‘रूपा बेगनास’ पम्प स्टोरेजको सर्वेक्षण अनुमति प्राधिकरणलाई

    1799

    १५० मेगावाटको आयोजनामा दुई वर्षभित्र इआइएसहित डिपिआरको काम गर्ने –

    ऊर्जा मन्त्रालयले पहिलोपटक नेपाल विद्युत् प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएको छ । पोखरा लेखनाथ महानगरपालिकामा रहेको रूपाताल र बेगनास तालमा निर्माण हुने सो जलाशययुक्त आयोजनाको प्रारम्भिक चरणको काम गर्न प्राधिकरणले लाइसेन्स पाएको हो । १ सय ५० मेगावाटको रूपा बेगनास पम्प स्टोरेज आयोजनाका लागि ऊर्जा मन्त्रालयले बिहीबार सर्वेक्षण अनुमतिपत्र जारी गरेको हो । प्राधिकरणलाई विद्युत् विकास विभागले आयोजनाको अध्ययन गर्ने अनुमति दिएसँगै मन्त्रालयले पनि अध्ययन अनुमति दिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए ।

    कास्कीको बेगनास तालमा १ सय ५० देखि ३ सय मेगावाटसम्मको पम्प स्टोरेज आयोजना अघि बढाउन प्राधिकरणले अनुमति पाएको हो । बेगनासको पानी रूपा तालमा झारेर धेरै बत्ती चाहिने समय (पिक आवर) मा विद्युत् उत्पादन गर्ने र राति फेरि बेगनासमा नै पम्प गरेर फर्काउने योजना प्राधिकरणले बनाएको छ ।

    प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)को सहयोगमा अध्ययन गर्ने प्रारम्भिक योजना अगाडि बढाएको छ । आयोजनाको लागत, उत्पादन हुने विद्युत्लगायतका विषय त्यसपछि मात्रै टुंगिनेछ । विस्तृत अध्ययनका लागि एक वर्ष लाग्ने र त्यसको चार वर्षमा विद्युत् उत्पादन गर्ने योजना प्राधिकरणको छ । आयोजना अघि बढाउँदा साँझको केही समय बेगनास तालमा एकदेखि डेढ मिटर पानीको सतह घट्ने अनुमान गरिएको छ । तर, राति नै पम्प गरेर पानी माथि तानिने भएकाले वातावरण र तालको सौन्दर्यमा कुनै फरक नपर्ने प्राधिकरणको भनाइ छ ।

    १ सय मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनाको अनुमतिपत्र विभागको सिफारिसमा ऊर्जा सचिवले जारी गर्ने कानुनी प्रावधान रहेको छ । ‘हामीले प्राधिकरणलाई बेगनास रूपा पम्म स्टोरेज आयोजना अगाडि बढाउन सर्वेक्षण अनुमति प्रदान गरेका छौँ,’ ऊर्जाका एक उच्च अधिकारीले भने, ‘प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन (इआइए), विद्युत् बिक्री गर्ने बजारको अवस्था, आयोजना निर्माण गर्न ऋणको व्यवस्था र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सम्मको अध्ययन गर्नेछ ।’ प्राधिकरणलाई २ वर्षसम्मको सर्वेक्षण लाइसेन्स दिएको हो, सो समयभित्र उल्लिखित काम गरिसक्ने सर्त रहेको उनले बताए ।

    पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रूपा तालबीच ५७ मिटरको उचाइ (हेड) छ । बेगनासको तल्लो भागमा रूपा ताल पर्ने भएकाले माथिल्लो तालको पानी तल्लो तालमा खसाल्ने योजना छ । बेगनास माथिल्लो र रूपा तल्लो तहमा पर्छ । विद्युत्को अत्यधिक माग हुने साँझको समयमा करिब चार घन्टा चलाउन मिल्ने गरी पिक स्टोरेज बनाउने प्रस्ताव प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अगाडि सारेका हुन् ।

    यसअघि प्राधिकरणले सर्वेक्षण अनुमति लिन गत असोजमा विभागमा आवेदन दिएको थियो । आवश्यक सबै कागजात कात्तिक १७ गते बुझाएपछि विभागले बिहीबार सर्वेक्षण लाइसेन्स दिनका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसपछि मन्त्रालयले बिहीबार नै अनुमतिपत्र दिने निर्णय गरेको हो । सबै कागजात पूरा गरेर ल्याएका कारण सर्वेक्षण लाइसेन्स दिन प्राधिकरणलाई सिफारिस गरिएको विभागका महानिर्देशक सिंहले बताए । उनले प्रक्रिया पूरा गरेर आउने कुनै पनि प्रवद्र्धकको लाइसेन्सिङ नरोकिने भन्दै हप्ता दिनभित्र काम सकाएर सर्वेक्षण लाइसेन्स दिएको बताए ।

    स्रोत : नयाँ पत्रिका