निर्वाचनको १५ वर्षमा देश समृद्ध : ऊर्जामन्त्री

    1218

    ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय निर्वाचन भएको १५ वर्षमै देश समृद्ध बन्ने बताएका छन् । समृद्ध देश निर्माणका लागि स्थानीय चुनाव अपरिहार्य रहेकाले चुनाव भएरै छाड्ने उनको दाबी छ ।

    रुकुमको रेडियो सानीभेरीले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘स्थानीय निर्वाचन र संविधान कार्यान्वयन’ विषयक अन्तक्र्रियामा ऊर्जामन्त्री प्रभाकरले देशको समग्र विकासका लागि संविधान कार्यान्वयन हुनुपर्ने र संविधान कार्यान्वयनको पहिलो कडी नै चुनाव रहेको स्पष्ट पारे ।

    ‘अहिले कुनै योजना माग गर्न राजधानीसम्म पुग्नुपर्ने बाध्यता छ, यो समस्या स्थानीय निर्वाचनपछि हट्नेछ,’ मन्त्री शर्माले भने, ‘चुनावपछि गाउँको विकासका लागि गाउँबाटै योजना बनाउने तथा बजेटसमेत गाउँबाटै छुट्याउने अवस्था आउनेछ ।’

    जिल्लामा विकासको आवश्यकता पहिचान गरेर सिंगो देशको विकास गर्न नै संघीयताको अवधारणा आएकाले स्थानीय तहको निर्वाचनसँगै देश संघीयतामा एक कदम अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

    स्थानीय तह अधिकारसम्पन्न स्थानीय सत्ता भएको ऊर्जामन्त्री प्रभाकरले बताए । यसपटकको स्थानीय तहलाई विगतको स्थानीय निकायसँग तुलना गर्न नमिल्ने बताउँदै मन्त्री प्रभाकरले अहिलेको स्थानीय तहलाई असीमित अधिकार दिइएको बताए ।

    स्रोत:नयाँपत्रीका