त्रिशूली थ्री ‘ए’ को ठेकेदार काममा फर्कियो, चाँडै निर्माण थालिने

    1326

    नुवाकोटः अघिल्लो वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ ।

    ६० मेगावाट क्षमताको आयोजना गएको वर्ष नै सम्पन्न हुनुपर्नेमा भूकम्पले ढिलाइ भएको थियो । भूकम्पपछि काम रोकेर हिँडेको ठेकेदार चाइना गेजुवा गु्रप अफ कम्पनी
    (सीजीजीसी) निर्माण क्षेत्रमा फर्कँदै क्षतिको मूल्याङ्कन सुरु गरेको हो ।

    व्यवस्थापिका संसद्को संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि काम अघ बढाउन अन्योल रहेका बेला आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन ठेकेदार कम्पनी सीजीजीसी कार्य क्षेत्रमा फर्किएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

    “ठेकेदार कम्पनीले चीनबाट आफैँले प्राविधिक र विज्ञहरु ल्याएर आयोजनको ड्याम साइट, सुरुङ मार्ग, भूमिगत रहने विद्युत् केन्द्रमा जडान भएको पेनस्टिक पाइप लाइन लगायतको क्षतिको सङ्कलन सुरु गरेको छ”, आयोजना प्रमुख जोशीले भने, “ठेकेदारबाट मुख्य संरचनामा भूकम्पले पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलन पछि मर्मत तथा पुर्ननिर्माण गर्न आयोजना क्षेत्र भित्रका संरचना र आयोजनामा लैजाने विद्युत्, पहुँच मार्गको पहिरो हटाउन सुरु गरिने छ ।”

    आयोजना निर्माणको लागि विद्युत् उत्पादन केन्द्र रहने गृहदेखि ड्याम साइटसम्मको पाँच किलोमिटर सडक सुचारु गर्न चुनौती छ ।

    पहुँच मार्गको सुचारु गर्न नेपाली सेनालाई मन्त्रिपरिषद्ले जिम्मेजवारी दिएकाले काम सुरु गर्ने तयारी भइरहेको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले बताए ।

    “भूकम्पले क्षति पुगेको आयोजनाको विद्युत् उत्पादन केन्द्र रहने स्थानदेखि ड्याम्स साइडसम्मको ६ स्थानमा रहेका ठुला पहिरोलाई हटाउन सरकारबाट जिम्मेवारी पाएको नेपाली सेनाले काम सुरु गर्न प्राविधिक अध्ययन गर्न गरिरहेको जानकारी आएको छ”, सहप्रवक्ता पन्तले भने, “सेनालाई पहुँच मार्ग सहित ड्याम साइडको दायाँबायाँ नुवाकोट र रसुवा

    दुवै तर्फ रहेका जोखिमका पहिरोको समेत व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ ।”

    सन् २०१६ जुन ३० मा सम्पन्न हुनुपर्ने आयोजना भूकम्पले क्षति पुर्‍याएपछि नेपाल सरकारले सन् २०१९ अप्रिल ३० सम्ममा पूरा गर्ने नयाँ लक्ष्य बनाएको छ ।

    प्रसारण लाइनको विस्तारमा तीव्रता

    नेपाल विद्युत् प्राधिरकणको लगानीमा निर्माण गर्न लागेको माथिल्लो त्रिशूली थ्रि ‘ए’ र त्रिशूली ‘बी’ को हब देखि काठमाडौसम्मको २२० केभि प्रसारण लाइन निर्माण जारी रहेको छ ।

    असार १७ गते नै आयोजना निर्माण सम्पन्न भएमा उत्पादन भएको विद्युत् खेरजाने भएकाले अहिले भने आयोजनासंगै प्रसारण लाइनलाई तीव्रता दिइएको आयोजना प्रमुख जोशीले बताए ।

    “माथिल्लो त्रिशूली थ्रि ‘ए’ बाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न थ्रि बी हबसम्म एक सय ३२ केभी प्रसारण लाइनको ६ वटा खम्बा निर्माण गर्न लागेका छौ ।”

    आयोजना प्रमुख जोशीले भने “थ्री बी हबबाट केन्द्रीय प्रसारण लाइन थानकोट पु¥याउन २ सय २० केभी प्रसारण लाइनको १ सय ४२ वटा खम्बा जडान गर्नुपर्नेमा ५२ वटाको काम पूरा भइसकेका छ ।”

    प्रसारण लाइन निर्माणमा जग्गा मुआब्जा मुख्य समस्या देखिएको छ । थ्रि एको उत्पादन केन्द्रदेखि थ्रि बी हबसम्मको एक सय ३२ केभी प्रसारण लाइनको मुआब्जा विवाद अझै जारी रहेको छ ।

    थ्री बी हबबाट केन्द्रीय प्रसारण लाइनसम्मको विवाद समाधान भएकाले कामले तीव्रता पाएको छ ।

    प्रसारण लाइनको ५२ वटा पूरा भएको छ भने १० वटा निर्माणधीन रहेको जोशीले बताए । प्रसारण लाइनको काम चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कम्पनी (सीडब्लुई)ले बनाइरहेको छ ।

    लगानीको म्याद थप प्रक्रियामा

    आयोजना निर्माण र प्रसारण लाइनको लागी प्राधिकरणले चिनियाँ एक्जिम बैङ्कबाट सहुलियत ब्याजदरमा ऋण लिन गरेको सम्झौताको म्याद सकिएकाले थप गर्न पत्रचार भएको छ ।

    चिनियाँ एक्जिम बैङ्क माफर्त सहुलियत ब्याजदरमा लिइएको ऋणको म्याद गएको जेठ ५ गते नै सक्किएकाले आयोजनाको निर्माण अघि बढाउन वित्तीय व्यवस्थापन सुनिश्चित गर्न म्याद थपका लागि नेपाल सरकार मार्फत पत्राचार भएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले बताए ।

    “ऋणको समयअवधि थप गर्न मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालय हुँदै नेपाल सरकारबाट अनुरोध सहितको पत्र चिनियाँ एक्जिम बैङ्कलाई पठाइसकेको छ”, सहप्रवक्ता पन्तले भने, “जवाफ सकारात्मक पाएपनि म्याद थपको निर्णय भने हुन बाँकी रहेको छ ।”

    सरकारले आयोजना बनाउन एक्जिम बैङ्कसँग लिएको एक सय ५४ मिलियन आरएमबी (करिब रु १३ अर्ब) रकमको म्याद थपको लागि प्रसारण लाइनको जनवरी २०१८ र आयोजना निर्माणको अप्रिल २०१९ सम्मको आशय पत्र पठाएको छ ।

    म्याद थपपछि तीव्रता पाउने

    भूमिगत विद्युत् गृह माथिल्लो त्रिशूली थ्रि ए आयोजना नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाएर विद्युत् उत्पादन गर्न भूकम्प जानुअघि ७५ प्रतिशत काम पूरा भएको थियो ।

    भूकम्पपछि पूर्ण रूपमा अबरुद्ध रहेको आयोजनाको क्षतिको लगत समेत सङ्कलनको क्रममा भए पनि अब भने २०१९ अप्रिल ३० मा आयोजना पूरा गर्न योजनाबद्ध काम गर्ने ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले बताए ।

    “जून २०११ मा निर्माण सुरु गरी ३५ महिनाभित्र आयोजना सक्नुपर्ने सम्झौता भए पनि आयोजनाको म्याद पटक–पटक थप गरी सन् २०१६ को जून ३० सम्म आयोजना सम्पन्न गर्ने सम्झौता सहितको लक्ष्यलाई भूकम्पले अबरुद्ध बनाएको हो”, सहप्रवक्ता पन्तले भने “२०७६ वैशाख १७ गतेसम्मको लागि समयसीमा थप गरिसकेकाले नयाँ सम्झौता अनुसार काम सम्पन्न हुनेमा विश्वस्त रहेका छौ ।”

    नेपालमै पहिलो पटक इन्जिनियरिङ, प्रोक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मोडलमा बन्न लागेको माथिल्लो त्रिशूली थ्री ए आयोजनाको लागि रु १० अर्ब लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

    स्रोत:करोबार दैनिक