तामाकोसी ३ जलविद्युत् आयोजना-कार्यान्वयन नगर्न अन्तरिम आदेश

    1686

    कार्तिक २४, २०७४-तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि टीबीआई होल्डिङसँग भएको सम्झौता कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    ऊर्जा मन्त्रालयले कानुनविपरीत टीबीआई होल्डिङलाई सर्वेक्षण लाइसेन्सको अनुमति दिएको भन्दै दुई दिनअघि सर्वोच्चमा रिट निवेदन परेको थियो । त्यसमाथि न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै उक्त सम्झौता तत्काल अघि नबढाउन बुधबार आदेश जारी गरेको हो । विषयवस्तुको गम्भीरतामा दुवै पक्ष राखी छलफल गर्नुपर्ने देखिएको उल्लेख गर्दै अदालतले आगामी २९ गते प्रमाण कागजातसहित उपस्थित हुन आदेश जारी गरेको छ ।

    ऊर्जा मन्त्रालयले गत असोज २५ मा टीबीआईलाई सर्वेक्षण लाइसेन्सको अनुमति दिएको थियो । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा मन्त्रालयसहित सरोकारवाला पाँच निकायको नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता खडगबहादुर बुढाथोकीले सार्वजनिक खरिद ऐन २०६३, लगानी बोर्ड ऐन २०६८ र सुशासन ऐन २०६४ को व्यवस्था उल्लंघन गर्दै उक्त आयोजनाको सर्वेक्षण लाइसेन्सको अनुमति दिएको भन्दै खारेजको माग गरी रिट दर्ता गराएका हुन् । लगानी बोर्ड ऐनअनुसार लगानी बोर्डको क्षेत्राधिकार भएको, सर्वाजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराउनुपर्ने र सुशासन ऐनअनुसार सरोकारवाला निकायसँगको समन्वयमा मात्रै अनुमति दिनुपर्ने व्यवस्थाहरूको उल्लंघन गरेको जिकिर अधिवक्ता बुढाथोकीले गरेका छन् ।

    अधिवक्ताहरू सुनीलकुमार पोखरेल, जगदीशचन्द्र आचार्य र बुढाथोकिसहितको बहसपछि तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएको हो । लगानी बोर्डले पनि अनुमति दिने ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिवलाई पत्राचार गरी टीबीआईलाई दिएको अनुमति रद्द गर्न माग गरिसकेको छ ।

    पाँच सय मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाको क्षेत्राधिकार बोर्डको रहेको, उक्त आयोजनालाई आवश्यक लगानीको स्रोत जुटाउन अन्तर्राष्ट्रियस्तरमा मार्केटिङ गरिरहेको, केही अन्तर्राष्ट्रिय कम्पनीहरूले लगानीका लागि आशयपत्र पेस गरिसकेको सन्दर्भमा विश्वसनीयतामाथि प्रश्न उठ्ने र लगानीको वातावरणमा समेत असर गर्ने भन्दै अनुमति रद्दको माग गरिएको हो । अनुमति रद्द गरेर आयोजना विकास मोडालिटीको विषयमा मन्त्रालयलाई राय उपलब्ध गराउनसमेत पत्राचार गरिएको छ ।

    ऊर्जा मन्त्रालयले ६ सय ५० मेगावाट क्षमताको उक्त आयोजनाको सर्वेक्षण लाइसेन्स कानुनविपरीत टीबीआई होल्डिङ कम्पनीलाई दिएको हो । ऊर्जा मन्त्रालयको कार्यभारबाट हटाएर बिनाविभागीय मन्त्री बनाइएका महेन्द्रबहादुर शाहीको दबाबमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उक्त कम्पनीलाई सर्वेक्षण लाइसेन्स दिएका हुन् । लाइसेन्स अनुमति पाउने टीबीआई होल्डिङ कम्पनीका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टको हो ।

    प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले उक्त आयोजना बोर्डले पीपीपी मोडलमा बनाउने निर्णय गरिसकेको छ । ०७२ माघ १० गतेको प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विकास निर्णय गरेको थियो । आयोजना विकास मोडालिटीबारे बोर्ड बैठकले ०७३ पुस २५ गते पाससमेत गरिसकेको छ । यस विषयमा सचिव उपाध्यायकै कार्यकक्षमा पटकपटक छलफल भएको तर त्यसलाई बेवास्ता गर्दै पछिल्लो समय भएको सम्झौताबारेमा बोर्डले पत्रमार्फत आपत्ति जनाएको छ ।

    उद्योग मन्त्रालय तथा लगानी बोर्डले संयुक्त रूपमा २०७३ फागुनमा आयोजना गरेको लगानी सम्मेलनपश्चात् तामाकोसी तेस्रोमा लगानीकर्ताहरूबाट आशयपत्र पेस गरिसकेका छन् । सम्मेलनपश्चात् उपलब्ध गराइएको विवरणअनुसार छवटा चिनियाँ कम्पनी, दुईवटा जापानी र बेलायतको एक कम्पनीले तमाकोसी ३ आयोजनामा लगानीको आशयपत्र पेस गरेका हुन् ।

    आशयपत्र पेस गर्ने र अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूसमेतले सहभागी हुन पाउने गरी बोर्डले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको जनाएको छ । ऊर्जा सचिव उपाध्यायले विद्युत् ऐन २०४९ को व्यवस्था प्रयोग गरी बिनाप्रतिस्पर्धा उक्त आयोजना टीबीआई कम्पनीलाई दिएका हुन् । उक्त ऐनभन्दा पछि बनेको लगानी बोर्ड ऐनले ५ सय मेगावाट वा त्यसभन्दा बढी क्षमताका आयोजनाको लाइसेन्स दिनेबारे विद्युत् ऐनको व्यवस्थालाई काटिसकेको छ । लगानी बोर्ड ऐनको दफा ९ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै परियोजना कार्यान्वयन गर्न आवश्यक हुने लगानी यस ऐनबमोजिम कार्यान्वयन गरिने’ उल्लेख छ । सोही दफाको ‘झ’ मा ‘पाँच सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलविद्युत् उत्पादन परियोजनामा हुने लगानीसम्बन्धी निर्णय लगानी बोर्डले गर्ने’ उल्लेख छ । यस व्यवस्थाको उल्लंघन गर्दै सचिव उपाध्यायले उक्त सम्झौतापूर्व लाइसेन्स नीति महाशाखाको रायसमेत नलिई अनुमति दिएका हुन् ।

    लगानी जुटाउने आधारसमेत टीबीआईले पेस गरेको छैन । उक्त आयोजनाको लागत करिब १ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भट्ट एनआरएनएको सम्मेलनमा आएकै बेला उनको कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको थियो । आवेदन दिएको एक साता नबित्दै सर्वेक्षण लाइसेन्स दिएको हो । यो आयोजनाबारे चर्चा सुरु भएको दशक बितिसक्यो ।

    सन् २००७ मा नर्वेली कम्पनी स्टयाटक्राफ्टले तामाकोसी ३ को सर्वेक्षण लाइसेन्स लिई अध्ययन गरेको थियो । उक्त आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनसमेत गरिसकेको छ । उक्त कम्पनीले विद्युत् भारतमा निर्यात गर्ने उद्देश्यले भारतीय साझेदारसमेत खोजेको थियो । भारतले चासो नदिएपछि लगानी जुटाउन नसकेको नर्वेली कम्पनीले ०७२ पुसमा भूकम्प, नेपालको पछिल्लो अवस्था र आफ्नै नीतिगत अवस्थाका कारण बाहिरिएको जानकारी बोर्डलाई दिँदै बाहिरिएको थियो ।

    स्रोत : कान्तिपुर