प्राधिकरणको २९ करोड बक्यौता !

    1707

    पुस १५, २०७३- विद्युत् प्राधिकरण भरतपुर वितरण केन्दको विद्युत् महसुल बक्यौता २९ करोड १९ लाख रुपैयाँ पुगेको छ । सरकारी अड्डा, संघसंस्था, मन्दिर, व्यापारिक उद्योग, सडकबत्ती, विद्यालय र विभिन्न व्यक्तिसँग विद्युत् महसुलको रकम उठ्न बाँकी रहेको हो ।

    प्राधिकरणको सबैभन्दा बढी १७ करोड रुपैयाँ सडकबत्तीको असुल भएको छैन । जिल्लाका सरकारी कार्यालयले १ करोड २७ लाख रुपैयाँ तिर्न बाँकी छ । भरतपुर उपमहानगरको सडक छेउमा सार्वजनिक प्रयोगमा रहने सडकबत्तीको बक्यौता रकम तिर्ने दायित्व प्राधिकरण स्वयं वा स्थानीय निकायको रहने भन्नेमा स्पष्ट नहुँदा यो रकम बढ्दो छ । बक्यौता असुलतर्फ स्थानीय तथा केन्द्रीय तहबाट प्रयास भएको छैन ।
    अन्य बक्यौतातर्फ घरायसीमा ७ करोड, व्यपारिक ५० लाख, उद्योग कलकारखानाको १ करोड ४१ लाख, सिँचाइको ९१ लाख र मन्दिरको २ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ । वितरण केन्द्रले प्रतिमहिना १२ करोड रुपैयाँको बिजुली बिक्री गर्दै आएको जनाएको छ । यसअघि रामपुरस्थित कृषि विश्वविद्यालयको ५ करोड रुपैयाँ बक्यौता रहेकामा नियमित ताकेतापछि फस्र्योट भएको कार्यालयले जनायो । सरकारले गत भदौमा चुहावट नियन्त्रण तथा बक्यौता असुली विशेष अभियान चलाएपछि जिल्लामा केही बक्यौता उठेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए ।

    अभियान चलाएर मालपोत, जिल्ला शिक्षा, खानेपानी, जिल्ला प्रशासन, जिल्ला विकास आदि सरकारी कार्यालयको लाइन काटेर बक्यौता उठाइएको इन्जिनियर पौडेलले बताए ।

    स्रोत:कान्तिपुर