कटैया–कुशहवा र रक्सौल–परवानीपुर प्रसारण लाइनको उद्घाटन

    2877
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया–कुशहवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका छन् ।
    भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीले विहीबार नयाँ दिल्लीमा रहेको हैदराबाद  हाउसबाट संयुक्तरुपमा स्विच थिचेर प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
    यस अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई मुलुकका प्रधानमन्त्रीले ढल्केवर–मुजफफ्पुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको पनि यसैगरी उद्घाटन गरिएको थियो ।
    नेपालको हिउँदको लोडसेडिङ अन्त्य र दुई मुलुकबीचको प्रसारण पूर्वाधारको सुदृढीकरणका लागि भारतले अनुदानमा कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन निर्माण गरिदिएको हो । कटैया–कुशाहा र रक्सौल–परवानीपुरबाट ५०÷५० मेगावाट विद्युत आयात गर्न सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गरिएको विद्युतको मूल्यभन्दा १३२ केभीबाट आउनेको मूल्य सस्तो छ ।
    १३२ केभीबाट आयात गरिने विद्युतको प्रति युनिट रेट ५.५५भारु (८.८८ नेरु) तोकेको छ । जबकी  ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य क्रमश ः भारु ६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ ।
    कटैया–कुशहवा र रक्सौल–परवानीपुर प्रसारण लाइनलाई आवश्यक पर्ने जग्गा नेपाल सरकार तथा प्रधिकरणले व्यहोरेका थिए भने अन्य सम्पूर्ण खर्च भारतले व्यहोरेको हो । दुवै प्रसारण लाइनको निर्माण गत फेब्रुअरीमा सकिएको थियो ।