झापामा सौर्य उर्जाबाट १० मेघावाट विद्युत उत्पादन हुने

    1375

    भद्रपुर : झापामा सौर्य उर्जाबाट व्यवसायिकरुपमा विद्युत उत्पादन गरिने भएको छ। सोलार एनर्जीबाट १० मेघावाटसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएर झापा एनर्जी लिमिटेड प्रालि दर्ता गरिएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिए।

    काठमाडौंलगायत देश विदेशमा रहेका झापाका सांसद, पूर्व सांसद, व्यावसायी र सामाजिक अगुवाको उस्थितिमा शनिबार  काठमाडौंमा भएको  भेलाले रामचन्द्र अर्यालको संयोजकत्वमा १३ सदस्यीय समिति समेत गठन गरेको छ।

    समितिको शनिबार बसेको पहिलो बैठकमा १ करोड ३० लाख बराबरको सेयर पूँजी जम्मा हुने अंकसहितको प्रतिबद्धता प्राप्त भएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिए। छलफलमा सहभागीलाई झापा क्षेत्र नम्बर ४ का संघीय सांसद सदस्य एल.पि साँवाले सौर्य उर्जा कम्पनीको बारेमा विस्तृत जानकारी गराएका थिए।

    आगामी मंसिर २५ गतेसम्ममा २५ प्रतिशत कम्पनीको खातामा रकम जम्मा हुने भएको पनि प्रदेशसभा सदस्य बानियाँले बताए।

    राधा खनाल

    स्रोत:अन्नपूर्ण पोस्ट