा उद्योगको २० बिघा जमिनमा स्थापना गरिएको नयाँ उद्योगहरू विद्युत्का कारणले सञ्चालनमा आएका थिएनन् । ‘अब ती उद्योगहरूलाई विद्युत् तत्कालै उपलब्ध गराउँछौं,’ अधिकारीले भने । उद्योगीहरू विद्युतको नियमित लोडसेडिङले भन्दा पनि अघोषित लोडसेडिङको मारमा परेका थिए । ‘दैनिक १५/२० पटक ट्रिपिङ’ हुने गरेको थियो, जसले गर्दा उद्योगको मेसिन बिग्रने डर थियो,’ अर्यालले भने, ‘अहिलेलाई यो समस्या पनि टरेको छ ।’

    कमानेस्थित सबस्टेसनबाट ६ महिनाभित्रमा थप ५ मेगावाट विद्युत् औद्योगिक क्षेत्रमा ल्याउन सकिने व्यवस्थापन लिमिटेडले जनाएको छ । क्षेत्रमा अहिले दैनिक ८ देखि १० मेगावाट विद्युत् खपत हुने गर्छ । निर्माण भइसकेका नयाँ उद्योगहरूलाई उत्पादन सुरु गर्न व्यवस्थापन लिमिटेडले विद्युत् आपूर्ति गर्न सक्ने अवस्थामा रहेको छ । क्षेत्रभित्र ९४ वटा उद्योगहरू सञ्चालनमा छन् । २९ वटा उद्योगहरू निर्माणाधीन अवस्थामा छन् भने ९ वटा उद्योगहरू बन्द छन् । ६ वटा उद्योगले विद्युतको अभावमा उत्पादन सुरु गर्न सकेका छैनन् ।

    स्रोत : कान्तिपुर