प्रधानमन्त्री देउवाको भारत भ्रमण : अरुण तेस्रो र पञ्चेश्वर निर्माणमा जोड

    1088

    काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीको प्रतिनिधिमण्डलसँगको वार्तापछि विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पुराना सन्धिसम्झौताको कार्यान्वयनमा जोड दिइने बताउँदै बुधवार भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवाले बिहीवार औपचारिक भेटवार्ता शुरू गर्दै भारतसँग पुनर्निर्माण, जलविद्युत् आयोजना, कनेक्टिभिटी, हुलाकी राजमार्ग, एकीकृत भन्सार जाँचचौकीको निर्माणलगायत विषयमा छलफल तथा सम्झौता गरेका छन् ।

    नेपाल भारत द्विपक्षीय सम्बन्ध सुधारका साथै दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र व्यापारिक सम्बन्ध विस्तारका लागि भ्रमणका क्रममा जोड दिइएको छ । नयाँ दिल्लीको हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक–सामाजिक विकासमा भारतले देखाउँदै आएको सहयोगप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा दुई देश र जनस्तरमा पनि यस्तै सौहार्द सम्बन्धको अपेक्षा नेपालले गरेको पनि बताए ।

    प्रधानमन्त्री देउवाले विद्युतीय ट्रान्समिशन लाइन, पञ्चेश्वर आयोजनाको निर्माण र भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनालाई समयमै सम्पन्न गर्नेमा भारतीय पक्ष र प्रधानमन्त्री मोदीले विशेष चासो दिएकोमा धन्यवाद दिएका थिए । नयाँ संविधानको कार्यान्वयन, संविधान संशोधनको प्रयास, वैदेशिक लगानीका लागि नेपाल सरकारले गरेको आग्रह र भारतले विशेष चासो देखाएको खुला सिमानाको विषयमा देउवाले भारतलाई विश्वस्त पार्ने प्रयास गरेका छन् ।

    संयुक्त पत्रकार सम्मेलनको शुरूमा भारतीय प्रम मोदीले प्रधानमन्त्री देउवा र नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका थिए । उनले ७० वर्षदेखिको राजनीतिक सम्बन्ध भएको नेपाल एउटा असल मित्र रहेको बताउँदै नेपालको बृहत्तर विकासका लागि सहयोग गर्न भारत सधैं तयार रहेको बताए ।

    नेपाल शान्ति र समृद्धिको मार्गमा अघि बढोस् भन्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएको परिप्रेक्ष्यमा संविधानको सफलताका साथ कार्यान्वयन गर्न अगाडि बढेकोमा बधाई दिएका छन् ।

    भारतीय सहयोगमा नेपालमा जारी रहेका आयोजनाको सफल कार्यान्वयन तथा समयमै सम्पन्न गर्न मोदीले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीवार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वेङ्कैया नायडुसँँग शिष्टाचार भेट पनि गरे ।

    नेपालका निजीक्षेत्रको समेत बाक्लो उपस्थिति रहेको यो भ्रमणमा निजीक्षेत्रका प्रतिनिधिले भारतीय लगानी नेपालमा ल्याउन विशेष पहल गरेका छन् । भारतीय उद्योगी, व्यवसायी र लगानीकर्तासँगको सम्बन्ध प्रगाढ बनाउनुका साथै नेपालमा निर्धक्क भएर लगानी गर्न नेपाली निजीक्षेत्रले आग्रह गरेको छ । यो भ्रमणले नेपाल भारतबीच आर्थिक एवम् व्यापारिक सम्बन्ध कायम गर्न सकारात्मक भूमिका खेलेको निजीक्षेत्रका प्रतिनिधिले बताएका छन् ।

    आठ समझदारीपत्रमा हस्ताक्षर
    बिहीवार हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री, मन्त्री र उच्च पदाधिकारीको उपस्थितिमा विभिन्न आठओटा समझदारीपत्रमा हस्ताक्षर भएका छन् । दुई देशका प्रमसामु सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका थिए । सहमति गरिएका आठमध्ये भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित चार सम्झौता छन् । भूकम्पबाट भत्केका ५० हजार घर पुनर्निर्माण, सांस्कृतिक सम्पदाको पुनर्निर्माण, स्वास्थ्य क्षेत्रका भौतिक संरचना र शिक्षाक्षेत्रका संरचना पुनर्निर्माण गर्नेसम्बन्धमा दुई देशबीच समझदारी भएको छ । भूकम्पपछि भारतले नेपाललाई दिन घोषणा गरेको झण्डै १ अर्ब रुपैयाँबराबरको सहयोग उक्त समझदारीअनुसार खर्च हुने बताइएको छ ।

    यसबाहेक मेची पुलको निर्माण, लागूऔषधको गैरकानूनी ओसारपसार एवम् मनोदीपक पदार्थको नियन्त्रण, नापतौल तथा गुणस्तर मानकीकरण र त्यसको मूल्याङ्कन र चार्टर्ड एकाउण्टेण्टसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    अरुण तेस्रो र पञ्चेश्वर आयोजनामा नेपालको जोड
    प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग भारतले नेपालमा निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना र पञ्चेश्वरको निर्माणमा तीव्रता दिन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले अरुण तेस्रो आयोजनाको शिलान्यासका लागि निमन्त्रणा गरेको भारतीय प्रम मोदीले सम्बोधनकै क्रममा बताएका हुन् । नेपालले अरुण तेस्रो आयोजनाका लागि आवश्यक जमीनको प्राप्तिमा देखिएको समस्या हल भइसकेकाले भारतीय लगानीकर्ता कम्पनी एसजेभीएनले निर्माण गर्न लागेको नौ सय मेगावाटको उक्त आयोजनाको काम अगाडि बढाउन नेपालले भारतसँग आग्रह गरेको हो ।

    यस्तै, भारतीय कम्पनी वापकोषले लामो समयदेखि तयारी गरिरहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने विषयमा दुवै देशका प्रमले सम्बोधनका क्रममा बताएका छन् । भारतीय प्रम मोदीले पञ्चेश्वर आयोजनको डीपीआर बनाउन तीव्रताका साथ काम अगाडि बढाउने बताए । बिहीवार भएको वार्ताका क्रममा नेपालले पञ्चेश्वर आयोजनाको डीपीआर भारतलाई चाँडै पठाउने बताएको थियो । भारतीय प्रम मोदीको नेपाल भ्रमणकै क्रममा पञ्चेश्वर विकास प्राधिकरण गठन गर्ने विषयमा सहमति भए पनि उक्त आयोजनाको काम अगाडि बढ्न सकेको थिएन । अब दुवै देशका प्रमले उक्त आयोजनाको काममा तीव्रता दिने बताएसँगै पञ्चेश्वर आयोजना बन्ने आधार तयार भएको छ ।

    रक्सौल–परवानीपुरमा प्राविधिक त्रुटि
    बारा/पर्सा औद्योगिक कोरिडोरलाई विद्युत् उपलब्ध गराउन माग
    वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार नयाँ दिल्लीमा संयुक्तरूपमा उद्घाटन गरे पनि रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली आउन सकेन । प्रसारण लाइनमा देखिएको प्राविधिक त्रुटिका कारण विद्युत् ल्याउन नसकिएको हो । नेपाल र भारतका समकक्षीले बिहीवार दिल्लीको हैदराबाद हाउसमा आयोजित एक समारोहमा एकैसाथ स्वीच थिचेर रक्सौल–परवानीपुर र कटैया–कुशाहा १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए ।

    प्रसारण लाइन योजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले रक्सौल–परवानीपुर प्रसारण लाइनमा प्राविधिक समस्या आएकाले तत्काल विद्युत् ल्याउन नसकिएको बताए । उनले कटैया–कुशाहा प्रसारण लाइनबाट भने बिहीवारदेखि विद्युत् आयात भएको बताए । ‘कटैयाबाट ५८ मेगावाटसम्म बिजुली आइरहेको छ । तर, रक्सौल–परवानीपुर लाइनमा प्राविधिक कठिनाइ देखिएकाले ल्याउन सकिएन,’ उनले आर्थिक अभियानसित भने ।

    मुखियाका अनुसार रक्सौल–परवानीपुर प्रसारण लाइनको फेज उल्टो परेकाले विद्युत् आउन नसकेको हो । प्रसारण लाइनका तारहरू तलको माथि माथिको तल भएकाले विद्युत् ल्याउन नसकिएको उनको भनाइ छ । दुवै प्रसारण लाइन ५०/५० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने क्षमतामा निर्माण भएका छन् । भारतबाट प्राविधिक झिकाएर त्रुटि मिलाएपछि रक्सौल–परवानीपुर प्रसारण लाइनबाट पनि ५० मेगावाट विद्युत् आयात हुने मुखियाले बताए । ‘यो प्राविधिक गडबडी चाँडै समाधान गरेर विद्युत् आपूर्ति सुचारु गर्ने प्रयासमा छौं,’ उनले भने ।

    भारतको आर्थिक सहयोगमा गत माघमै निर्माण सम्पन्न भइसकेका प्रसारण लाइन नेपाल र भारतबीच विद्युत्को मूल्य निर्धारणमा खिचातानीका कारण सञ्चालनमा आएका थिएनन् । केही दिनअघि यो सम्झौता भएपछि प्रसारण लाइन उद्घाटनको वातावरण बनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा समेत ओली र मोदीले मजफ्फरपुर–ढल्केवर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    वीरगञ्जका उद्योगीको आग्रह
    वीरगञ्जका उद्योगीहरूले रक्सौल–परवानीपुर प्रसारण लाइनबाट ल्याइने ५० मेगावाट बिजुली बारा/पर्सा औद्योगिक कोरिडोरलाई उपलब्ध गराउन माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले बिहीवार विज्ञप्तिमार्फत सरकारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

    निर्माण सम्पन्न भएर पनि लामो समयसम्म उपयोगमा नआएको प्रसारण लाइन उद्घाटन भएपछि यो क्षेत्रमा उद्योगी व्यवसायी उत्साहित भएको भन्दै सङ्घले यो संरचनाबाट आयातित बिजुली यही कोरिडोरमा आपूर्तिको व्यवस्था मिलाइनुपर्ने बताएको छ । विगतमा समेत सरकारले यस प्रसारण लाइनबाट ल्याइने विद्युत् बारा/पर्साका उद्योगलाई दिने आश्वासन दिएको स्मरण गराउँदै सङ्घले मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरलाई लोडशेडिङमुक्त गर्न माग गरेको छ ।

    तर, नेपाल विद्युत् प्राधिकरणले भने भारतबाट आएको विद्युत् बेग्लै वितरण हुने भए पनि राष्ट्रिय प्रसारण लाइनबाटै त्यसको व्यवस्थापन मिलाइने बताएको छ । ‘आयातित बिजुली कुन क्षेत्रमा कसरी दिने भन्ने कुुरा भारप्रेषण केन्द्रले हेर्ने विषय हो,’ प्राधिकरणका एक अधिकारीले आर्थिक अभियानसित भने ।

    तुफान घिमिरे

    स्रोत: अभियान