चिसोका कारण जलविद्युत् आयोजनाको काम ठप्प

1056

चिसोका कारण रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । हरेक वर्ष ६ महिना मात्र काम हुँदै आएको आयोजनामा चिसो बढेसँगै यस वर्ष पनि काम रोकिएको हो । चिसोको समय र बर्खाको समयमा आयोजनाको काम रोकिँदै आएको छ ।

आयोजना प्रमुख जीतमान शेर्पाका अनुसार चिसो बढेसँगै निर्माणको काम रोकिएको छ । ‘अहिले निर्माणको काम रोकिएको छ’, उनले भने, ‘अब फागुनबाट निर्माण कार्यले पुनः निरन्तरता पाउँछ ।’

प्रसारण लाइन वन क्षेत्र भएर निर्माण हुने भएकाले स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको उनले बताए । आयोजनाको हालसम्म ९८ प्रतिशत काम सकिएको छ । नियमित काम भएमा करिब ६ महिनाको काम बाँकी रहेको आयोजना प्रमुख शेर्पाले बताए । आगामी वर्षदेखि आयोजनाले उत्पादन थाल्ने उनको भनाइ छ ।

हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ हुँदै आएको थियो । भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्ने भएका कारण कामले गति लिन नसकेको हो ।

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप भइसकेको छ ।  ६.४२ मेगावट क्षमताको आयोजनाको २०६९ सालदेखि निर्माण कार्य सुरु भएको थियो ।

असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो । हरेक वर्ष असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ ।

यस वर्ष मनसुन चाँढै सुरु भएको कारण निर्माण कार्य प्रभावित बनेको थियो । आयोजनाले दिएको जानकारी अनुसार अहिले प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।  आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ ।

आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ । ‘हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन, प्रोेजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले भने, उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माणमा पनि काम भइरहेको छ ।’

जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु, मैलुङ, यार्सा लगायतका स्थानमा आयोजना निर्माण हुँदै छन् । न्युनतम ५ मेगावटदेखि २१६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको विद्युत् विकास विभागले जनाएको छ । जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ५८८.७२ मेगावट विद्युत उत्पादन हुने छ ।

 

स्रोत : नागरिक