ताराखोला जलविद्युत्को काम अन्तिम चरणमा

    1396

    बागलुङ, कात्तिक १४ गते । बागलुङको ताराखोला गाउँपालिकालाई उज्यालो गाउँको रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ताराखोला साना सामुदायिक जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्रोत जुटाउन नसकी निर्माण सुरु नहुँदा अन्योल सिर्जना भएको उक्त आयोजना निर्माणका लागि स्थानीयको सेयर सङ्कलन र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त भएपछि निर्माणको कामले गति लिएको हो ।

    उक्त आयोजना निर्माणका लागि ताराखोला गाउँपालिकाभित्र पर्ने साविकका हिल, अर्गल र ताराखोलाका स्थानीयले करिब चार करोड रुपियाँ सेयर सङ्कलन गरेका छन् । करिब १३ करोड रुपियाँलागत अनुमान गरिएको उक्त आयोजना सम्पन्न गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त गर्न ढिलाइ हुँदा लागत बढ्न सक्ने आयोजनाले जनाएको छ ।आयोजना सम्पन्न गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट नौ लाख ९६ हजार रुपियाँ अनुदान प्राप्त भएको र अन्य अपुग रकम साविक तीन गाविसका एक हजार छ सय जना सेयर सदस्यबाट सेयर सङ्कलन गरिएको आयोजनाका इञ्जिनियर डिलबहादुर थापाले बताउनुभयो । ताराखोलाको मपेसखोला र ठूलोखोलाको पानी सङ्कलन गरेर विद्युत् उत्पादन गर्न थालिएको उक्त आयोजनाको नौ सय मिटर कुलो, एक हजार १२० मिटर पाइपलाइन, पानी सङ्कलनका लागि ड्याम निर्माण सम्पन्न भइसकेको र पावरहाउस तथा अन्य मेसिनरी औजार जडानको काम भइरहेकाले आगामी मङ्सिरभित्र भौतिक संरचना निर्माणको काम सम्पन्न गरी वैशाखभित्रै विद्युत् उत्पादनको काम अगाडि बढाइने इन्जिनियर थापाले बताउनुभयो ।

    साविकका तीनवटै गाविसलाई उज्यालो गाउँको रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको आयोजना सम्पन्न भए ताराखोला गाउँपालिका पूरै उज्यालो हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । ताराखोला गाउँपालिकामा लघुजलविद्युत् आयोजनामार्फत केही गाउँ बिजुली बाल्दै आए पनि यो आयोजना सम्पन्न भएपछि पूरै गाउँपालिका उज्यालो हुने अध्यक्ष घर्तीले बताउनुभयो । राष्ट्रिय प्रसारण लाइन नपुगेको र गाउँमा सञ्चालित साना जलविद्युत् आयोजनाले सबैलाई नपुग्ने भएकाले गाउँमा उत्पादित बिजुली गाउँमै खपत हुने अध्यक्ष घर्तीको भनाइ छ ।
    यस अगाडि लघु जलविद्युत्को गाउँको रूपमा परिचित ताराखोलाई ऊर्जा गाउँको रूपमा विकास गर्नका लागि गाउँपालिकाले नजिकै बग्ने मुख्य दरमखोलालगायत साना साना खोलामा विद्युत् उत्पादन प्रक्रियालाई अगाडि बढाइरहेको अध्यक्ष घर्तीले बताउनुभयो । यहाँ धेरै ठाउँमा विद्युत् उत्पादन भइरहेका छन्, गाउँमा साना लघु जलविद्युत् आयोजनाबाट उज्यालोका लागि बत्ती बाल्दै आए पनि गाउँका स्लेट खानी, हाते कागज उद्योग, फर्निचरलगायतका उद्योगलाई आवश्यक विद्युत् अपुग भएकाले उत्पादनशील क्षेत्रमा विद्युत् आपूर्ति गर्ने गरी स्थानीय खोलामै विद्युत् उत्पादनलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।

    स्रोत:गोर्खापत्र