अपरमादी जलविद्युतको निर्माण पूरा

    2908

    पुस १५, २०७३- आयोजना सुरु भएको ४ वर्षमै अपरमादी जलविद्युत् निर्माण पूरा भएको छ । विद्युत्गृह, लेखनाथ सबस्टेसनमा जडित मेसिन तथा उपकरणहरू सफलतापूर्वक परीक्षण गरी आयोजनाले पुस ५ देखि विद्युतको उत्पादन परीक्षणसमेत गरिरहेको छ । विद्युतगृहमा १२ दशमलव ५ मेगावाट क्षमताका दुईवटा ‘फ्रान्सिस टर्वाइन’ जडान गरिएका छन् ।

    चार हजार दुई सय मिटर लामो सुरुङमा मादी नदीको पानी ल्याएर १ सय १६ मिटर ‘पेनस्टक पाइप’ मार्फत बिजुली उत्पादन भएको छ । ‘हाललाई एउटा मात्रै टर्बाइन सञ्चालनमा ल्याएर विद्युत् उत्पादन परीक्षण भइरहेको छ,’ आयोजनाका कोअर्डिनेटर राजकुमार बरालले भने, ‘केही समयपछि व्यावसायिक उत्पादन थालिनेछ ।’

    मादी पावर प्रालिले करिब छ करोड ६० लाख (६६ मिलियन अमेरिकी डलर) को लागतमा आयोजना निर्माण भएको हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ०६९ पुस ९ मा शिलान्यास गरेको आयोजनामा कार्यकारी निर्देशक तथा स्वदेशी सञ्चालक विजयबाबु मल्लको २० र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । ‘चार वर्षको मिहिनेतमा विद्युत् उत्पादन गर्न सफल भएका छौं,’ मल्लले भने, ‘बाँधस्थलमा २ पटकसम्म पहिरो, भूकम्प, नाकाबन्दीका कारण इन्धन, निर्माण सामग्री आयातलगायतमा समस्या भएर केही समय ढिलाइ भयो ।’

    आयोजनाले ०६७ वैशाख २७ मा उत्पादन अनुमति लिएको भए पनि डेढ वर्ष ढिलो काम सुरु गरेको थियो । विदेशी लगानी भित्र्याउने क्रममा आयोजनाको डिजाइन परिवर्तनको पनि अध्ययन गर्दा देखिएको ५ मेगावाट क्षमता वृद्धिले गर्दा पनि निर्माण कार्य केही ढिला हुन गएको आयोजनाले जनाएको छ । सुरुमा २० मेगावाट मात्रै भनिएकामा पछि ५ मेगावाट थपिएको हो । आयोजनाको ०६६ भदौ २१ को विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा प्रतियुनिट वर्षातमा ४ र हिउँदमा ७ रुपैयाँमा सम्झौता भएको छ ।

    उत्पादित बिजुली साढे १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट पुर्‍याइनेछ । आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले निर्माण गरेको हो ।

    स्रोत:कान्तिपुर