असारदेखि पाइपलाइनबाटै डिजेल

1431

बिहिवार, चैत्र २१, २०७५
आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने भएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेसँगै जुनदेखि पाइपलाइनमार्फत डिजेल आयात हुन लागेको हो । पटना–मोतिहारी–बतितापुर पाइपलाइन परियोजनाका कन्ट्रक्सनतर्फका महाप्रबन्धक एनके पाण्डाले सबै प्रक्रिया पूरा गरेर आगामी जुनदेखि नेपाललाई पाइपनाइलमार्फत डिजेल भारतबाट निर्यात गरिने जानकारी दिए ।

३० वर्ष अघिदेखि चर्चा भएको तथा १५ वर्षअघि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सहमति भए पनि काम अघि बढेको थिएन । २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि नेपालले पेट्रोलियम पदार्थको आयात चीनबाट समेत गर्न थालेपछि भारतले समेत यसलाई उच्च प्राथमिकतामा राखिएको थियो । ०७२ सालमा पाइपलाइन निर्माण गर्ने द्विपक्षीय सम्झौता (एमओयु) भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दिल्लीबाट ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेसँगै आयोजना निर्माणले तीव्रता पाएको पायो । परियोजनाका अनुसार ७० किलोमिटर पाइपलाइनमध्ये भारततर्फको निर्माण पूरा भइसकेको छ भने नेपालतर्फको ३६.२ किलोमिटरमध्ये ७.५ किलोमिटर मात्र निर्माण हुन बाँकी छ । वन क्षेत्रको रुख कटानको स्वीकृति लिनमात्र परियोजनालाई ६ महिना लागेको थियो । यही कारण गत मार्च महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन निर्माणमा ढिलाइ भएको छ । नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेकोमा गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले रुख काट्नका स्वीकृति दिएपनि बल्ल चैत्रको पहिलो सातादेखि निकुञ्जभित्र पाइपलाइन विस्तार सुरु गरिएको थियो । “अब निकुञ्ज क्षेत्रभित्रको नौ किलोमिटरमध्ये ७.५ किलोमिटर सम्पन्न गर्न बाँकी छ, ८० प्रतिशत काम सकिसकेका छौ, कम्तिमा एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं,” पाइपलाइन परियोजना प्रमुख प्रदीप यादवले भने, “निर्माण सम्पन्न भएपछि यसको परीक्षणपछिनै पाइपलाइनमार्फत आयात सुरु हुनेछ ।” परियोजनाअनुसार परीक्षणका लागि एक महिनादेखि डेढ महिनासम्म लाग्नेछ ।

प्रतिघण्टा ५ सय किलोमिटर आयात गर्नसक्ने गरी निर्माण गरिए पनि तत्काललाई भने २ सय किलोमिटर आयात गर्ने लक्ष्य राखिएको छ । भविष्यमा चितवनसम्म पाइपलाइन विस्तार गर्ने योजना आयल निगमको छ । हाल भारतको बरौनीबाट अमलेगञ्जसम्म प्रतिट्यांकर ५० हजारसम्म र काठमाडौंसम्म ८५ हजार रुपैयाँ बराबरको भाडामा पेट्रोलियम पदार्थ ल्याइने गरिन्छ । अमलेखगञ्जसम्म दैनिक १ सय र काठमाडांैसम्म अर्को १ सय ट्यांकरले आयात गरिरहेका छन् । प्रतिट्यांकर २० हजार लिटर इन्धन आयात हुन्छ । अमलेखगञ्ज डिपोका प्रमुखसमेत रहेका परियोजना प्रमुख यादवका अनुसार काठमाडौँ र अमलेखगञ्ज गरी दैनिक २ सय ट्यांकरले आयात गरिरहेकोमा पाइपलाइन सञ्चालनमा आएसँगै भाडामा कटौती भइ वार्षिक रूपमा २ अर्ब रुपैयाँ बराबर बचत हुन्छ भने प्रतिलिटर दुई रुपैयाँ लागत घट्नेछ ।

३० वर्षअघिको योजना भए पनि भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भइरहेको पाइपलाइन दुई महिनामा तयार हुने निश्चित भएपनि तेल आयातबारे द्विपक्षीय छलफलबाट टुंगो लगाईँदैछ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर तेल ल्याउन सकिनेछ भने दैनिक ४ हजार किलोलिटर तेल आयात हुनेछ ।अहिले भारतबाट ट्याङकरबाट ढुवानी भइरहेको छ । नेपाल आयल निगमले बरौनीबाट एक ट्याङ्कर तेल अमलेखगंज ल्याउँदा ५० हजार रुपैयाँ भाडा तिर्नुपर्छ । ट्याङ्करले २० हजार लिटर तेल बोक्न सक्छ ।

बरौनीबाट सिधै काठमाडौं लैजादा ८५ हजार रुपैयाँ लाग्छ । नेपालमा आयात हुने पेट्रोलियम पदार्थमध्ये ८० प्रतिशत हिस्सा डिजलको छ । निगमका अनुसार अरु १८ प्रतिशत पेट्रोल र २ प्रतिशत मट्टितेलको हिस्सा छ । रक्सोल नाकाबाट ६० प्रतिशतभन्दा बढी डिजेल आयात हुन्छ । दैनिक १ सयदेखि १ सय २५ वटासम्म ट्याङ्करले डिजेल ल्याउने गरेका छन् । निगमका अनुसार वार्षिक रुपमा २ अर्ब रुपैयाँभन्दा बढी बचत हुनेछ । त्यस्तै चुहावट र भारतीय भूमिमा भोग्नुपर्ने विभिन्न खालका समस्याको अन्त्य हुनेछ । पाइपलाइन मोटर अपरेटर भल्भ जडान गरिने र कम्प्युटरबाट नियन्त्रण गर्न सकिन्छ ।

कहाँबाट जोडिन्छ पाइपलाइन ?

पहिलो फेजमा पटना टर्मिनलबाट हाईलिफ्ट पम्पसेटमार्फत पम्पिङ गरेर अमलेखगंज डिजेल ल्याइनेछ । दोस्रो फेजमा मोतिहारीमा नै पम्प स्टेसन राखेर अमलेखगंजमा डिजेल पम्पिङ हुनेछ । बरौनी–कानपुर पाइपलाइनको पटना टर्मिनलबाट दुई वटा पाइपलाइन निर्माण भइरहेको छ । जसमा पटना टर्मिनलबाट सिवान भन्ने स्थानमा पाइपलाइन ल्याइनेछ । सिवानमा टी प्वाइन्ट बनाएर एउटा पाइपलाइन उत्तर प्रदेशको बेतालपुरतिर जानेछ । अर्को सिवानदेखि मोतिहारी हुँदै अमलेखगंजसम्म आउनेछ । दुवैमा पाईपलाइनमा काम भइरहेको छ।

तर, तुलनात्मक रुपमा अमलेखगंज ल्याउने पाइपलाइनको काम तीव्र गतिमा भइरहेको आयोजना प्रमुख यादवले जानकारी दिए । पटनाबाट सिवान हुँदै मोतिहारी आइपुग्ने पाइपलाइन करिब २ सय किमी छ ।
भारतको मोतिहारीबाट आगामी असारदेखि पाइपलाइनमा डिजेल आउने भएको छ । त्यसका लागि नेपाल आयल निगम लिमिटेड (एनओसी)को सहयोगमा इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपालतर्फको ३६ किलोमिटर पाइपलाइनको काम तीव्र गतिमा अघि बढाएको छ । आईओसीको ऋण सहयोगमा पेट्रोलियम पाइपलाइनको काम सुरु भएको हो । आईओसीले नेपालतर्फको बाँकी काम गरिरहेको छ ।

लागत ७८ करोड ४० लाख बढ्यो

नेपालतर्फको ढिलाइ र केही स्थानमा लक्ष्यभन्दा बढी बोरिङको कामले लागत बढेर ५ अर्ब १८ करोड ४० लाख रुपैयाँ अर्थात् ३ अर्ब २४ करोड भारु पुगेको छ । यसअघि ४ अर्ब ४० करोड रुपैयाँ अर्थात् २ अर्ब ७५ करोड भारु लागत अनुमान गरिएको थियो । आयोजनाको लागत लक्ष्यभन्दा वीरगन्ज र परवानीपुरलगायत केही स्थानमा ५.९ किलोमिटर लामो थप बोरिङको काम गर्नुपर्दा लागत बढेको उनको भनाइ छ ।

२ अर्ब बचत हुने

पटनादेखि पाइपबाट डिजेल आपूर्ति हुने भएपछि वार्षिक दुई अर्ब रुपैयाँ ट्यांकर भाडा जोगिने भएको छ । हाल रक्सौलबाट ट्यांकरबाट डिजेल आपूर्ति भइरहेकोमा चुहावट बन्द हुनुका साथै अर्बौं रुपैयाँ भाडा बचत हुने यादवले जानकारी दिए ।

भीम गौतम
स्रोत:कारोबार